१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
कृष्ण रिजाल काठमाडौं
२०७७ चैत २७ शुक्रबार ११:४०:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

बजेटमार्फत नै खर्च हुने वैदेशिक सहायता बढ्दो

Read Time : > 2 मिनेट
कृष्ण रिजाल, काठमाडौं
२०७७ चैत २७ शुक्रबार ११:४०:००

गत वर्ष प्राप्त वैदेशिक सहायताको ८३.५ प्रतिशत सरकारी बजेटभित्रैबाट खर्च, पाँच वर्षअघि ६३ प्रतिशत सहायता मात्रै सरकारी बजेटभित्रबाट खर्च हुन्थ्यो

नेपाल सरकारको बजेट प्रणालीभित्र रहेर खर्च हुने (अन बजेट) वैदेशिक सहायताको हिस्सा बढ्दै गएको छ । ५ वर्षअघि अर्थात् आर्थिक वर्ष २०७२/७३ मा अनबजेट विदेशी सहायताको हिस्सा ६३ प्रतिशत मात्रै रहेकोमा गत आव ०७६/७७ मा त्यो ८३ प्रतिशत पुगेको छ । सरकारको वार्षिक बजेटभित्र समाविष्ट हुने आयोजना तथा कार्यक्रममा आउने गरी ‘अन बजेट’ र सरकारी खातामार्फत भुक्तानी हुने ‘अन ट्रेजरी’ वैदेशिक सहायता बढ्दै जानु अर्थतन्त्रका लागि राम्रो मानिन्छ ।

आर्थिक वर्ष ०७६/७७ मा नेपाल सरकारले कुल २ अर्ब ३० लाख अमेरिकी डलर वैदेशिक सहायता प्राप्त गरेको थियो । त्यसमध्ये ८३.५ प्रतिशत अर्थात् १ अर्ब ६७ करोड २९ लाख अमेरिकी डलरबराबरको वैदेशिक सहयोग ‘अन बजेट’ रहेको अर्थ मन्त्रालयको तथ्यांक छ । बाँकी १६.५ प्रतिशत अर्थात् ३२ करोड ९९ लाख अमेरिकी डलरबराबरको वैदेशिक सहयोग भने अफ बजेट रहेको छ । 

आर्थिक वर्ष ०७६/७७ मा अन बजेट वैदेशिक सहायता ५.१ बिन्दु प्रतिशतले बढेको अर्थ मन्त्रालयको तथ्यांक छ । अघिल्लो आर्थिक वर्ष ०७५/७६ मा कुल वैदेशिक सहायताको ७८.४ प्रतिशत रकम ‘अन बजेट’ रहेको थियो । अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको ‘विकास सहायता प्रतिवेदन, २०१९/२०’ले बजेटरी वैदेशिक सहयोग बढ्दै गएको देखाएको हो । कुल वैदेशिक सहायातामा ठूलो हिस्सा ‘अन बजेट’ रहेको र यो सकारात्मक भएको प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयले यसलाई महत्वपूर्ण उपलब्धिसमेत मानेको छ । ‘अझै पनि नेपालले निरन्तर रूपमा अफ बजेट र अफ ट्रेजरी वैदेशिक सहायता परिचलान गरिरहेको छ, जसको हिस्सा ठूलो छ,’ अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले भने, ‘तर, पछिल्लो समय अन बजेट र अन ट्रेजरी वैदेशिक सहायताको मात्रा क्रमशः बढिरहेको छ, जुन सकारात्मक हो ।’

वैदेशिक सहायतालाई बजेट प्रणालीमा आबद्ध हुने गरी परिचालन गर्ने सरकारी नीति छ । वैदेशिक सहायता नीति, २०७६ ले राष्ट्रिय बजेट प्रणालीमा आबद्ध हुने गरी अन्तर्राष्ट्रिय विकास सहायता लिने र सहायता व्यवस्थापन सूचना प्रणाली व्यवस्थापन सुदृढ गरी पारदर्शिता अभिवृद्धि गर्ने रणनीति बनाएको छ । सोही नीति तथा त्यसको रणनीतिअनुसार नै ‘अफ बजेट’ तथा ‘अफ ट्रेजरी’ सहायता घटाउँदै लगिएको हो । 

