मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
रमेश रावल कर्णाली
२०७७ फाल्गुण २५ मंगलबार १८:००:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

घरेलु हिंसाले निम्त्याएको त्रासदी : अन्तर्राष्ट्रिय नारी दिवसकै दिन चार सन्तानसहित कर्णालीमा डुबिन् आमा

जुम्ला र सुर्खेतमा एकैदिन तीनजनाले गरे आत्महत्या

Read Time : > 2 मिनेट
२०७७ फाल्गुण २५ मंगलबार १८:००:००

विभिन्न कार्यक्रमसहित सोमबार नेपालमा पनि १११औँ श्रमिक महिला दिवस मनाइँदै थियो । महिला हकहित र अधिकारबारे सभा, सेमिनार र गोष्ठी चले । तर, दैलेखको आठबिस नगरपालिका– ३ निमाइल भने शोकमग्न थियो । गरिबी, अशिक्षा, बेरोजगारी, विभिन्नखाले हिंसाबाट महिलाले मुक्ति पाउनुपर्छ भनेर नारी दिवस मनाउँदै गर्दा निमाइलकी सुकु बडुवाल भने घरेलु हिंसाकै कारण चार सन्तानसहित कर्णाली नदीमा हामफाल्न विवश बनिन् ।

मदिरा सेवनका कारण मानसिंह बडुवालले श्रीमतीसहित चारै सन्तानलाई लगातार तनाव दिएपछि आइतबार राति सुकु बडुवाल आफ्ना सन्तान साथमै लिएर घरबाट निस्किइन् । गाउँमा माइत गइन् होला भनेर सोच गरेका गाउँले एक्कासि पाँचैजना कर्णाली नदीमा डुबेको भन्ने खबर पाएपछि स्तब्ध बने । गाउँले कर्णाली नदी किनारामा भेला भए बेपत्ता भएकालाई खोज्न ।

आमा सुकु बडुवाल र आठ वर्षीया छोरा ललित बडुवालको शव मंगलबार दिउँसो फेला परेको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले जानकारी दिए । १५ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका– ४ कर्णाली नदीमा सोमबारै साँझ भेटिएको हो । जलारीले जाल हाल्ने क्रममा शव भेटिएपछि प्रहरीलाई खबर गरेको बताइएको छ । पाँच वर्षीया रजनी बडुवाल अझै बेपत्ता छिन् । उनको खोजीकार्य जारी राखिएको प्रहरीले जनाएको छ । कर्णाली नदीमा गोताखोर टोलीसमेत परिचालन गरिएको छ । 

घरको आर्थिक स्थिति अत्यन्त कमजोर, त्यसमाथि बाबुले नै लगातार तनाव दिने गरेपछि पाँचैजना नदीमा हामफाल्नुपर्ने अवस्था सिर्जना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी वसन्तकुमार पन्तसहितको टोली घटनास्थलमा पुगेको छ । ‘घटनाका विषयमा विस्तृत अध्ययन गरिनेछ,’ कर्णाली प्रदेश प्रहरी प्रमुख पन्तले भने, ‘घटनाका विषयमा हरेक कोणबाट अध्ययन गरिरहेका छौँ ।’ सनाखत भएका चारजनाको शव पोस्टमार्टमका लागि अछामको मंगलसेनतर्फ लगिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए । 

 घरेलु हिंसाका कारण आत्महत्या
दैलेख आठबिस नगरपालिका उपप्रमुख दीपा बोहाराले घरेलु हिंसाका कारण घटना भएको बताइन् । ‘घटना भएको दिनमा पनि श्रीमान्ले ती महिलासहित छोराछोरीलाई कुटपिट गरेको पाइएको छ,’ उनले भनिन्, ‘सधैँ मदिरा पिएर ती महिलालाई श्रीमान्ले कुटपिट गर्ने गरेका थिए ।’

सुकु बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हामफाल्नुअघि मदिरा सेवन गरेका श्रीमान्सँग झगडा भएको आफन्तहरूले बताएका छन् । आइतबार राति पनि दुवैबीच विवाद भएको थियो । श्रीमान्सँग झगडा भएपछि चार छोराछोरीसहित उनी माइत जान घरबाट निस्किएकी थिइन् । माइती घर नगएर सीधै कर्णालीमा हामफालेको स्थानीयले आशंका गरेका छन् । 

आइतबार दिउँसो छिमेकीले सापट लिएको १० हजार रुपैयाँ मानसिंहले बुझेको, त्यसमध्ये एक हजार रुपैयाँको मदिरा सेवन गरेको, नौ हजार रुपैयाँ श्रीमती सुकुलाई दिएको भन्ने आफूले सुनेको छिमेकी जीवन भण्डारीले बताए । ‘आइतबार बेलुका श्रीमतीलाई नौ हजार रुपैयाँ दिएर एक हजारको रुपैयाँको मदिरा सेवन गरेर घर गएको बुझेको छु,’ उनले भने, ‘घर गएपछि के विषयमा झगडा भयो ? त्यसबारे जानकारी भएन ।’ 

आइतबार दिउँसो सुकुले श्रीमान्ले बजारमा मदिरा सेवन गरेको थाहा पाएपछि उनलाई लिन बजारमै पुगेको वडाध्यक्ष प्रयाग शाहीले बताए । ‘अत्यधिक मदिरा खाने मानसिंहको बानी थियो,’ उनले भने, ‘राति मदिरा खाएको निहुँमा घरमा झगडा भएको हुनुपर्छ । उनी छोराछोरीसहित राति नै घरबाट निस्किएकी पनि हुन सक्छ ।’

कर्णाली प्रदेशमा झुन्डिएर तीनजनाले गरे आत्महत्या
कर्णालीमा एकै दिन झुन्डिएर तीनजनाले आत्महत्या गरेका छन् । जुम्लामा एक र सुर्खेतमा दुईजनाले झुन्डिएर आत्महत्या गरेका हुन् । जुम्ला गुठीचौर गाउँपालिका– ३ गज्र्याङकोटका ३३ वर्षीय दत्त दमाईंले आफ्नै घरको भान्साकोठामा मंगलबार बिहान आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

त्यस्तै, सुर्खेत भेरीगंगा नगरपालिका– ५ हात्तीखालका ३७ वर्षीय छविलाल पुनले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका छन् । वीरेन्द्रनगर नगरपालिका– १० नयाँ गाउँका ४० वर्षीय जगतबहादुर चौधरी काँक्रेबिहारको जंगलमा झुन्डिएको अवस्थामा फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।