१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ माघ ३ शनिबार १८:००:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अब संस्कृत विश्वविद्यालयमा वैदिक कृषि र इन्जिनियरिङको पढाइ

Read Time : > 1 मिनेट
२०७७ माघ ३ शनिबार १८:००:००

नेपाल संस्कृत विश्वविद्यालयले वैदिक कृषि तथा वास्तु इन्जिनियरिङका कक्षा सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई आकर्षित गर्न परम्परागत ज्ञानलाई आधुनिकतासँग जोडेर स्नातक (शास्त्री) तहमा कृषि र इन्जिनियरिङलगायतका कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

संस्कृत विश्वविद्यालय सभाले स्नातक तहमा वैदिक कृषि, वास्तु इन्जिनियरिङ, योग तथा प्राकृतिक चिकित्साको पढाइ गर्ने निर्णय गरी प्रक्रिया अघि बढाएको हो । यससँगै औषधि उत्पादन विज्ञानमा पनि कार्यक्रम सञ्चालनको तयारी गरेको विश्वविद्यालयले जनाएको छ । जुनसुकै विधाबाट आएका विद्यार्थीलाई पनि उपयुक्त हुने गरी जीवनशैली व्यवस्थापन विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. यादवप्रकाश लामिछानेले बताए । ‘विषयको प्रारूप तयार भएको छ, कोर्स तयार गरी कार्यान्वयन गर्छौँ,’ उपकुलपति प्रा. लामिछानेले भने ।

वेदमा उल्लेख भएका विषयवस्तुका आधारमा आधुनिक कृषिलाई जोडेर कोर्स डिजाइन हुने उनले बताए । पहिलेदेखिको ज्ञानलाई आधुनिक शिक्षासँग जोडेर अध्यापन गराउने लक्ष्य रहेको उनको भनाइ छ । अहिले संस्कृति विश्वविद्यालयमा विद्यार्थी घट्दै गएका छन् । विद्यार्थी आकर्षित गर्ने गरी नयाँ कार्यक्रम सञ्चालन गर्न केही विषयको ड्राफ्ट गरिएको छ । 

२२ वर्षपछि कोर्स परिमार्जन
नेपाल संस्कृत विश्वविद्यालयले स्नातक तहमा २२ वर्षपछि पाठ्यक्रम परिमार्जन गरेको छ । अब स्नातक तह (शास्त्री)मा भर्ना हुने विद्यार्थीले नयाँ कोर्स अध्ययन गर्न पाउनेछन् । शास्त्रीका ५६ विषयमा कोर्स परिमार्जन गरेको उपकुलपति प्रा. लामिछानेले बताए । ‘अधिकांश विषयको नयाँ कोर्स तयार भयो, केही विषयका हुँदै छन्,’ उनले भने, ‘नयाँ विषयवस्तुलाई समेटेर संस्कृत विषयलाई पनि व्यावसायिक बनाउन खोजेका छौँ ।’ 

अहिले कतिपयले संस्कृत विषय पढे पनि व्यावहारिक नहुँदा आकर्षण घट्दै गएको छ । अब व्यावहारिक बनाउन लागेको उपकुलपति लामिछानेले बताए । स्नातक तहमा अध्ययन गर्ने विद्यार्थी संख्या तीन हजार ६ सयको हाराहारीमा छ । विश्वविद्यालयबाट कक्षा ११ र १२ सरहको (पूर्वमध्यमा) कार्यक्रम खारेज गरेपछि विद्यार्थी संख्या घट्दै गएको छ । यही वर्षदेखि नयाँ कोर्स पढाउने गरी काम भइरहेको जनाएको छ । कक्षा १२ को नतिजा सार्वजनिक भएपछि भर्ना प्रक्रिया पनि सुरु हुनेछ । 

प्राकृतिकदेखि आधुनिक उपचार गर्ने एकीकृत अस्पताल बन्ने
संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको दाङमा दुई सय शय्याको एकीकृत अस्पताल बन्ने भएको छ । प्राकृतिक र आधुनिक पद्धतिका सबै सेवा एकै ठाउँमा उपलब्ध गराउने लक्ष्यसहित अस्पताल बनाउने निर्णय भएको विश्वविद्यालयले जनाएको छ । अस्पताल निर्माणका लागि विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी ओलीले नियमित रूपमा बजेटको व्यवस्था प्राप्त हुने गरी व्यवस्थापन गरेका छन् । 

एकीकृत अस्पतालमा आयुर्वेद, युनानी, प्राकृतिक चिकित्सा, एलोपेथी गरी चार पद्धतिबाट उपचार हुने जनाइएको छ । उपकुलपति लामिछानेले अस्पताल निर्माणका लागि प्रक्रिया सुरु भइसकेको बताए । भवन निर्माणका लागि सरकारबाट प्रत्येक वर्ष रकम निकासा हुने गरी प्रक्रिया अघि बढेको उनको भनाइ छ ।