१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 02 May, 2025
नयाँ पत्रिका
Invalid date format o८:५o:oo
Read Time : > 3 मिनेट
विश्व

अत्याचार हेर्न नसकेर भारत आइपुगेका म्यानमारका सैनिक जवान भन्छन्– म्यानमारमा मलाई मृत्युदण्डले पर्खिरहेको हुनेछ

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
नयाँ पत्रिका
Invalid date format o८:५o:oo

कुङ्गा २४ वर्षका युवक हुन् । उनी केही दिनअघिसम्म म्यानमारको सेनामा थिए । गत १ फेब्रुअरीमा म्यानमारमा सैनिक कु भएपछि उनको जिम्मेवारी फेरियो । सेनाले उनलाई सरकारको आदेशको अवज्ञा गर्ने समूह वा व्यक्तिको सुराकी गर्न खटायो । उनकै सुराकीका आधारमा सेनाले प्रदर्शनकारीलाई गिरफ्तार गर्नेदेखि गोली चलाउनेसम्मको कारबाही गथ्र्याे ।

उनी भारतको मिजोरम र मणिपुरसँग सीमा जोडिएको चेन राज्यमा कार्यरत थिए । चेन उनको गृहजिल्ला पनि हो । 
आफ्नै सहरका नागरिकको सुराकी गर्नुपर्दा र उनकै सुराकीका आधारमा सेनाले सर्वसाधारणमाथि निर्मम व्यवहार गर्दा उनी खुसी थिएनन् । त्यो दृश्यपछि उनले सेनाको जागिर त्याग्ने निर्णय गरे । जिम्मेवारी छाडेर उनी नागरिक अवज्ञा अभियान (सिडिएम)मा सहभागी भए अर्थात् उनी सेनाको जागिर छाडेर भारत आइपुगे । 

म्यानमारमा सैनिक कु भएपछि देश छाडेर शरणका लागि भारत आइपुग्ने कुङ्गा एक्ला व्यक्ति भने होइनन् । म्यानमारको सेना र प्रहरीमा कार्यरत सयौँ सुरक्षाकर्मी र सर्वसाधारण देश छाडेर छिमेकी देश भारतको मिजोरम र मणिपुर जिल्लामा आइपुगेका छन् । सैनिक कुपछि सर्वसाधारणले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनमा सेना र प्रहरीले चलाएको गोली लागेर हालसम्म एक सय ८० भन्दा बढीको मृत्यु भइसकेको छ ।

म्यानमारसँगको करिब पाँच सय १० किलोमिटर सीमा क्षेत्रको सुरक्षा गरिरहेको भारतको अर्धशैन्य बल आसाम राइफल्सका अधिकारीका अनुसार हालसम्म दुई सय ६४ जना म्यान्मारीहरू मिजोरम र मणिपुर आइपुगेका छन् । त्यसमध्ये धेरैजसो म्यान्मारको सेना वा प्रहरीका जवान छन् । 

भारत आइपुगेका धेरैजसो नातेदारको आश्रयमा छन् । म्यानमारको चेन राज्य र भारतको मिजोरम र मणिपुरका परिवारबीच वैवाहिक र अन्य खालको सम्बन्ध छ । उनीहरूबीच सांस्कृतिक रूपमा पनि नजिकको सम्बन्ध छ ।
आफन्तकोमा आश्रय लिएकाले पनि भारतीय अधिकारीहरूलाई भारत प्रवेश गरेका म्यानमारीको संख्या यकिन गर्न मुस्किल परेको छ । ‘राज्य सरकारसँग यसबारेमा स्पष्ट तथ्यांक छैन,’ मिजोरम गृह प्रशासनका एक अधिकारी साङचिन चिन्जाह भन्छन्, ‘धेरैजसो व्यक्ति आफन्तकोमा बसिरहेकाले उनीहरूको संख्या निकाल्न मुस्किल भइरहेको छ ।’

