१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
शेखर गुप्ता
Invalid date format o८:o९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विश्वगुरु बन्न चाहने, तर असहमति सुन्न नचाहने

तपाईं संसारबाट आउने प्रशंसामा रमाउनुहुन्छ भने तपाईंमा आलोचना सुन्ने धैर्यता पनि हुनुपर्छ

Read Time : > 2 मिनेट
शेखर गुप्ता
नयाँ पत्रिका
Invalid date format o८:o९:oo

लगालग दुईचोटि बहुमतीय सरकारको नेतृत्व गरेका मोदीले देशमा त्यस्तो पुनरुत्थान ल्याउने वाचा गरिरहेका छन्, जुन हालसम्म कसैले पनि देखेका छैनन् । तर, देशभित्र भने के हुँदै छ ? यहाँ त्यही पुरानो क्लिसे, ‘विदेशी जाऊ, हिन्दुस्तान हाम्रो हो’ भन्ने भाष्य पुनर्जीवित गरिँदै छ ।

दुई साताभित्र मात्रै दुईवटा ठूला परिघटना भए । पहिलो, भारतमा चलिरहेको किसान आन्दोलनका बारेमा ब्रिटेनको संसद्मा बहस किन गरियो भनेर ब्रिटिस उच्चायुक्तलाई बोलाएर स्पष्टीकरण लिइयो । दोस्रो, सरकारले र ऊभन्दा पनि जोसिला उसका आत्मतुष्ट समर्थकले ‘फ्रिडम हाउस’जस्ता पश्चिमी, विदेशी आर्थिक लगानीमा चल्ने संस्थामाथि आक्रोश ओकले । कारण थियो, फ्रिडम हाउसले भारतीय लोकतन्त्रलाई ‘स्वतन्त्र’बाट ‘आंशिक रूपमा स्वतन्त्र’ भएको बताउनु । 

माथिका यी दुई परिघटनामध्ये तल्लो पछिल्लो २५ वर्षमा पहिलोपटक गरिएको थियो । २५ वर्षपहिले सन् १९९०को दशकमा भारत संकटबीच कस्मिर र पञ्जाबका अलगाववादीसँग एकैपटक जुधिरहेको थियो । त्यसपछिका दिनमा भारतको रेटिङ सुधारोन्मुख थियो । तर, पछिल्ला नौ वर्षमा यो रेटिङमा नौ अंकले ह्रास आयो ।

हाम्रो राष्ट्रिय गौरवमा त्यति वेला ठेस लागेको थियो, जति वेला स्विडेनको ‘वी–डेम’ फाउन्डेसनले यसमा नुन छर्किंदै भारतमा निर्वाचित तानाशाही चलिरहेको बताएको थियो । ‘वी–डेम’ पनि पूर्ण रूपमा विदेशी र विदेशी पैसामा चल्ने फाउन्डेसन हो । यसभन्दा अघि किसान आन्दोलनप्रति सहानुभूति प्रकट गर्दै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको बयान आइसकेको थियो ।

यसमा पनि भारतको भोट बैंकको राननीतिले हाम्रा नेताहरूलाई यसैगरी सक्रिय बनाइदिएको थियो, जसरी अहिले ब्रिटिस संसद्को मामिलामा गरिँदै छ । त्यति वेला किसान आन्दोलनको समर्थनमा अभियन्ता ग्रेटा थनबर्ग, कमला हैरिसकी भतिजी मिना हैरिस, गायिक रिहाना र अभिनेत्री सुसन सारंगनका  ट्विटका खिलाफ भद्दा विरोध गरिएका थिए । थनबर्गले जुन, ‘टुलकिट’ सेयर गरेकी थिइन्, त्यसलाई भारतविरोधी र भारतलाई विभाजित गर्ने विदेशी शक्तिको तागतका रूपमा बुझियो ।

सन् ७०को दशकताका भारतलाई बदनाम गर्न ‘विदेशीको हात छ’, ‘दुनियाँले हाम्रा खिलाफ षड्यन्त्र गरिरहेका छन्’ भन्ने मानसिकतामा विकसित गराइएको थियो । आजका दिनमा आलोचना नसुन्ने हो भने हामी फेरि त्यही भाष्यमा पुग्नेछौँ । 

