१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

न्यायालयविरुद्ध भ्रम नफैलाउन सर्वाेच्चको चेतावनी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:३९:oo

अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशंका र भ्रम सिर्जना गरी सञ्चारमाध्यममा समाचार आएको भन्दै सर्वाेच्च अदालतले सचेत गराएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै सर्वाेच्चले यसप्रकारका कार्यहरू स्वयं पत्रकार आचारसंहिता तथा कानुनप्रतिकूल हुने हुँदा सचेत हुन ध्यानाकर्षण गराएको हो । 

‘न्यायपालिकाको स्वच्छन्दता र अदालतप्रतिको जनआस्थामा प्रतिकूल प्रभाव पर्ने गरी मिथ्यापूर्ण भ्रामक, अतिरञ्जित, असत्य, कपोलकल्पित समाचार सम्प्रेषण हुनु दुःखद र खेदजनक हो,’ सहप्रवक्ता देवेन्द्र ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशंका र भ्रम सिर्जना गर्ने कुत्सित मनसाय राखी सत्य, तथ्य र यथार्थ अवस्था बुझ्दै नबुझी समाचार सामग्री प्रकाशन गर्ने कार्यबाट न्यायपालिकाप्रतिको विश्वसनीयता र आमनागरिकको यसप्रतिको आस्थामा खलल पुग्न जाने तथा त्यसप्रकारको कार्यबाट सम्पूर्ण प्रेस जगत्प्रतिको विश्वसनीयतामा समेत आँच आउन सक्ने अवस्था रहन्छ ।’ 

सर्वाेच्चका न्यायाधीशहरूले प्रधानमन्त्री केपी ओलीलाई भेटेका समाचार आएपछि सर्वाेच्चले त्यसको खण्डन गर्दै त्यस्ता कार्य कानुनविपरीत समेत हुने भन्दै सचेत गराएको हो । 

न्यायाधीश दीपक कार्कीले आफूले कसैलाई भेटेको कुरा प्रमाणित गर्न चुनौती दिएका छन् । नयाँ पत्रिकासँगको कुराकानीमा उनले आफूले भेटेको पुष्टि गरे न्यायाधीश पदबाट राजीनामा दिने चुनौती दिए । 

न्यायाधीश दीपककुमार कार्की भन्छन्– भेटेको पुष्टि गरे न्यायाधीशको जागिर छाडिदिन्छौँ 
यो शतप्रतिशत गलत कुरा हो । यस विषयमा हामीले खण्डन पनि गरिसकेका छौँ । म त चुनौती नै दिन चाहन्छु, भेट्न गएको कुरा प्रमाणित हुन्छ भने न्यायाधीशको जागिर छाडिदिन्छौँ । हामी क्यारिअर जज हौँ, ४०औँ वर्षको इतिहास छ, यत्रो वर्ष इमेज बनाएर बसेका छौँ । यस्तो अवस्थामा प्रधानमन्त्रीलाई भेट्न गयो भनेर अफवाह फैलाउँदा मन साह्रै खल्लो भएको छ । प्रधानमन्त्री त मुद्दाको पक्ष हो नि, उहाँलाई गएर भेट्ने कुरा त कल्पनासमेत गर्न सक्दैनौँ । यस्ता झुटा कुराले न्यायपालिका र न्यायाधीशमाथि असर पर्छ ।