Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ चैत ५ बिहीबार ०८:५४:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

बर्दिया राष्ट्रिय निकुञ्जको  एउटा नरभक्षी बाघ नियन्त्रणमा

Read Time : > 2 मिनेट
२०७७ चैत ५ बिहीबार ०८:५४:००

बर्दिया राष्ट्रिय निकुञ्जको पश्चिमतर्फ आतंक मच्चाइरहेको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । गेरुवा गाउँपालिकालगायतका क्षेत्रमा आतंक मच्चाइरहेको बाघलाई बुधबार बाघ नियन्त्रण टोलीले नियन्त्रणमा लिएको हो । 

केही दिनअघिदेखि क्यामरा ट्रयापिङ प्रविधिबाट बाघको अनुगमन गरिएको थियो । लामो समयदेखि मानिसलगायत पशुचौपायामाथि आक्रमण गरिरहेको बाघ पहिचान भएपछि नियन्त्रण लिइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । बाघ गेरुवा गाउँपालिका–४ राजीपुरमा फेला परेको थियो । त्यसपछि डार्ट (बेहोस बनाउने औषधि) प्रयोग गरी नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ । 

नियन्त्रणमा लिइएको बाघ नंग्रा खिइएको र दाँत भाँचिएको अवस्थामा रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जमा निर्माण गरिएको उद्धार केन्द्रमा राखिने उनले बताए । बाघ बुढो भएका कारण सजिलो सिकार खोज्दै मानिस र पशु चौपायामाथि आक्रमण गरेको हुन सक्ने निकुञ्जले जनाएको छ । 

अर्को नरभक्षी बाघ नियन्त्रण हुन बाँकी
नरभक्षी बाघ नियन्त्रणमा आएपछि गेरुवा गाउँपालिकावासी हर्षित भएका छन् । बाघ नियन्त्रण भएपछि आफूहरूले केही राहतको महसुस गरेको गेरुवा गाउँपालिका–४ राजीपुरका बडघर लक्ष्मीप्रसाद चौधरीले बताए । लामो समयदेखि खाता जैविकमार्गमा मानिस र पशुचौपायामाथि आक्रमण गरिरहेको बाघलाई भने टोलीले अझै नियन्त्रणमा लिन सकेको छैन । 

बर्दियाको गेरुवा गाउँपालिकाको गोला क्षेत्रमा र मधुवन नगरपालिकाको खाता जैविकमार्गको आसपासको क्षेत्रमा बाघ नियन्त्रण गर्न मंगलबारदेखि टोली परिचालन गरिएको थियो । दुईवटा टोलीमा ६ वटा हात्ती, दुई–दुईजना पशुप्राविधिक, वन्यजन्तु एम्बुलेन्स, खोरसहितको ट्रक, संरक्षण भ्यान परिचालन गरिएको छ । त्यसैगरी, टिममा नेपाली सेना, निकुञ्जका कर्मचारी, डिभिजन वनका कर्मचारी र स्थानीयलाई समेत परिचालन गरिएको छ । 

निकुञ्जमा जंगल पैदलयात्रा बन्द
बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले निकुञ्जको मुख्य क्षेत्रमा पैदलयात्रा बन्द गरेको छ । मुख्य क्षेत्रमा बाघको आक्रमणबाट मानवीय क्षति बढेपछि निकुञ्ज प्रशासनले बुधबारबाट पैदलयात्रा बन्द गरेको हो । 

निकुञ्ज प्रशासनले बुधबार एक सूचना जारी गर्दै सुरक्षाका कारण पर्यटकीय गतिविधिअन्तर्गतको पैदलयात्रा पनि बन्द गरिएको जनाएको छ । सो क्षेत्रमा मंगलबार पनि बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको थियो । बघौरा क्षेत्रमा घाँसदाउरा काट्न र निउरो खोज्न गएकी ६२ वर्षीय डल्ली रावतलाई बाघले आक्रमण गरी लगेको थियो । उनीसँगै गएका अन्य महिलाले खबर गरेपछि खोज्ने क्रममा उनको शव भेटिएको थियो । 

त्यसपछि निकुञ्जमा बाघका कारण असुरक्षा बढ्दै गएको भन्दै प्रशासन यस्तो निर्णयमा पुगेको हो । पैदलयात्रा गर्ने पर्यटकहरू असुरक्षित हुने भएकाले पैदलयात्रा बन्द गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले बताए । ‘अर्को सूचना नहुँदासम्म ‘जंगल वाक’ बन्द गरिएको छ,’ थापाले नयाँ पत्रिकासँग भने, ‘सवारीसाधनमा निकुञ्जभित्र जंगल सफारीमा जाने पर्यटकहरूलाई पनि सजग हुन भनिएको छ ।’ निकुञ्ज घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरू जंगल क्षेत्रमा पैदलयात्रा गर्न रमाउँछन् । अन्य दिनमा सामान्य भए पनि शनिबार त्यस्ता पर्यटक धेरै हुने गर्छन् । कोरोना महामारीले थलिएको पर्यटन बिस्तारै उठ्न लागेका वेला बाघको आक्रमण बढेसँगै पर्यटनमा धक्का लागेको छ ।

ठाकुरबाबा नगरपालिकाले पनि जीविकोपार्जनका लागि वन क्षेत्रमा नपस्न स्थानीयलाई विशेष आग्रह गरेको छ । बाघको आक्रमण बढ्दै गएको भन्दै नगरपालिकाले रातको समयमा निकुञ्ज तथा जंगल क्षेत्रका सडकमा आवतजावत नगर्न पनि आग्रह गरेको छ । हिँड्नै परे समूह बनाएर मात्र आवतजावत गर्न निकुञ्जको सुझाब छ । बाघको आक्रमणबाट बर्दियामा चालू आर्थिक वर्षको ८ महिनामा १० जनाले ज्यान गुमाइसकेका छन् । अघिल्लो आर्थिक वर्षमा पाँचजनाको मृत्यु भएको थियो । गत कात्तिकमै मधुवन नगरपालिका– ३ मा तीनजनाको ज्यान गएको थियो । दुई वर्षयताको तथ्यांक हेर्दा बाघको आक्रमण र मानवीय क्षति बढ्दै गएको देखिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । 

बर्दियामा बाघको संख्या बढ्दै गएको र आहारा प्रजातिको कमी भएका कारण बाघको आक्रमण बढेको अनुमान गर्ने गरिएको थियो । तर, यसपटक बाघले पर्याप्त आहारा प्रजाति भएकै स्थानमा मानिसमाथि लगातार आक्रमण गरिरहेको छ । निकुञ्जको बघौरा क्षेत्रमा घाँसे मैदान व्यवस्थापनसँगै चित्तललगायत बाघका आहारा प्रजाति बढेका छन् । यसअघि बर्दियामा निकुञ्जआसपासको क्षेत्र जैविक मार्ग र सामुदायिक वनमा बाघले आक्रमण गरेको थियो । यसअघि मोटरसाइकलमा सवार कैलालीकी एक महिलाको बाघको आक्रमणमा परी मृत्यु भएको थियो ।