
सरकारले जडान (एसेम्बली) उद्योगहरू सञ्चालनमा प्रोत्साहन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यस्तो घोषणा गरिएको हो ।
नीति तथा कार्यक्रममा जडान उद्योग विस्तार गरेर आयात प्रतिस्थापन गरी निर्यात वृद्धि गर्ने उल्लेख छ । पछिल्लो समय नेपालमा विभिन्न प्रकारका जडान उद्योगहरू सञ्चालनमा आउने क्रम बढ्दो छ ।
सामसुङ टेलिभिजन, बजाज मोटरसाइकल, हुन्डाई, हिरो, रोयल इन्फिल्ड, होन्डा, टिभिएस, यामाहालगायत कम्पनीले एसेम्बली प्लान्ट सञ्चालनमा ल्याइसकेका छन् ।
यस्तै, विशेष आर्थिक क्षेत्र (सेज) सार्वजनिक निजी साझेदारी मोडलमा विस्तार तथा सञ्चालन गरिने भएको छ । अहिलेसम्म भैरहवा र सिमरामा सेज सञ्चालनमा आएका छन् ।
सरकारले निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापनमा जोड दिने भएको छ । पहिचान गरिएका वस्तुहरूको निर्यात बढाउन विशेष कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि प्रतिस्पर्धात्मक क्षमता बढाउन लागत घटाउने आधुनिक प्रविधिको उपयोग बढाइने घोषणा गरिएको छ ।