मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ माघ ४ आइतबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७७ माघ ४ आइतबार o६:२१:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

वकिलहरूलाई प्रधानमन्त्रीको प्रश्न - मन्त्रिपरिषद्ले निर्णय गर्दा संविधान र कानुन उल्लेख गर्नुपर्छ भन्ने कहाँ लेखेको छ ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ माघ ४ आइतबार o६:२१:oo

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्रीको सिफारिस भिन्दाभिन्दै हो भन्ने जानकारी पनि नहुनेले संसद् विघटनसम्बन्धी मुद्दामा बहस गरेको भन्दै कटाक्ष गरेका छन् । उनीहरूले कस्तो संविधान र कानुन पढेर संसद् विघटनको विपक्षमा बहस गरेका छन् भन्दै प्रधानमन्त्रीले प्रश्न उठाएका छन् ।

शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को निर्णय संविधान र कानुनको कुन आधारअनुसार हुनुपर्छ भनेर लेखिएको छ भन्दै देखाइदिन चुनौतीसमेत दिएका छन् । ‘मन्त्रिपरिषद्ले निर्णय गर्दा संविधान र कानुनको धारा खुलाएर निर्णय गर्नुपर्छ भन्ने कुरा संविधानको कुन धारा र नियमावलीमा छ ? त्यति त बहस गर्न जान्ने (वकिल)लाई थाहा हुनुपर्ने हो । उहाँहरूको जस्तो ३ बजे अविश्वास दर्ता गराएर बिहान १०.३० बजे लेखाउन लुकेर किर्ते सनाखत गरेर चल्ने हाम्रो चलन छैन । हामीले मन्त्रिपरिषद्को निर्णय गर्दा नेपालको संविधानबमोजिम प्रतिनिधिसभा विघटन गर्ने र निर्वाचनमा जाने निर्णय गर्‍यौँ,’ ओलीले भने । 

सर्वोच्च अदालतको शुक्रबारको संवैधानिक इजलासमा विघटनको विपक्षमा बहस गर्ने वकिलहरूले मन्त्रिपरिषद्को निर्णयको सक्कल कपीमा विघटनबारे संविधानको धारा नै उल्लेख नभएको, तर राष्ट्रपतिबाट सार्वजनिक विघटन सदर गर्ने निर्णयमा भने संविधानको धारा उल्लेख भएको भन्दै प्रश्न उठाएका थिए ।

ओलीले संवैधानिक इजलास हेर्ने न्यायाधीशलाई प्रधानमन्त्रीले बालुवाटारमा भेटेको सूचना प्रमाणित गरेर देखाउन चुनौती दिए । ‘योभन्दा झुट, बढी ठूलो बेइमानी के हुन्छ ? न्यायप्रणालीमाथि जनताको विश्वास हटाउनका लागि, न्यायप्रणालीमाथिको यो गम्भीर प्रहार भन्दा घिनलाग्दो के हुन्छ ?’ ओलीको प्रश्न थियो ।

योगेश भट्टराईलाई लक्षित गर्दै ओलीको टिप्पणी : बैगुनी केटाले पुक्क लात्ताले हानेर भाग्यो 

प्रधानमन्त्री ओलीले नेपाल–प्रचण्ड समूहमा लागेका स्थायी समिति सदस्य योगेश भट्टराईलाई लक्षित गर्दै आफूले जनतासँगको वाचाअनुसार मन्त्री बनाए पनि धोका दिएको बताए । ‘बैगुनी केटाकेटीको बारेमा धेरै कुरा गर्न चाहन्न, हाम्रै प्रदेशमा पनि त्यस्ता देखिएका छन् । दौडीदौडी गएर, भोट मागेर, यो केटालाई जिताएर पठाउनुस्, मन्त्री बनाएर पठाइदिन्छु भनेर मन्त्री बनाइयो । एक दिन त पुक्क लात्ताले हानेर भाग्यो, को भन्दा त उही केटो,’ ओलीले भने । 

भट्टराईको जवाफ– तपाईंको स्तर थाहा पाएँ, खुसी लाग्यो

प्रधानमन्त्री ओलीको कटाक्षपछि शनिबार राति भट्टराईले सोसल मिडियामार्फत प्रतिक्रिया जनाएका छन् । भट्टराईले लेखेका छन्, ‘केटा र केटीहरूको रगत, पसिना र मिहिनेतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सी प्राप्त गर्नुभएको हो । केटो भनिपाउँदा मलाई दुःख छैन । तपाईंको स्तर थाहा पाएँ, खुसी लाग्यो ।’