मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ माघ १४ बुधबार ०८:४२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

तानसेन नगरपालिकाले सडक उपयोगको नाममा मनोमानी शुल्क लिन थालेपछि गुल्मीका व्यवसायी आन्दोलित

Read Time : > 1 मिनेट
२०७७ माघ १४ बुधबार ०८:४२:००

कुनै पनि राजमार्ग तथा सहायक राजमार्गमा सडक उपयोगको नाममा कुनै शुल्क लिन नपाउने कानुनी व्यवस्था छ । तर, पाल्पाको तानसेन नगरपालिकाले स्थानीय पूर्वाधार सडक उपयोगको नाममा मनोमानी शुल्क लिइरहेको छ । पाल्पाको बतासे र होलाङ्दीमा नगरपालिकाले केही समयदेखि शुल्क उठाउँदै आएको छ । 

गुल्मी र पश्चिम बाग्लुङ जाने निजी तथा सार्वजनिक सवारीका साधनसँग नगरपालिकाले धमाधम शुल्क उठाउन थालेपछि गुल्मीका व्यवसायी आन्दोलित भएका छन् । सोही विषयलाई लिएर मंगलबार गुल्मी उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मामार्फत पाल्पाका प्रमुख जिल्ला अधिकारी र तानसेन नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । 

तानसेन नगरले आफ्नो स्वार्थमा ऐन–कानुनविपरीत सयाैँ सवारीसाधनसँग लिएको शुल्क तत्काल बन्द गर्न वाणिज्य संघले माग गरेको छ । नगरको मनोमानी तत्काल बन्द नगरे शुल्कको अवज्ञा गर्नुका साथै पाल्पा नै पुगेर आन्दोलन गर्ने गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए । ‘यो पाल्पाले गुल्मेलीलाई हेपेको पहिलो उदाहरण होइन,’ भलामीले भने, ‘पाल्पा प्रशासन र तानसेन नगरको ध्यानाकर्षण नभए सशक्त आन्दोलन गर्छौँ ।’ 

गुल्मीबाट पाल्पा हुँदै दैनिक सयौँ गाडी आवतजावत गर्छन् । हलुका २० र हेभी सवारीसाधनबाट तानसेन नगरपालिकाले ४० रुपैयाँ उठाउन एकतर्फी उठाएको उद्योग वाणिज्य संघका महासचिव तारा भुसालले बताए । दैनिक आउजाउ गर्ने हलुकाले ४० र हेभी सवारी साधनले ८० बुझाउने गरेका छन् । ‘तानसेनले जस्तै प्रत्येक स्थानीय तहले शुल्क उठाए काठमाडाैं पुग्ने सवारीले के कमाउँछ,’ भुसालले भने, ‘ब्रह्मलुट तत्काल बन्द होस् ।’ 

गुल्मीको रुरु क्षेत्र गाउँपालिकासँग तानसेनको सीमा पर्छ । बुटवलतर्फ तिनाउ गाउँपालिका छ । बरतुङबाट स्याङ्जा, कास्की, पर्वत र बाग्लुङ जाने अर्को राजमार्ग छ । तर, तानसेन नगरपालिकाले गुल्मी र पश्चिम बाग्लुङका नागरिकलाई हेपेर बतासे र होलाङ्दीमा मात्र स्टेसन राखेर कर उठाउँदै आएको महासचिव भुसालले बताए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विधि र परिधि मिचेर कर ल्याउन नपाइने भएकाले पाल्पा प्रशासनसँग समन्वय गरेर समस्या समाधानको पहल गर्ने बताइन् ।