मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १ बिहीबार ०८:२९:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

कांग्रेसको सिन्धुपाल्चोक, सप्तरी र बारामा विवाद : संगठनात्मक संरचना बनाउनै कठिन 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १ बिहीबार ०८:२९:००

सभापति शेरबहादुर देउवा पार्टीको खेलकुद विभागले गरेको फुटबल प्रतियोगिताको समापन गर्न मंगलबार सिन्धुपाल्चोकको बाह्रबिसे पुगे । तर, केन्द्रीय सभापति सहभागी कार्यक्रममा पौडेल समूहका नेता–कार्यकर्ता सहभागी भएनन् ।

केन्द्रीय सदस्य तथा खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतले आफ्नी आमा कोमलमाया र खड्गबहादुर बस्नेतको स्मृतिमा प्रतियोगिता गरेका हुन् । बस्नेतकै आमन्त्रणमा देउवा बाह्रबिसे पुगेका थिए । तर, कार्यक्रममा जिल्ला सभापति विकास लामा र उनीपक्षीय नेता–कार्यकर्ता सहभागी थिएनन् । लामा संस्थापनइतर समूहसँग नजिक छन् । 

जिल्लामा केन्द्रका गुटको प्रभाव यो तहसम्म छ कि मेलमिलाप दिवसदेखि बिपी स्मृति दिवससम्मका कार्यक्रम गुटगत रूपमा छुट्टा–छुट्टै हुन्छन् । स्थानीय तहमा दुई गुटले आ–आफ्नै सभापति बनाएर दाबी गरिरहेका छन् । केन्द्रीय समितिले जिल्लालाई गर्न भनेका कार्यक्रम पनि दुई गुटका नेता–कार्यकर्ताले छुट्टाछुट्टै गर्छन् ।

२९ मंसिरमा जिल्ला कार्यसमितिले गर्न भनेको सरकारविरुद्धको आन्दोलन दुई ठाउँमा भएको थियो । १३औँ महाधिवेशनयता जिल्लाको विवाद निरन्तर छ । तर, सभापति देउवा आफैँ सिन्धुपाल्चोक पुगेका वेलासमेत जिल्लाको झगडा मिलाउन प्रयत्न गरेनन् । कार्यकर्तासँग छलफल गरेनन् ।

‘सभापतिज्यू आउनुभएछ, हामीलाई थाहै भएन,’ तरुण दलका जिल्ला अध्यक्ष दोर्जे लामा भन्छन्, ‘कार्यक्रम रहेछ, कार्यक्रमस्थल पनि हाम्रोनजिकै हो, तर, खबरै भएन, त्यसैले गएनौँ पनि ।’ 

जिल्ला अधिवेशनमा बस्नेतले आफूनिकट उम्मेदवारलाई जिताउन बल गरेका थिए । तर, आफ्नो उम्मेदवार पराजित भएपछि उनी निर्वाचित जिल्ला सभापति लामालाई स्विकार्दैनन् । त्यसयता निरन्तर विवाद छ । त्यही विवाद अहिले समायोजनका क्रममा थप उत्कर्षमा पुगेको छ । 

बस्नेतको निर्वाचन क्षेत्र १ नम्बर हो । जहाँ बाह्रबिसे नगरपालिका, भोटेकोसी, त्रिपुरासुन्दरी, लिसंखुपाखर, सुनकोसी, बलेफी र जुगल गाउँपालिका पर्छन् । लामा क्षेत्र २ का हुन् । जहाँ मेलम्ची र चौतारा नगरपालिका, इन्द्रायणी, पाँचपोखरी थाङ्पाल र हेलम्बु गाउँपालिका छन् । जिल्ला कार्यसमितिमा लामाको बहुमत छ । तर, लामा र बस्नेतका क्षेत्रीय समिति आ–आफ्नै कब्जामा छन् ।

स्थानीय तहमा पनि आ–आफ्नै कब्जा बनाउने दाउ दुवैको छ । बस्नेतको गृहनगर बाह्रबिसेमा लामा पार्टीको निर्देशिकाबमोजिम भक्तबहादुर बस्नेतलाई नगर सभापति बनाएको बताउँछन् । तर, बस्नेतले उनलाई स्विकारेका छैनन् । त्रिपुरासुन्दरी गाउँपालिकामा पनि उस्तै विवाद छ । त्यहाँ बस्नेतले पूर्व जिल्ला सचिवका उम्मेदवार भक्तध्वज बोहरालाई सभापति बनाएका छन् । जब कि सभापति लामा पार्टीको निर्देशिकाबमोजिम देवराज श्रष्ेठलाई सभापति बनाएको दाबी गर्छन् ।