भारतको संसद्मा मिजोरम राज्यका प्रतिनिधि के भन्लालभेना म्यानमारबाट भारत छिर्नेको संख्या प्रत्येक घन्टा बढिरहेको बताउँछन् । ‘मसँग भएको रिपोर्टअनुसार चार सयभन्दा बढी यसअघि नै मिजोरम प्रवेश गरिसकेका छन्,’ उनी भन्छन्, ‘तर, यो संख्या प्रत्येक घन्टा बढिरहेको छ ।’ उनीहरूलाई शरणार्थीका रूपमा भारतमा बस्न दिन उनको जोड छ । भारत सरकारले भने म्यानमारीलाई भारत प्रवेश गर्न नदिने जनाएको छ ।

परिवार असुरक्षित
भारत प्रवेश गर्नेबित्तिकै कुङ्गाले एउटा दुःखद समाचार सुन्नुपर्‍यो । ‘मैले घर छाडेलगत्तै सेनाले मेरो बुबालाई पक्राउ गरेको रहेछ । कुङ्गाका पिता ६३ वर्षका छन् । उक्त घटनापछि कुङ्गा घरमा फोन गर्न पनि डराउँछन् । उनलाई डर छ कि कुरा गरेकै आधारमा परिवारका अन्य सदस्यलाई सेनाले नपक्रियोस् । मिजोरम र मणिपुरमा आश्रय लिइरहेका सबैसँग यस्तै त्रास छ । सुएन आफ्नी श्रीमती र दुई वर्षका छोराको विषयमा चिन्तित छन्, जसलाई उनले घरमै छाडेर आएका छन् । ‘यस्तो अवस्थामा हामीलाई भविष्यमा के हुन्छ भनेर कसले पो भन्न सक्छ ?’ उनी प्रश्न गर्छन् ।

उनीहरूमध्ये धेरैलाई अर्काे चिन्ता पनि छ, कुनै दिन भारतले म्यान्मार नै फर्काइदिनेछ । किनभने भारतले अहिलेसम्म शरणार्थीबारे संयुक्त राष्ट्रसंघको घोषणापत्रमा हस्ताक्षर गरेको छैन । गत १० मार्चमा भारतको संघीय गृह मन्त्रालयले म्यान्मारसँग सीमा जोडिएका राज्यहरूलाई जारी गरेको निर्देशनमा सीमा क्षेत्रमा हुने कुनै पनि अनधिकृत आवतजावतमाथि कडाइ गर्न भनिएको छ । साथै, त्यस्तो घटना पाइएको अवस्थामा ती व्यक्तिलाई तत्काल फर्काइदिन पनि निर्देशन दिइएको छ । 

 म्यानमारको सेना र प्रहरीमा कार्यरत सयौँ सुरक्षाकर्मी र सर्वसाधारण देश छाडेर छिमेकी देश भारतको मिजोरम र मणिपुर जिल्लामा आइपुगेका छन्

भारतसँग शरणार्थीबारे कुनै प्रावधान नभए पनि यससम्बन्धी काम गर्ने संयुक्त राष्ट्रसंघको निकाय युएनएचसिआरले उनीहरूलाई उक्त प्रमाणपत्र दिएको थियो । प्रमाणपत्र पाएकाहरू अहिले नयाँदिल्लीमा बस्छन् । ‘यदि हामीले पनि यस्तै अवसर पायौँ भने म मेरो परिवारलाई पनि यहाँ बोलाउनेछु । यही दुःख गर्नेछु,’ उनी भन्छन्, ‘यदि त्यस्तो भएन र भारत सरकारले पक्राउ गरी फर्काइदियो भने म्यान्मारमा मलाई मृत्युदण्डले पर्खिरहेको हुनेछ ।’

‘मैले मेरै मान्छेविरुद्ध सुराकी गर्नुपथ्र्याे’
कुङ्गा झन्डै चार दिनको यात्रापछि सीमा पार गरी गत ७ मार्चमा भारत प्रवेश गरेका हुन् । सुरुमा म्यानमारको सेनासँग लुक्दै मोटरसाइकलमा भागेको उनले बताए । गाउँतिर पुगेपछि मोटरसाइकल छाडेर पैदल यात्रा गर्न थाले । त्यसपछि उनी दुई दिन हिँडेर भारतको सीमा क्षेत्रमा पुगे । अनि तिउ नदी तरेर भारत प्रवेश गरे ।

