मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १२ सोमबार ०५:५२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भारतबाट खोप खरिद प्रक्रिया अझै टुंगिएन

भारतबाट थप अनुदान नआए एक करोड डोजभन्दा बढी खोप खरिद गर्ने तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १२ सोमबार ०५:५२:००

भारतबाट कोभिडविरुद्धका १० लाख डोज खोप अनुदानमा आए पनि खोप खरिद प्रक्रिया अझै टुंगिएको छैन । सरकारले भारतबाट एक करोड डोज खोप खरिद गर्ने तयारी गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी एस. जयशंकरलाई पठाएको पत्रअनुसार नेपालले ६० लाख नागरिकलाई पुग्ने गरी एक करोड २० लाख डोज खोप भारतबाट ल्याउनेछ । भारतबाट थप १० लाख डोज खोप अनुदानमा प्राप्त हुने अपेक्षा नेपालको छ । 

भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको खोप खरिदका लागि नेपालले पहल थालेकोे छ । चीन, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स र रुससँग भने अनुदानमा खोप मागेको छ । स्वास्थ्य सेवा विभागले खरिदको अन्तिम निर्णय लिने गरि परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासलाई भारत सरकार र सेरम इन्डियासँग समन्वय गर्न निर्देशन दिएको छ ।

दूतावास स्रोतका अनुसार तीन सय पचासदेखि चार सय भारतीय रुपैयाँ प्रतिडोजका दरले नेपाललाई औषधि बिक्री गर्न सिरम इन्डिया तयार भएको छ । नेपाल आपूर्तिका लागि ढुवानीमा सहजीकरण गरिदिने भारत सरकारको प्रतिबद्धता आएको छ । सेरम इन्डियाका प्रतिनिधि र नेपाली दूतावासका अधिकारीहरूबीच दिल्लीमा पटकपटक खोप खरिदबारे छलफल भएको छ । 

जिटुजी खरिद नहुने
नेपालले सुरुमा भारतसँग जिटुजी प्रक्रियामार्फत खोप खरिदका लागि प्रयास गरेको थियो । त्यसका लागि सम्झौताको मस्यौदासमेत तयार गरेको थियो । तर, भारतले खोप उत्पादक सरकारी कम्पनी नभएको भन्दै जिटुजी प्रक्रियामा जान नसकिने जवाफ पठाएपछि सीधै सेरम इन्डियासँग किन्ने गरि छलफल भइरहेको छ । 

भारत आफैँले पनि उत्पादक कम्पनीसँग खोप खरिद गरेको जानकारी नेपाललाई दिएको छ । भारतले सेरम इन्डियासँग किनेर नेपालसहितका छिमेकी मुलुकलाई खोप पठाएको जानकार एक कूटनीतिक अधिकारीले बताए । नेपाली अधिकारीहरूका अनुसार भारतले आफूले खरिद गरेको मूल्यमै नेपाललाई पनि खोप दिलाइदिने आश्वासन दिएको छ । 

‘भारत सरकारले खरिद गरेको मूल्यदर, गुणस्तर र खोपको मात्रा कायम हुने गरि नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेपछि हामी विश्वस्त भयौँ,’ एक सरकारी अधिकारीले भने, ‘अहिले भारतले इमर्जेन्सी युज अथोराइजेसन मात्रै अनुमति दिएको हुनाले मूल्य पनि त्यहीअनुसार हुन्छ भन्ने जवाफ आएको छ । पछि जनरल युज अथोराइजेसन पनि दिइने र त्यसवेला बजार मूल्यमा खरिद गर्नुपर्ने अवस्था आउन सक्छ भन्ने उहाँहरूको भनाइ आएको छ ।’ 

स्रोतका अनुसार सेरम इन्स्टिच्युटबाट पनि सुलभ मूल्यमा खोप दिने प्रतिबद्धता आएको छ । सरकारले खोप खरिदका लागि गठन गरेको परराष्ट्रसचिव भरतराज पौड्याल, स्वास्थ्यसचिव लक्ष्मण अर्याल तथा अर्थसचिव शिशिर ढुंगाना रहेको कार्यदलले यसबारे छलफल गरिरहेको छ ।  

औषधि व्यवस्था विभागले खरिदका लागि समन्वय गरिरहेको छ । थप खोप अनुदानको आस नेपालले तीन प्रतिशत जनताका लागि अनुदानमा खोप उपलब्ध गराउन भारतलाई आग्रह गरेको थियो । भारतले चरणबद्ध रूपमा यसमा निर्णय गरिने जवाफ दिएको कूटनीतिक स्रोतले बताएको छ  ।

नेपालले अब थप १० लाख डोज खोपको अपेक्षा राखेको छ । स्रोतका अनुसार भारतले पनि चरणबद्ध रूपमा खोप उपलब्ध गराउने संकेत गरेको छ । ‘खोप उपलब्ध गराउने संकेत आएको छ, तर पहिला पठाएको १० लाख डोजको उपयोग कसरी हुन्छ, आमरूपमा खोप लगाउने रुचि कसरी प्रकट हुन्छ, त्यस आधारमा उसले अनुदान कति दिन्छ, हामीले कति किन्छौँ भन्नेबारेमा स्पष्ट तस्बिर आउँछ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘भारतबाट थप १० लाख डोज खोप आउनेमा हामी विश्वस्त छौँ । तर, अनुदानमा आएन भने हामी खरिद प्रक्रिया अघि बढाउँछौँ ।’

भारतले स्वास्थ्य सेवा प्रदायक, अग्रपंक्तिमा कार्यरत मजदुर, सबैभन्दा कमजोर तप्काहरूलाई चरणबद्ध तरिकाले खोप उपलब्ध गराउने भनेको छ । नेपालले स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मीलाई खोपमा प्राथमिकता दिने बताएको छ । 
भारतले भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार, मोरिसस, श्रीलंका र सेसेल्सलाई पनि अनुदानमा खोप पठाइसकेको छ ।