१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ फाल्गुण १६ आइतबार ०९:४९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भूकम्पपछि जस्तापाताले रंगिए लमजुङका ग्रामीण बस्ती

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण १६ आइतबार ०९:४९:००

भूकम्पपछि लमजुङमा पुनर्निर्माण भएका अधिकांश घरमा जस्तापाताको छाना हालिएपछि ग्रामीण भेग रंगिन देखिएका छन् । पहिले गाउँमा खरले छाएका देखिने घर अहिले रंगीन जस्ताले टल्किन थालेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट अनुदान पाउने लाभग्राहीले बनाएको घर भनेकै रंगीन जस्तापाताजस्तो भएको जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डे बताउँछन् ।

पाण्डेका अनुसार लमजुङमा भूकम्पपछि पुनर्निर्माण गरिएका घर शतप्रतिशत लाभग्राहीले रंगीन जस्तापाताले घर छाएका छन् । गह्रौँ छानालाई प्राविधिकले अस्वीकार गरेका कारण र हलुका निर्माण सामग्री प्रयोग गर्दा भूकम्पबाट सुरक्षित हुने प्राविधिक सल्लाहअनुसार भूकम्प प्रभावितले हलुका छानोका रूपमा बढी घरमा जस्तापाताको प्रयोग गरिएको छ । 

एकैनासका घर अनि एकैनासका छाना पुनर्निर्माणका वेला ध्यान दिएर घर बनाएकाले गाउँ नै नमुना बस्तीझैँ देखिएको दुधपोखरी गाउँपालिकाकी अध्यक्ष छुपीमाया गुरुङ बताउँछिन् ।   भूकम्पपछि गाउँमा सबैले एकैथरी घर बनाएका छन् । अधिकांशका दुईकोठे घर छन् । दुईकोठे अनि एकतले घर उस्तै देखिन्छन् । 

जस्तापाताको छाना लगाउँदा घर हलुका हुने मात्र नभई काठको प्रयोगमा कमी र ज्यालामा बचत हुने गरेको दुधपोखरी गाउँपालिका कोल्कीका स्थानीय धनबहादुर गुरुङले बताए । हरेक गाउँमा निलो र रातो जस्तापाताको छाना हालेर घर निर्माण गरिएका छन् । भूकम्पले बढी क्षति भएको जिल्लाको दुधपोखरी, विचौर र कोल्कीमा बनेका घर रंगिबिरंगी नै देखिन्छन् । यस्तै राइनासकोट होमस्टेको पनि भूकम्पपछिको पुनर्निर्माणसँगै रातो जस्तापाताले गाउँको मुहार नै फेरिएको स्थानीय समाजसेवी कृष्णराज ओलिया बताउँछन । 

हालसम्म जिल्लामा नाै हजारले घर निर्माण गरेका छन जसमा अधिकांशले रातो र निलो रङका जस्तापाता घर छाएका छन । ०७२ को भूकम्पले लमजुङमा १४ हजार ६ सय ४९ निजी घर भत्किएका थिए भने आठ सय ९४ घर प्रबलीकरण लाभग्राहीका सूचीमा परेको थियो । पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ लमजुङका अनुसार जिल्लामा हालसम्म ५८ प्रतिशत घर निर्माण भएका छन् ।