१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०७७ फाल्गुण २७ बिहीबार ०८:३०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

न्यादीले जेठबाट विद्युत् उत्पादन सुरु गर्ने

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण २७ बिहीबार ०८:३०:००

लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाले आगामी जेठदेखि उत्पादन सुरु गर्ने भएको छ । आयोजनाको ९५ प्रतिशत निर्माण पूरा भएसँगै न्यादीको बिजुली ३ महिनाभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको हो । 

आयोजनाको ९५ प्रतिशत निर्माण पूरा भएकाले तालिकाअनुसार नै विद्युत् उत्पादन सुरु हुने न्यादी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । आयोजनाको बाँध क्षेत्रको जग खन्ने काम पूरा भएसँगै चार किलोमिटर सुरुङ ढलानको काम पनि सकिएको छ । यस्तै, विद्युत्गृहको सिभिल संरचना निर्माण पनि सम्पन्न भएको छ । आयोजनाको ड्याम र इन्टेकको काम सकिएको छ । ३० मेगावाटको यो आयोजना सम्पन्न गर्न ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । 

आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत् २२० केभी मस्र्याङ्दी कोरिडोर प्रसारण लाइनको खुदी सबस्टेसनमा लगेर जोडिनेछ । नेपाल विद्युत् प्राधिकरणले ट्रान्समिसन लाइन निर्माण नगरेकाले वैकल्पिक रूपमा माथिल्लो मर्स्याङ्दी ‘ए’को विद्युत्गृहभन्दा केही तल १३२ केभी भुलभुले–मर्स्याङ्दी प्रसारण लाइनमा जोड्ने गरी आयोजनाले टारीकुनासम्म ९ किलोमिटर प्रसारण लाइन निर्माण गरिरहेको छ । 

आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरेको छ । नदीको बहावमा आधारित यो आयोजनाबाट वार्षिक एक सय ६८ गिगावाट आवर विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिनेछ ।

आयोजनाले विद्युत् प्राधिकरणसँग प्रचलित ‘पोस्टेड’ दरअनुसार वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुक्खायामका लागि ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ । उक्त दर वार्षिक ३ प्रतिशतका दरले सामान्य वृद्धि भई आठ वर्षसम्म र सम्झौता अवधि ३० वर्षसम्म कायम रहने बताइएको छ ।