१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २६ बिहीबार १५:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओली भन्छन्– कोभिड– १९ संक्रमणको जोखिम बढ्यो, सावधानी अपनाऔँ (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २६ बिहीबार १५:५८:००

प्रधानमन्त्री केपी ओलीले कोभिड– १९ संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिक साधारणसभालाई बिहीबार सम्बोधन गर्दै ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकाले सचेत बन्न आग्रह गरेका हुन् । 

उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भई सावधानीका उपायहरू अपनाउनुपर्ने बताए । भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुनेलगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने उनको भनाइ छ । 

उनले भने, ‘कोभिड– १९ को सन्दर्भमा म भन्न चाहन्छु, हाम्रो जनजीवनलाई ठप्प पनि नगरौँ, तर बाध्य भएरै ठप्प पार्नुपर्ने स्थिति आउन सक्छ, यदि हामी सावधान भएनौँ भने । हामी सावधान हुनुपर्छ अहिलेदेखि, दूरी कायम गर्ने, मास्क लगाउने । किञ्चित हामी कोभिड– १९ लाई अवसर नदिऔँ । मैले भन्ने गरेको छु यहाँबाट फर्किएपछि हामी सबैले हातमुख राम्रोसँग धोऔँ ।’

ओलीले तातोपानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताए । कोभिड– १९ विरुद्धको खोपले पनि शतप्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबैभन्दा सुरक्षित विधि रहेको ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले उपभोग्य वस्तु आयात गर्नुभन्दा लगानी र प्रविधि आयात गरी नेपालमै उत्पादन बढाउने र निर्यात गर्ने काम गर्न व्यवसायीहरूलाई आग्रह गरे । उत्पादन बढाई निर्यात बढाउन सके व्यापार सन्तुलन कायम हुने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने ओलीको भनाइ छ ।