
पूर्वमन्त्री एवं संघीय सांसद राजेन्द्रकुमार राईको पहलमा जिल्ला अस्पताल धनकुटामा रिभर्स ओस्मोसिस (आरओ) प्लान्ट ल्याइएको छ । डायलाइसिस सेवालाई थप व्यवस्थित बनाउन सांसद राईको पहलमा स्वास्थ्य सेवा विभागबाट रिभर्स ओस्मोसिस (आरओ) प्लान्ट ल्याइएको हो ।
जिल्ला अस्पताल धनकुटामा ०८० जेठ १२ गतेदेखि पाँचवटा हेमोडायलाइसिस मेसिन ल्याएर मिर्गौला रोगीहरूको डायलाइसिस गरिँदै आएको छ । मिर्गौला फेल भएपछि बिरामीको रगत सफा गर्न डायलाइसिस गर्ने गरिन्छ ।
सो क्रममा प्रयोग हुने पानी बिरामीको रगतसम्म पुग्दछ । आरओ प्लान्ट मेसिनले सोही पानीलाई शुद्ध बनाउने कार्य गर्दछ। अहिले जिल्ला अस्पताल धनकुटामा एउटा मात्र आरओ प्लान्ट मेसिन रहेको थियो । अब अर्को प्लान्ट थप भएकाले डायलाइसिस गर्न थप सहज भएको धनकुटा अस्पतालका प्रमुख सन्तोष राईले बताए । धनकुटा अस्पतालमा हाल ६ जनाको डायलाइसिस हुँदै आएको छ ।