Skip This
अत्यावश्यक वस्तु मात्र आयात गर्न व्यवसायीलाई प्रधानमन्त्रीको सुझाब
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार ११:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अत्यावश्यक वस्तु मात्र आयात गर्न व्यवसायीलाई प्रधानमन्त्रीको सुझाब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार ११:३३:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिज्ञ र व्यवसायीले इमानको बाटो हिँड्न सके मुलुकमा ठूलो परिवर्तन आउने बताएका छन् । बिहीबार नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै उनले मुलुकलाई समृद्ध बनाउन राजनीतिज्ञ र व्यवसायी इमानदार हुनुपर्ने बताएका हुन् ।

‘यहाँ राजनीतिज्ञलाई मात्र इमानमा रहन कठिन रहेको बताइन्छ, व्यापारीलाई झन् इमानको मार्गमा हिँड्न कठिन छ,’ व्यवसायीलाई दर्शनको पाठ पढाउँदै प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिज्ञ र व्यापारी इमानको मार्गमा हिँड्न सक्यौँ भने परिवर्तन ल्याउन सकिन्छ ।’ व्यापारी पनि सदाचारी भएर इमानको मार्गमा हिँड्न नसकेको उनको जिकिर छ ।

प्रधानमन्त्री ओलीले सरकार, निजी क्षेत्र र नागरिक मिलेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान सफल पार्न लाग्नुपर्ने बताए । नेपालको उद्योग वाणिज्य क्षेत्रलाई जस्तोसुकै सहयोग गर्न सरकार तयार रहेको उनले बताए । व्यवसायीलाई अत्यावश्यक वस्तु मात्र आयात गर्न सुझाब दिँदै उनले विलासी उपभोगलाई कम गर्न सर्वसाधारणलाई सुझाब दिएका छन् । उनले भने, ‘अनावश्यक वस्तुहरू आयात र उपभोग कम गरौँ, अन्तर्राष्ट्रिय व्यापार सन्तुलनमा सुधार हुँदै जान्छ ।’ 

साधारणसभामा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र सन्तोषजनक अवस्थामा नरहेको बताए । ‘कोभिड संकट सुरु भएको एक वर्षभन्दा बढी समय भइसके पनि अर्थतन्त्रको गति र दिशा अझै अन्योलग्रस्त छ, पर्यटनलगायतका कतिपय क्षेत्रमा भएको खर्बौँ लगानी जोखिममा परेको छ भने अलि–अलि सुधार भएका क्षेत्रको विस्तार पनि त्यति सुखद छैन,’ उनले भने, ‘विश्व बैंकले नेपालको आर्थिक वृद्धि चालू वर्षमा २.७ प्रतिशत हुने अनुमान गरेबाट नै हाम्रो अर्थतन्त्रका आगामी केही दिन अझै त्यति सुखद छैन भन्ने देखिन्छ ।’ 

मुलुकको समृद्धिका लागि सरकार र निजी क्षेत्र एकले अर्कोलाई निषेध गरेर होइन, सहकार्य गरेर अगाडि बढ्नुको विकल्प नरहेको अध्यक्ष श्रेष्ठको भनाइ थियो । उनले भने, ‘प्रधानमन्त्रीज्यू, हामीले कोभिड महामारीपछि सबैभन्दा चाँडो रिकभर भएको अर्थतन्त्रका रूपमा नेपाललाई सारा विश्वले चिन्न सक्ने अवस्था सिर्जना गर्न सकौँ । 

व्यवसायीहरू सम्मानित
चेम्बरले विभिन्न विधामा उल्लेखनीय योगदान गर्ने उद्यमी–व्यवसायीलाई सम्मान तथा कदरपत्र प्रदान गरेको छ । चेम्बरमा निरन्तर २५ वर्षदेखि आबद्ध कार्यसमिति सदस्य राष्ट्रभूषण चाकुबाजीलाई प्रधानमन्त्री ओलीले कदरपत्र प्रदान गरे । कोभिडमा चेम्बरअन्तर्गत गठित कोभिड राहत समितिका संयोजक चेम्बर उपाध्यक्ष दीपककुमार मलहोत्रा सम्मानित भए । बनवारीलाल मित्तल मेमोरियल अवार्ड पर्यटनतर्फ सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि न्यौपानेलाई प्रदान गरिएको छ । 

जनकदास श्रेष्ठ मेमोरियल अवार्ड महिला उद्यमीतर्फ इन्दिरा सापकोटाले प्राप्त गरिन् भने राजबहादुर चिपालु मेमोरियल अवार्ड कृषितर्फ गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले प्राप्त गरे । जुद्धबहादुर श्रेष्ठ मेमोरियल अवार्ड भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले प्राप्त गरे भने इन्द्रभक्त मेमोरियल अवार्ड उद्योगतर्फ विशाल ग्रुपका अध्यक्ष जगदीश अग्रवाललाई प्रदान गरियो । ईश्वरलाल मेमोरियल अवार्ड पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठलाई प्रदान गरिएको छ । 

ad
ad