१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ माघ २५ आइतबार १२:५०:००
Read Time : > 2 मिनेट
खेलकुद

नेमारले पिएसजीसँग गरे चारवर्षे सम्झौता

Read Time : > 2 मिनेट
२०७७ माघ २५ आइतबार १२:५०:००

ब्राजिलियन स्ट्राइकर नेमार जुनियरले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग चार वर्षको सम्झौता गरेका छन् । सम्झौताअनुसार नेमारले पिएसजीबाट प्रतिसाता ६ लाख पाउन्ड पाउनेछन् ।

पिएसजी र नेमारबीचको सम्झौतासँग सम्बन्धित थप कागजी प्रक्रिया अगाडि बढाइएको द डेलिमेलले जनाएको छ । यो सबै प्रक्रिया यसै साता पूरा हुने आरएमसीको रिपोर्टमा उल्लेख छ । 

फ्रेन्च लिग वानमा जमिरहेका नेमारले चार वर्षमा नयाँ उचाइ प्राप्त गर्ने बताएका छन् । पछिल्ला केही वर्ष अधिकांश समय चोटका कारण बेन्चमै बसेका नेमारले नयाँ सिजनमा पिएसजीबाट उत्कृष्ट प्रदर्शन दिने बताएका छन् । यसअघि उनी बार्सिलोनामै पुनः आबद्ध हुने समाचार आइरहेका थिए । 

गत साता ब्राजिलका पत्रकार मार्सेलो बेचलरले नेमार र पिएसजीसँगको सम्झौता हुन लागेको बताएका थिए । गत सिजनमा नेमारकै उत्कृष्ट प्रदर्शनमा पिएसजी इतिहासमै पहिलोपटक युरोपको प्रतिष्ठित फुटबल प्रतियोगितामा च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । जसमा पिएसजी बायर्न म्युनिखसँग १–० ले पराजित भयो । 

जर्मनसँगको सम्झौतापछि नेमारले नयाँ प्रशिक्षक माउरिसिओ पोचेटिनोसँग सहकार्य गर्न आतुर रहेको जनाएका छन् । ‘पोचेटिनोको प्रशिक्षण लिन मैदानमा उत्रन आतुर छु, म आफूले भ्याएसम्म कसैलाई पनि निराश पार्दिनँ,’ नेमारले भनेका छन् । सन् २०१७ मा सबैलाई आश्चर्यमा पार्दै नेमार बार्सिलोनाबाट २२ करोड पाउन्डमा पिएसजीमा अनुबन्धित भएका थिए । खेलाडी ट्रान्सफर विन्डोमा यो नै अहिलेसम्मको सर्वाधिक अनुबन्ध रकम मानिएको छ । विश्व फुटबलमा कम उमेरमै स्थापित भएका खेलाडीमध्ये नेमार पनि एक हुन् । 

१६ खेलमा १३ गोल
यस सिजनमा उनी फर्ममा देखिने सम्भावना छ । यो सिजनमा सम्पन्न १६ खेलमा उनीले १३ गोल गरिसकेका छन् । नेमार र पिएसजीबीचको सम्झौताले प्रशिक्षक पोचेटिनोले राहत पाएको ब्राजिलियन पत्रकार मार्सेलोले जनाएका छन् । ‘प्रशिक्षक पोचेटिनोलाई पनि नेमारको भविष्यप्रति शंका लागेको थियो, तर अब यो सबै द्विविधा समाप्त भएको छ,’ मार्सेलोले भने । 

पोचेटिनोले सम्भवतः नेमार र फ्रेन्च स्टार खेलाडी केलियन एम्बाप्पेलाई नै पहिलो रोजाइमा उतार्नेछन् । यी दुईसहितको सहयोगमा पोचेटिनोले युरोपियन च्याम्पियन्स लिग उपाधि जित्ने मनसाय बनाएका छन् । करिब चार सिजनमा नेमारले पिएसजीबाट सय खेलमा ८३ गोल गरेका छन् । 

सम्झौतापछि ज्यादै खुसी भएको नेमारले प्रतिक्रिया दिएका छन् । ‘म धेरै खुसी छु,’ उनले भनेका छन् । एम्बाप्पेले पनि पिएसजीमै रहँदा झन् खुसी हुने बताएका छन् । उनी भन्छन्, ‘म अब चार वर्ष यहीँ रहनेछु, सबै समर्थकको चाहना पनि पिएसजी युरोपकै एक बलियो टोली बनोस् भन्ने छ । म जबसम्म यहाँ रहन्छु मेरो प्रयास पनि त्यही हुनेछ, फुटबल खेल्ने र सधैँ खुसी हुने ।’

पिएसजी आएपछि जीवन तथा खेल्ने शैली नै परिवर्तन भएको उनको भनाइ छ । यद्यपि, बार्सिलोनामा रहँदा पनि उनले लियोनल मेसीका धेरै पक्ष सिकेको बताएका थिए । ‘पेरिस आएपछि ममा धेरै परिवर्तन भएको पाएँ जुन अन्य क्लबमा पाउन सकिनँ ।’ पिएसजीको  ड्रेसिङ रुमको वातावरणबारे उनी भन्छन्, ‘बार्सिलोनापछि खुसी भएको क्लब नै पिएसजी हो, यसकारण म यहाँ खुसी छु ।’ 

पिएसजीले अब एम्बाप्पेसँग पनि सम्झौता गर्ने तयारी गरिरहेको समाचार आएका छन् । नेमारको जस्तै एम्बाप्पेको पनि युरोपका ठूला र सशक्त क्लबहरूसँग कुराकानी भइरहेको ब्रिटिस मिडियाहरूले जनाएका छन् । विश्वकप विजेता खेलाडी एम्बाप्पेले यतिवेला स्पेनिस क्लब रियल म्याड्रिड र लिभरपुलसँग नजिक छन् । पिएसजीका स्पोर्टिङ डाइरेक्टर लिओनार्दोले एम्बाप्पे र अन्य युरोपिय क्लबसँग वार्ता भइरहेको स्पष्ट पारेका छन् । 

एम्बाप्पेले अवस्थाअनुसार निर्णय गर्ने बताएका छन् । तर, प्रशिक्षक पोचेटिनोले मिडिया र बजारमा आएको जस्तो हल्ला वास्तवमा नभएको दाबी गरे । ‘यहाँ धेरै कुरा हल्लामै चलिरहेको छ, मैले पिएसजीमा यस्तो केही भएको देखिनँ, क्लबले चाहेको जस्तै खेलाडीको माग पूरा हुनेछ,’ प्रशिक्षक पोचेटिनोले भने, ‘क्लबमा भएका दुईजना स्टार खेलाडी (नेमार र एम्बाप्पे)सँग कुराकानी भइसकेको छ, उनीहरू पेरिसमै रहनेछन् ।’
–एजेन्सीहरूको सहयोगमा