
अधिनायकवादी सत्ताको स्थायित्व सुरक्षा बलको निष्ठामाथि निर्भर हुन्छ भन्ने सर्वमान्य तथ्यलाई राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस फर्किएपछि गम्भीरतापूर्वक लिएका छन् । उनका रक्षामन्त्री पिट हेगसेथले नियुक्तिपछि शीर्ष सैन्य अधिकारीलाई बर्खास्त गरे र चारतारे जर्नेलमा २० प्रतिशत र तल्लो तहमा १० प्रतिशत कटौतीको आदेश दिएका थिए । तर, ट्रम्पको सेनाबारेको दृष्टिकोण सबैभन्दा प्रस्ट रूपमा उनले एक कन्फेडरेट जेनरल (हालको अमेरिका बन्नुपूर्वका अमेरिकी राज्यका जेनरल) का नाममा रहेको सैन्य अड्डामा दिएको भाषणबाट देखिन्छ ।
सो भाषणमा उनले न आजको विश्व, न चीन वा युक्रेनबारे केही बोले, न त संविधानका मौलिक अधिकार वा लोकतन्त्रको चर्चा गरे । बरु उनले सैन्य इतिहासलाई आफ्नो व्यक्तिपूजाको औजार बनाए, वीरता र बलिदानलाई आफ्नै सत्ताको औचित्य साबित गर्न प्रयोग गरे । सैन्य गौरवलाई यस्तो तमासामा रूपान्तरण गरियो, जहाँ नेताले जे अर्थ चाह्यो, त्यही थोपर्ने अधिकार राख्थे । यही फासीवादी सिद्धान्तलाई ट्रम्पले राम्ररी बुझेका छन् । अर्थात्, राजनीति त्यस्तो संघर्ष हो, जसले शत्रु परिभाषित गर्छ र सत्तामा टिकिरहन्छ । इतिहासका फासीवादीसँग बाह्य र आन्तरिक दुस्मन हुन्थे तर ट्रम्पका लागि दुस्मन केवल अमेरिकाभित्र छन् । त्यसैले, उनले इजरायल–इरान आक्रमणपछि छिट्टै ‘विजय’ र युद्धविराम घोषणा गरे । विश्व उनका लागि ठुलो छ र सेना अमेरिकीलाई नियन्त्रण गर्नका निम्ति हो ।
सन् २०२५ मा अवैध आप्रवासीलाई पक्राउ गर्ने कार्यलाई ट्रम्पले अघिल्ला युद्धवीरसँग तुलना गरेर सेनालाई आफ्नै नागरिकमाथि गरिने कारबाहीलाई ‘वीरता’ मान्न सिकाउने प्रयास गरे । बंकरमा हाम्फाल्नु र निहत्था नागरिकलाई डर देखाउनु फरक हो । वास्तवमा ट्रम्पको उद्देश्य सेनालाई घरेलु दमनको औजार बनाउनु हो । उनको भाषणमा उनले आफूलाई राष्ट्रपतिभन्दा माथि प्रस्तुत गरे । उनले पूर्वराष्ट्रपति बाइडेनको समेत मजाक उडाए र सेनालाई संविधान नभई व्यक्तिप्रति निष्ठावान् बन्न प्रेरित गरे । यस्तो दृष्टिकोण चुनाव नभई ट्रम्पको व्यक्तिगत करिस्मा वा ‘दैवी अधिकार’मा आधारित देखिन्छ । उनी ट्रम्प हुन् र अमेरिकी सेनाले उनलाई मान्नुको कारण केवल यति नै हो ।
धेरै अमेरिकीहरू सेना रक्षाका लागि हो न कि आक्रमणका लागि भन्नेमा विश्वास गर्छन् । तर, ट्रम्पले सेनालाई आफ्नै नागरिक र पत्रकारको उपहास गर्न उक्साएका छन् र समाज वा कानुनको कुनै अर्थ छैन भन्ने सिकाएका छन् । उनले आफू मात्र महत्वपूर्ण भएको सन्देश दिन ‘हामी तपाईंहरूको तलबवृद्धि गरिरहेका छौँ भने जुन वास्तवमा तानाशाही शैली हो । अमेरिकामा अहिले विकृतिले भरिएको सत्ता परिवर्तनको प्रयास भइरहेको छ । यसमा ऐतिहासिक पक्ष छ, अर्थात् रोबर्ट इ लीजस्ता दासप्रथा