मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत ३१ मंगलबार ०६:०८:००
Read Time : > 3 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

‘बालबालिका अघिल्लोपटक पनि संक्रमित थिए तर यसपालि उनीहरू धेरैमा लक्षण देखियो’

अन्तर्वार्ता

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत ३१ मंगलबार ०६:०८:००

डा. सागर राजभण्डारी
निर्देशक, टेकु अस्पताल

कोरोना संक्रमण फेरि भयावह बन्न थालेको छ । यसपटक किन बालबालिका धेरै प्रभावित भए ?

अहिले मात्रै होइन, कोरोना संक्रमणबाट बालबालिका अघिल्लोपटक पनि प्रभावित भएका थिए । त्यतिखेर बालबालिकामा छिटफुटबाहेक लक्षण देखिएको थिएन । लक्षण नदेखिएका कारण संक्रमित भए पनि संख्यात्मक रूपमा केस बढेको देखिएन । तर, अहिले उनीहरूमा कोरोनाको लक्षण नै देखिएको छ । त्यसैले अघिल्लो पटकभन्दा यसपटक बढी केस देखिएका हुन् । हामी टेकु अस्पतालमा बालबालिका भर्ना गर्दैनौँ, तर २४ वर्षका युवा पनि आइसियूमा राखेर उपचार गरिरहेका छौँ । सोमबार मात्रै पाँचजना ३५ वर्षका संक्रमित आइसियूमा छन्, जुन अघिल्लोपटक थिएन । यसले पनि हामीलाई झस्काएको छ । 

आज (सोमबार) चार सय ९६ संक्रमित देखिँदा बालबालिका कति छन् ? टेकु अस्पतालमा भएका बिरामी कुन पृष्ठभूमिका छन् ? 
आज देखिएको पजिटिभ संख्यालाई केही सच्याउनुपर्छ भन्ने लाग्छ । आज चार सय ९६ जनामा संक्रमण पुष्टि भएको हो । बाँकी ६३ जनाको एन्टिजेन पजिटिभ आएको हो । आरटी पिसिआरमा पुष्टि भएकाहरूलाई मात्रै उल्लेख गर्न मिल्छ । एन्टिजेन पजिटिभलाई यसमा जोड्न उपयुक्त हुँदैन । अहिले जतिको पनि एन्टिजेन पजिटिभ आएको छ, उनीहरूको आरटी पिसिआर परीक्षण गर्न बाँकी छ । टेकु अस्पतालमा अहिले उपचाररत संक्रमित काठमाडौं, भक्तपुर, रामेछाप, धादिङ र ललितपुर घर भएका छन् । यहाँ बालबालिकाको उपचार गरिँदैन । बालबालिकाको उपचार नहुने भएकाले यहाँ ल्याउँदैनन् । अस्पतालमा २४ देखि ७६ वर्षसम्मका भर्ना भएका छन् । ५० वर्षभन्दा कम उमेरका ६० प्रतिशतभन्दा धेरै छन् । तर पनि सोमबार १० प्रतिशत बालबालिका संक्रमित भएको जानकारी हामीलाई आएको छ ।  

विद्यालयमा कुनै विद्यार्थी संक्रमित भए सम्बन्धित सेक्सन मात्रै बन्द गर्ने गरिएको छ । तर, शिक्षक दिनभरि विभिन्न कक्षामा पढाइरहेका हुन्छन् । यसले संक्रमण फैलिने जोखिम हुन्छ कि हुँदैन ? 
सहरी क्षेत्रका कयौँ शिक्षकले एउटाभन्दा बढी कलेज/विद्यालय पढाउँछन् । यसले गर्दा एक ठाउँबाट अर्को ठाउँमा संक्रमण पुग्न समय लाग्दैन । विद्यालयका बालबालिका बढी संक्रमित भए भनेर अहिले विद्यालय बन्द गर्ने कुरा आएको छ । यसमा मेरो केही असहमति पनि छ । सबै विद्यालय बन्द गर्नुपर्छ भन्ने पक्षमा म छैन । काठमाडौं, पोखरालगायत बढी संक्रमित र भिडभाड हुने ठाउँका विद्यालयमा मापदण्ड पालना गर्नुपर्ने आवश्यकता छ । यस्ता ठाउँमा कक्षा आठभन्दामुनि सामाजिक दूरी कायम गरेर मात्र पठनपाठन गर्नुपर्छ । कक्षा नौदेखिमाथि साताको तीन दिन पढाउने वा बिहान, दिउँसो र बेलुकाको सिफ्ट बनाएर पढाउने निर्णय गर्दा ठीक हुन्छ । एक बेन्चमा एक विद्यार्थी राख्ने, एक घन्टाको समयलाई घटाएर ४५ मिनेटमा झार्ने, सम्भव भए विद्यार्थीलाई खुला ठाउँमा राखेर माइकमार्फत पढाउन सकिन्छ । तीन साता मात्रै जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गरे संक्रमण घट्छ । यसलाई स्थानीय सरकारले नजिकबाट नियमन गर्नुपर्छ । 

अहिले यो कोरोनाको दोस्रो छाल हो कि होइन ? दोस्रो छाल हो भन्ने आधार के हो ? 
पछिल्ला दिनमा संक्रमणको दर बिस्तारै बढ्दै गएको छ । जति पनि दोस्रो लहर आएका देशहरू छन्, तिनीहरूमा संक्रमणदर उच्च छ । नेपालको अहिलेको तथ्यांकले पनि त्यस्तै संकेत गरेको छ । एक सातामा केस ह्वात्तै बढेको छ । यसबाट नयाँ भेरियन्टमा नेपाल प्रवेश गरेको पुष्टि हुन्छ । नढाँटी भन्नुपर्दा नेपालमा ६ साताअघि नै नयाँ भेरियन्ट भित्रिसकेको थियो । भारतबाट आएका एकजनाले सामाजिक कार्यमा सहभागी हुँदा चार घन्टाको अवधिमा १९ जनालाई सारेको पाइयो । त्यही दिनबाट दोस्रो लहर सुरु भयो भनेर हामी चनाखो भएका थियौँ । त्यसको असर अहिले आएर देखिएको छ । हामीले दुःखका साथ भन्नुपर्छ– नेपालमा अहिलेसम्म जिनोम सिक्वेन्स भएको छैन ।  