बजेटरी सहायता बढ्दै गएको भए पनि सरकारी खाताबाहिरबाट खर्च हुने वैदेशिक सहायताको हिस्सा भने अझै ठूलो देखिएको छ । गत वर्ष नेपालले प्राप्त गरेको कुल वैदेशिक सहायतामध्ये ५३ प्रतिशत रकम मात्रै सरकारी लेखाप्रणालीमा आबद्ध छ । बाँकी सहयोग भने अफ ट्रेजरी रहेको छ । यद्यपि, अन ट्रेजरी सहायताको आकारमा समेत क्रमशः सुधार हुँदै गएको नेपालले बताएका छन् । गत वर्ष अन ट्रेजरी सहायता ७ बिन्दु प्रतिशतले बढेको देखिन्छ । आर्थिक वर्ष ०७५/७६ मा कुल वैदेशिक सहायताको ४६ प्रतिशत हिस्सा ‘अन ट्रेजरी’ रहेको थियो ।

पछिल्ला पाँच वर्षयता नेपाल सरकारले कुल विनियोजित वैदेशिक सहायताको औसत ३७.८ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । ‘विकास सहायता प्रतिवेदन, २०१९/२०’ ले विनियोजित सहायता बजेटको तुलनामा खर्चको आकार निराशाजनक देखाएको छ । प्रतिवेदनअनुसार गत वर्ष विनियोजित ३ अर्ब ५० करोड अमेरिकी डलरको ४० प्रतिशत मात्रै खर्च हुन भएको छ । त्यस्तै, आर्थिक वर्ष ०७५/७६ मा विनियोजित ३ अर्ब अमेरिकी डलरको ४४ प्रतिशत खर्च भएको थियो । 

स्वास्थ्य क्षेत्रको सहयोग बढ्यो, कोभिडका लागि धेरै
स्वास्थ्य क्षेत्रमा वैदेशिक सहयोग उल्लेख्य रूपमा बढेको देखिएको छ । सरकारले गत वर्ष स्वास्थ्य क्षेत्रमा ३१ करोड ८० लाख अमेरिकी डलरबराबरको विदेशी सहायता परिचालन गरेको छ । जुन अघिल्लो आव ०७५/७६ को तुलनामा २३ करोड १० लाख अमेरिकी डलरले बढी हो । प्रतिवेदनअनुसार गत वर्ष नेपालले स्वास्थ्यपछि शिक्षा, ऊर्जा तथा जलविद्युत्, सडक पूर्वाधार, कृषि आवास र वित्तीय क्षेत्र सुधारमा बढी सहायता प्राप्त गरेको छ । स्वास्थ्यपछि सबैभन्दा बढी वित्तीय क्षेत्र सुधारमा २१ करोड ८० लाख अमेरिकी डलर, ऊर्जा तथा जलविद्युत्मा १४ करोड ३० लाख, शिक्षामा १३ करोड ३० लाख, सडक पूर्वाधारमा १३ करोड ९० लाख र कृषिमा १२ करोड २६ लाख अमेरिकी डलर प्राप्त भएको थियो ।

गत वर्ष नेपालले प्राप्त गरेको कुल २ अर्ब ३० लाख अमेरिकी डलरबराबरको वैदेशिक सहायतामध्ये कोभिड रोकथाम, नियन्त्रण तथा उपचारका लागि ५१ करोड २९ लाख अमेरिकी डलर खर्च भएको छ । कोभिडका लागि आएको सहयोगमध्ये ४ करोड ८६ लाख अमेरिकी डलर अन्य परियोजनाबाट सारिएको थियो । कोभिडसँग सम्बन्धित सहयोगमा सबैभन्दा बढी एडिबीले २५ करोड अमेरिकी डलर दिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, अन्तर्राष्ट्रिय मुद्राकोषले २१ करोड ४० लाख अमेरिकी डलर, युरोपियन युनियनले १ करोड र अमेरिकाले २ करोड ६० लाख अमेरिकी डलर कोभिडसँग सम्बन्धित सहयोग गरेका हुन् ।