मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ७ बुधबार १६:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चालक परिवर्तन गरेको मुद्दामा इन्स्पेक्टरसहित चार प्रहरीलाई सफाइ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ७ बुधबार १६:१५:००

दुर्घटनाका चालक परिवर्तन गरेको अभियोग लागेका नेपाल प्रहरीका इन्स्पेक्टर लोकबहादुर जिसीसहित चार प्रहरीले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्षसमेत रहेका न्यायाधीश प्रेमराज कार्कीसहित न्यायाधीहरू नित्यानन्द पाण्डेय र चन्द्रबहादुर सारूको इजलासले आइतबार इन्स्पेक्टरसहित सबैलाई सफाइ दिएको हो । 

डेढ वर्षअघि इलाका प्रहरी कार्यालय, गैँडाकोटका तत्कालीन प्रहरी निरीक्षक लोकबहादुर जिसीको निर्देशनमा दुर्घटनाका चालक परिवर्तन गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा चलाएको थियो । यसमा १० लाख रुपैयाँको आर्थिक चलखेल रहेको दाबी गरिएको थियो । 

दुर्घटनामा बोधराज पाण्डे वास्तविक चालक रहेकोमा किसुना महतोलाई खडा गरी मुद्दा चलाइएको अभियोगमा इन्स्पेक्टर केसीसहित अपराध अनुसन्धान शाखाका प्रहरी नायव निरीक्षक दामोदर भट्टराई, प्रहरी सहायक निरीक्षक देवबहादुर थापा र सडक दुर्घटना प्रतिवेदन तयार पार्ने प्रहरी हवल्दार बलबहादुर वलीविरुद्ध मुद्दा दायर भएको थियो । उनीहरू सबैले सफाइ पाएका छन् । 

गाडीको ठक्करबाट नन्दकली शर्माको उपचारको क्रममा मृत्यु भएको थियो । व्यवसायी रहेका चालक पाण्डेलाई जोगाउन महतोलाई चालकको रूपमा खडा गरिएको पाइएपछि प्रहरीले समेत आन्तरिक छानबिन गरी इन्स्पेक्टर जिसीलगायतलाई निलम्बन गरेको थियो । पछि अख्तियारले छुट्टै मुद्दा चलायो । 

चालक परिवर्तन घटनाको योजना बोधराज पाण्डेका भाइ शालिकराम पाण्डे भएको भन्दै आयोगले उनलाई समेत मुद्दा दायर गरेको थियो । चार प्रहरी र तीन सर्वसाधारणले मुद्दामा सफाइ पाएका हुन् । 

 त्यतिवेला प्रहरी कार्यालयको सिसिटिभी फुटेज, विभिन्न व्यक्तिको बयानका आधारमा आयोगले मुद्दा चलाएको थियो । घटनास्थलको वेला महतो आफ्नै घरमा देखिएको आयोगको अभियोगमा उल्लेख थियो । तर, विशेष दाबी नपुगेको भन्दै सफाइ दिएको छ ।