‘मलाई सेनाले सरकारको आदेशको अवज्ञा गर्ने व्यक्ति वा समूहको पहिचान गर्न र उनीहरूबारे थप सूचना प्राप्त गर्न निर्देशन दिएको थियो, मैले मेरै मान्छेहरूविरुद्ध सुराकी गर्नुपथ्र्याे,’ मिजोरमस्थित एक घरको ठूलो हलमा बसिरहेका उनी भन्छन्, ‘म उनीहरूको आदेश पालना गर्न इच्छुक थिइनँ । प्रदर्शनकारीमाथि सेनाले गोली चलाइरहेको दृश्य मेरा लागि साह्रै पीडादायी रह्यो । प्रदर्शनकारीमाथि गोली चलाउने सैनिकको पनि परिवार छ । उनीहरूले अरूको परिवारमाथि कसरी गोली चलाउन सक्छन् ?’ कुङ्गा बसिरहेको उक्त हलमा कम्तीमा अरू २५ जना म्यानमारीहरू आश्रय लिइरहेका छन्, जो उनीजस्तै भागेर यहाँ आइपुगेका हुन् ।

मिजोरममा आश्रय लिनेमध्ये धेरैजसो म्यान्मारको चेन राज्यका नागरिक छन् । कुङ्गाजस्तै भागेर मिजोरम आइपुगेका म्यानमारका अर्का सुरक्षाकर्मी हुन्, मार्ली । ३० वर्षीया मार्ली चेन राज्यमै कार्यरत थिइन् । ‘जतिखेर प्रदर्शन सुरु हुन्थ्यो, हाकिमले प्रदर्शनकारीलाई पक्राउ गर्न निर्देशन दिन्थे,’ मार्ली भन्छिन्, ‘तर, हामी उनीहरूलाई पक्राउ गर्न चाहँदैनथ्यौँ ।’ उनी प्रहरी सेवामै कार्यरत आफ्ना २९ वर्षीय श्रीमान् भान्कुङसँगै आश्रय लिन भारत आइपुगेकी हुन् । म्यान्मारको सेनाले कु गर्नुभन्दा केही दिनअघि मात्रै उनको विवाह भएको थिए ।

गत आइतबार बिहान मात्रै मिजोरम आइपुगेका यी प्रहरी दम्पती बन्दै गरेको एउटा घरको ठूलो कोठामा बसिरहेका छन्, जुन ठाउँ अरू २५ जनाको पनि आश्रयस्थल हो । हलमा सबै भुइँमा सुत्छन् । उनीहरूका लागि छिमेकीहरूले म्याट, तन्नालगायत सामान दिएका छन् । उनीहरू आफ्नो झोलालाई सिरानी बनाएर त्यहीँ म्याट र तन्नामा सुत्छन् ।

त्यहाँ आश्रय लिइरहेकामा म्यानमारको सैनिक नेतृत्वप्रति ठूलो आक्रोश छ । ‘हामी सर्वसाधारणलाई माया गर्छाैँ । यो सैनिक सरकार हामीलाई यी जनतालाई दुःख दे भन्ने आदेश दिन्छ,’ म्यान्मारको टेडिममा प्रहरी हवल्दारका रूपमा काम गरेका सुएन भन्छन्, ‘त्यही कारण म म्यान्मार छाड्ने निर्णयमा पुगेँ ।’ सुएनले अरू धेरै म्यानमारीसँगै आफ्नो सामान झोलामा पोका पारेर ९ मार्चमा म्यानमार छाडेका थिए । उनीहरूले देशसँगै आफ्नो परिवारलाई पनि छाडेका छन् ।
 एजेन्सीको सहयोगमा