जोगाउनुपर्छ भन्ने गद्दारको जयगान छ । यति मात्रै होइन, यसमा फासीवादी पक्ष छ, जहाँ नेतृत्वलाई सबै छुट हुन्छ । यसबाहेक यसमा संस्थागत पक्ष छ, जहाँ सेनालाई लोकतन्त्रको पतन गराउने औजार बनाउनुरहेको छ, जसले अमेरिकाभित्रै ‘शत्रु’लाई दमन गर्नेछ । कन्फिडिरेट समारोहमा ट्रम्पले आप्रवासनलाई ‘अतिक्रमण’ भन्नु आफ्ना नीतिलाई विदेशी युद्धसरह देखाउने रणनीति हो, जसको उद्देश्य सेनाको भूमिका परिवर्तन गर्नु हो । यस्तो दृष्टिकोणले असहमत नागरिकलाई दुस्मनका रूपमा चित्रित गर्छ । ट्रम्पले क्यालिफोर्नियाका निर्वाचित नेतालाई ‘अपराधीका साझेदार’ भनेका थिए ।
अमेरिकी सेना विविध र समावेशी संरचना भएको संस्था हो । अमेरिकी सेना विशेषत: अफ्रिकन–अमेरिकी र गैरनागरिकमाथि निर्भर छ । यसलाई नेतापूजामा बदल्ने वा आप्रवासीमाथि दमनको औजार बनाउने प्रयासले सैनिकभित्र मतभेद निम्त्याउनेछ र यदि सेना आफ्नै नागरिकविरुद्ध प्रयोग भयो भने यसको प्रतिष्ठामा गम्भीर चोट पुग्नेछ । त्यसमाथि विदेशी उक्साहटको जोखिम पनि रहन्छ । ट्रम्प यस्ता अवस्थाको फाइदा उठाउन चाहन्छन् । उनी सेना आफ्नो निजी अर्धसैनिक शक्तिजस्तो बनाउने, इतिहासका लाजमर्दा क्षणलाई गौरवमा बदल्ने र गणतन्त्रलाई यस्तो फासीवादी शासनमा रूपान्तरण गर्ने चाहनामा छन्, जहाँ उनको इच्छा नै अन्तिम कानुन होस् ।
प्रश्न उठ्छ, अमेरिकी सेना वास्तवमा के चाहन्छ ? ट्रम्पको सम्बोधन एक योजनाबद्ध कार्यक्रम थियो, जहाँ सहभागीलाई उनीहरूको राजनीतिक विचारधारा र शारीरिक हाउभाउका आधारमा छानिएको थियो । यद्यपि, चार दिनपछि वासिंटनमा सेनाको दुई सय ५०औँ वार्षिकोत्सव र ट्रम्पको जन्मदिनमा आयोजित सैनिक परेडलाई धेरैले असफल प्रयासका रूपमा व्याख्या गरेका थिए । करिब ६ हजार ६ सय सैनिक लडाइँ पोसाकमा सहभागी भए पनि उनीहरू मार्च पास नगरी सामान्य रूपमा हिँडेका थिए र दर्शकसंख्या पनि अत्यन्त न्यून थियो । सैन्य गौरवको तमासाका हिसाबले हेर्दा त्यो न प्योङयाङजस्तो थियो, न त रेड स्क्वायरजस्तो ।
म त्यहाँ थिइनँ । तर, म ती कम्तीमा ४० लाखमध्ये एक थिएँ, जो त्यसै दिन अमेरिकाभरिका झन्डै दुई हजार एक सय सहरमा आयोजित ‘नो किङ्स’ नामक ट्रम्पविरोधी प्रदर्शनमा सहभागी थिए । त्यो अमेरिकी इतिहासकै सबैभन्दा ठुलो एकदिने राजनीतिक विरोध प्रदर्शन थियो, जसले ट्रम्पको परेडलाई सहभागिताको दृष्टिले धेरै माथि उचालेको थियो । र, यसले लोकतन्त्र केवल त्यहीँ रहन्छ, जहाँ जनता हुन्छन् भन्ने प्रमाणित गर्यो । वास्तवमा जनता केवल त्यतिवेला अस्तित्वमा आउँछन्, जब व्यक्ति एक–अर्काको अस्तित्वप्रति सजग हुन्छन् र सामूहिक रूपमा केही गर्ने आवश्यकतालाई महसुस गर्छन् । यही सामूहिक चेतना ट्रम्पको सबैभन्दा ठुलो चुनौती हो ।
(स्नाइडर अमेरिकी इतिहासकार एवं लेखक हुन्)
प्रोजेक्ट सिन्डिकेटबाट