जुगल गाउँपालिकामा पनि दुई गुटका छुट्टाछुट्टै सभापति छन् । बस्नेतले वडाध्यक्ष सनत अधिकारीलाई सभापति बनाएका छन् । तर, उनको क्रियाशील सदस्यता नभएको सभापति लामाको दाबी छ । केन्द्रीय प्रतिनिधिकै रोहवरमा आफूले निर्देशिकाबमोजिम जंगबहादुर तामाङलाई गाउँपालिका समितिको सभापति बनाएको उनी बताउँछन् । जिल्लाका सबैजसो स्थानीय तहमा विवाद छ । 

कांग्रेसमा सिन्धुपाल्चोकबाहेक अरू जिल्लामा पनि समस्या छन् । विवादले सिन्धुपाल्चोक, सप्तरी र बाराका स्थानीय तहमा पालिकास्तरीय कार्यसमिति बनेका छैनन् । ती जिल्लामा गुटगत विवाद छ । निर्वाचन समितिले सर्लाहीका स्थानीय तहमा समायोजन गरे पनि त्यहाँ एउटा पक्ष आन्दोलित छ । 

पार्टीले समायोजनका सबै काम पूरा गर्न ५ चैत ०७५ मा गठित राधेश्याम अधिकारी नेतृत्वको निर्वाचन समितिलाई जिम्मा दिएको थियो । तर, निर्वाचन समितिले विवाद समाधान गर्न नसकेपछि तीन जिल्लाको समायोजनको काम केन्द्रीय समितिलाई जिम्मा दिएको छ । 

पार्टीले जारी गरेको निर्देशिकाबमोजिम ७४ जिल्लामा पार्टीको भूगोलअनुसारको संगठन समायोजन सकिएको निर्वाचन समितिका संयोजक अधिकारीले जानकारी दिए । ‘७४ जिल्लामा सर्वसम्मत काम सकेका छौँ, बाँकी तीन जिल्लामा विवाद छ, त्यो विवाद मिलाउने जिम्मा हामीले केन्द्रीय समितिलाई नै दिएका छौँ,’ उनले भने । केन्द्रीय समितिले विवाद भएका जिल्लामा पुनः समायोजन गरेर पठाउन निर्देशन गरेको छ । 

समायोजन निर्देशिकाबमोजिम पालिकास्तरीय कार्यसमिति बनाउन निर्वाचन समितिले केन्द्रीय प्रतिनिधि खटाएको थियो । ती प्रतिनिधिले विधि र प्रक्रियाअनुसार आफ्नो प्रतिवेदन पनि बुझाएका थिए । तर, निर्वाचन समितिले त्यसमाथि थप प्रक्रिया अघि बढाएको छैन । सम्बन्धित जिल्लाका सभापति भने निर्वाचन समितिले आफूहरूको जिल्लाको विवाद मिलाउनै नचाहेको आरोप लगाउँछन् । ‘हामीले जिल्लाको फाइल निर्वाचन समितिलाई पठायौँ, सबै प्रक्रिया पूरा गरेर केन्द्रीय प्रतिनिधिमार्फत पठाएका छौँ, तर निर्वाचन समितिले हाम्रो फाइल नै खोलेको छैन, अहिलेसम्म एकपटक छलफलका लागि समेत बोलाएको छैन,’ एक वर्षअघि नै समायोजनको फाइल बुझाएका सिन्धुपाल्चोकका सभापति विकास लामाले भने । सभापति शेरबहादुर देउवाकै चाहनामा जिल्लाको विवाद देखाएर महाधिवेशनको मिति टार्ने खेल भएको लामा बताउँछन् । 

सर्लाहीमा भने उपसभापति विमलेन्द्र निधिले आफ्नो पक्षको बहुमत बनाउन विधि र प्रक्रिया मिचेको पूर्वसभापति लक्ष्मण राय गुनासो गर्छन् । ‘निर्वाचन समितिले टुंग्याएको भनेको छ, तर हामीलाई मान्य छैन, हामीले विधि र प्रक्रियाअनुसार समिति बन्नुपर्छ भनेर माग गरेका छौँ,’ उनले भने । 

समायोजन नभएका जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरणसमेत हुन सकेको छैन । त्यही कारण १४औँ महाधिवेशनको पूर्वतयारीसमेत प्रभावित भएको छ । केन्द्रीय समितिले क्रियाशील सदस्यता वितरण र नवीकरण गरिसक्नुपर्ने म्याद माघ मसान्तसम्म तोकेको छ । तर, समायोजन नसकिएको यी तीन जिल्लाको नवीकरण र सदस्यता फारम भने अझै केन्द्रमै छ । 

निर्वाचन समितिले केन्द्रीय समितिलाई जिम्मेवारी दिइसकेकाले अब विवाद समाधान गरेर महाधिवेशनको तयारी अघि बढ्ने नेताहरू बताउँछन् । पार्टीभित्रका आन्तरिक प्राविधिक कारणले सबै तहमा संगठन निर्माण भइसक्न समय लागेको प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन् ।