१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस काठमाडौं
२०७७ माघ २० मंगलबार १६:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कार्यकाल पूरा गर्न नपाउँदा निर्वाचनमा जानुपरेको हो : महान्यायाधिवक्ता खरेल

Read Time : < 1 मिनेट
रासस काठमाडौं
२०७७ माघ २० मंगलबार १६:१५:००

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको भए पनि संविधानसम्मत भएको तर्क गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्वको रिट निवेदनमाथि १५औँ दिनको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता खरेलले विघटन संविधानसम्मत भएको दाबी गरेका हुन् । 

महान्यायाधिवक्ता खरेलले ०५१ सालमा पनि बहुमतको सरकार हुँदाहुँदै विघटन गर्नुपरेको स्मरण गराउँदै वर्तमान सरकारले पनि पाँच वर्षको कार्यकालका लागि निर्वाचन भए पनि कार्यकाल पूरा गर्न नपाउँदा निर्वाचनमा जानुपरेको स्पष्ट गरे । सरकारका प्रमुख कानुनी सल्लाहकारले जनमतको सौदाबाजी गर्नुभन्दा पुनः जनमतमै जानु न्यायोचित हुने ठहर गरिएको बताए । 

पहिलो र दोस्रोपटकको प्रतिनिधिसभा विघटन पनि मन्त्रिपरिषद्को निर्णयबाटै भएको स्मरण गराउँदै उनले अहिले पनि मन्त्रिपरिषद्कै निर्णयबाट विघटन भएको बताए । ‘रिट निवेदनमा राष्ट्रपतिको भूमिका असंवैधानिक भएको भन्ने प्रश्न उठाइए पनि जनतामा जाने राष्ट्रपति नभई प्रधानमन्त्री नै हो,’ उनले भने, ‘विघटन भएको प्रतिनिधिसभा फेरि ब्यँुतिने अवस्था छैन, प्रतिनिधिसभा मरेको नभई निर्वाचनमा जान मात्र विघटन गरिएको हो ।’

उनले बनेको सरकारलाई काम गर्न नदिई प्रधानमन्त्रीको खुट्टा बाँधिदिएपछि कसरी काम गर्ने भन्ने प्रश्न गर्दै यस्तो अवस्थामा विघटनको विकल्प नभएको तर्क गरे । रिट निवेदकका तर्फबाट आइतबार बहस सकिएपछि सोमबारदेखि सरकारी पक्षबाट बहस सुुरु भएसँगै महान्यायाधिवक्ता खरेलले बहस सुरु गरेका थिए । 

सोमबार दिनभरि बहस गरेर नसकिएपछि उनको बहसलाई मंगलबार पनि निरन्तरता दिइएको थियोे । महान्यायाधिवक्ता खरेलको बहस सकिएको छ भने सरकारी पक्षकै तर्फबाट सहन्यायाधिवक्ता पदमप्रसाद पाण्डेले बहस थालेका छन् ।