यसबीच भित्र–भित्रै केही चलिरहेको छ, त्यसलाई हेर्दा लाग्छ, स्विडेनले केही अप्ठ्यारो व्यहोर्नुपर्ने हुन सक्छ । मलाई लाग्छ, यसबीच षड्यन्त्रका केही कथा सिर्जना गरिनेछन् । जस्तै, थनबर्ग पनि ‘वि–डेम’ र बस बनाउने कम्पनी स्कानियाजस्तै स्विडिस हो ।

यो कम्पनीले हालै एउटा रिपोर्ट जारी गरी उसका अधिकारीहरूले भारतमा घुस खुवाउनुपरेको बताएको थियो । यसरी एउटा सीधा रेखा निर्माण गरिनेछ । अर्थात् मोदीका खिलाफ स्विडिसहरूले षड्यन्त्र गरिरहेका छन् भनिनेछ । यो आफैँमा एउटा मजाक हो र यो हास्यविहीन समयमा यसलाई नै हास्य घोषित गरिनुपर्नेछ । तर, स्पष्ट होस् भारतमा बोफोर्स घोटालाको स्विडिस जाँचले गर्दा नै कांग्रेस बर्बाद भएको थियो । 

अन्तर्राष्ट्रिय आलोचनाका खिलाफ मुख्य आपत्ति के छ भने हाम्रो मामिलामा फैसला सुनाउने ती विदेशी को हुन् ? उनीहरूलाई के नै थाहा छ र, जो हाम्रो मामिलामा दख्खल दिने ? उनीहरूको नियत बिलकुलै गलत र पक्षपातपूर्ण छ । यी सबै परिघटना त्यस देशका लागि अजिबोगरिब कुरा हुन्, जसले तीन दशकपहिले नै भूमण्डलीकरणलाई आफ्नो बाहुपास खोलेर स्वागत गर्‍यो र त्यसबाट लाभ पनि हासिल गर्‍यो ।

यसै भावनालाई आत्मसात् गरेर सन् २००७ मा भारतले विश्व आर्थिक फोरमसँग मिलेर ‘इन्डिया एब्री ह्वेयर’लाई ‘डाबोस २००७’ को थिम बनाएको थियो । यसमा तपाईं, त्यो युपिएको मूर्खता थियो भन्न सक्नुहुन्छ । तर, मूलतः यो अप्ठ्यारोलाई निम्ता दिनु नै हो । किनभने जति वेला पनि हाम्रो ग्लोबल रैंकिङ बढ्छ, हामी खुसी साटासाट गर्न थाल्छौँ ।

लगानीकर्तालाई कारोबार गर्न दिने मामिलामा हाम्रो ग्लोबल रैंकिङमा सुधार हुँदा स्वयं प्रधानमन्त्री कति धेरै प्रसन्न भएका थिए । उनले भनेका थिए– हेर्नुस्, संसारले हाम्रो सफलतालाई कसरी स्वीकार गरिरहेको छ ! अथवा हाम्रो ग्लोबल इनोभेसन इन्डेक्स (जिआइआई) ५२ बाट सुधार भएर ४८ हुन्छ र हामी टप ५० मा पुगेकोमा कति धेरै खुसी हुन्छौँ । 

मूलतः कुरा के हो भने तपाईं संसारबाट आउने प्रशंसामा रमाउनुहुन्छ भने तपाईंमा आलोचना सुन्ने धैर्यता पनि हुनुपर्छ । चाहे त्यो हंगर इन्डेक्समा ह्रास आउँदा होस् वा प्रेस स्वतन्त्रताको विषयमा होस् वा मानव विकास सूचकांकमा गरिएको आलोचना होस् । तपाईं आजका दिनमा अलोचना सुन्न सक्नुहुन्न भने यसले हामीलाई सन् ७० को दशकको इन्दिरा गान्धीको भाष्यतर्फ डोर्‍याउने निश्चित छ । तिनताका भारतलाई बदनाम गर्न ‘विदेशीको हात छ’, ‘दुनियाँले हाम्रा खिलाफ षड्यन्त्र गरिरहेका छन्’ भन्ने मानसिकतामा विकसित गराइएको थियो । आजका दिनमा आलोचना नसुन्ने हो भने हामी फेरि त्यही भाष्यमा पुग्नेछौँ । 
(गुप्ता द प्रिन्टका सम्पादक हुन्) द प्रिन्टबाट