अहिले फैलिरहेको कोरोनाको नयाँ भेरियन्ट हो कि होइन ? त्यसको परीक्षण नेपालमा हुन सक्छ कि सक्दैन ? वा किन भइरहेको छैन ? 
यो कोरोनाको नयाँ भेरियन्ट हो–होइन भन्ने दरिलो आधार छैन । अहिले हामीले संक्रमणको अवस्था हेरेर निर्णय लिने हो । नयाँ भेरियन्ट हो भनेर जान्न जिनोम सिक्वेन्स गर्नुपर्छ । त्यसकै लागि पाँच ठाउँमा उपकरण जडान गरिएका छन् । तर, कसैले पनि एउटा नमुनाको समेत जिनोम सिक्वेन्स गरेको छैन । पछिल्ला केही दिनको अवधिमा हामीले १८ वटा नमुना परीक्षणका लागि हङकङ पठायौँ, तीमध्ये पाँचवटामा नयाँ भेरिएन्ट रहेको पत्ता लागेको छ । 

कोरोनाको खोप लगाएकाहरू पनि संक्रमित भए भन्ने चर्चा सुनिन्छ । अस्पतालसम्म त्यसको औपचारिक जानकारी आइपुगेको छ ? 
खोपले शतप्रतिशत काम गर्ने होइन । ७० प्रतिशत काम गर्न पनि दुई डोज खोप आवश्यक पर्छ । खोप लगाउँदा शरीरले एन्टिबडी बनाएर भाइरस लाग्न केही रोक्ने काम हुन्छ । यसका लागि पनि कम्तीमा तीन साता पर्खिनुपर्छ । तर, कतिपय मान्छे खोप लगाएको तीन साता नहुँदै संक्रमित भएका छन् । एकजना ७२ वर्षका वृद्ध खोप लगाएको १२ दिनमा लक्षण देखिएर आउनुभएको थियो । उहाँमा कोरोना पुष्टि भयो । 

संक्रमण फेरि तीव्र गतिमा फैलिएको अवस्थामा उपचारका लागि हाम्रो तयारी कस्तो छ ? 
एक सातादेखि कोरोना तीव्र रूपमा फैलिएको छ । हामीले विगतका कमी–कमजोरीलाई सच्याउँदै अगाडि जानुपर्ने आवश्यकता छ । विगतमा जस्तो लकडाउन गरेर जनतालाई दुःख दिने काम गर्नु उचित हुँदैन । विगतमा लकडाउनका वेला भारतबाट फर्किएहरूलाई क्वारेन्टिनमा राख्दा केही मानिस भागेर रातारात घर गए । उनीहरूले कोरोना फैलाउन धेरै मद्दत गरे । अहिले आउनेलाई पनि गोठमा राख्ने होइन, व्यवस्थित क्वारेन्टिनमा राख्नुपर्छ । एन्टिजेन परीक्षण रोकेर सबैको आरटी पिसिआर परीक्षण गर्नुपर्छ । एन्टिजेनबाट संख्या मात्रै बढाएर हुँदैन । संक्रमितको सम्पर्कमा आएकाको खोजीकार्यलाई तीव्रता दिनु उत्तिकै चुनौती छ । सरकारले सकेसम्म पिसिआर सबैका लागि निःशुल्क गर्नुपर्ने हो । त्यस्तो भयो भने धेरैभन्दा धेरै मानिस परीक्षणमा आउने भएकाले केसहरू पत्ता लगाउन सजिलो हुन्छ । अझै पनि ठूलो संख्यामा संक्रमित व्यक्ति समाज र घरको डरले बाहिर आउन चाहेका छैनन् । दुई साताअघिदेखि एक–दुई एक–दुई गर्दै बढेका केस अहिले ह्वात्तै बढ्नुले पनि हामी दोस्रो लहरमा छौँ भन्ने पुष्टि गर्छ । लक्षणहरू विगतमा भन्दा कडा भएकाले आइसियूहरू भरिभराउ हुन्छ भन्ने अनुमान अहिले नै लगाइसकेका छौँ ।

सरकारलाई तपाईंहरूका सुझाब के छन् ?
लकडाउन अहिलेको विकल्प होइन । लकडाउनविना नै मानिसको आवतजावतलाई नियन्त्रण गर्नुपर्छ । विदेशबाट आएकालाई आरटी पिसिआर परीक्षण गरेर मात्रै घर पठाउनुपर्छ । उनीहरू घर वा आइसोलेसन सेन्टरमा बसे–नबसेको स्थानीय तहले नजिकबाट निगरानी गर्नुपर्छ । परीक्षणको दायरालाई फराकिलो बनाउनुपर्छ । सम्भव भएमा सबै परीक्षण निःशुल्क गर्नुपर्छ । त्यो सम्भव नभए निजी र सरकारी सबै ठाउँमा एउटै शुल्क एक हजारमा परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्छ । यो समय नाफा खानेभन्दा पनि कसरी राज्यलाई सहयोग गर्ने भन्ने हो, त्यसबारे सबैले सोच्नुपर्छ ।