Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २९ बुधबार ०८:१७:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

एनसेल बाह्रखरी गल्फ २४ माघमा पोखरामा हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २९ बुधबार ०८:१७:००

‘आमन्त्रण गल्फ प्रतियोगिता’ को चौथो संस्करण यस वर्ष पोखरामा आयोजना गरिने भएको छ । एनसेलसँगको विशेष सहकार्यमा २३ देखि २५ माघसम्म पोखरामा प्रतियोगिता हुने भएको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले पोखराको पर्यटन पर्वद्धनका लागि यसपटक सो ठाउँमा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । 

कोभिड–१९ ले संसारभरकै पर्यटन क्षेत्रलाई आक्रान्त पारेको अवस्थामा नेपालको पर्यटन क्षेत्र पनि अछुतो नरहेको र नेपालको पर्यटकीय राजधानी पोखराको पर्यटनमा नवीन ऊर्जा सञ्चार गराउनसके यसले सम्पूर्ण पर्यटन क्षेत्रलाई नै उत्साहित र सकारात्मक गति दिने विश्वासका साथ यो वर्ष पोखरालाई ‘एनसेल बाह्रखरी गल्फ’को केन्द्रबिन्दु बनाइएको प्रधानले जानकारी दिए । 

नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान पुर्‍याउने उद्देश्यअनुरूप नियमित रूपमा गल्फ प्रतियोगिता सञ्चालन हुँदै आएको छ । प्रतियोगितामा काठमाडौं, पोखरा, विराटनगर, वीरगन्ज, चितवन, भैरहवा, नेपालगन्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीलाई प्रतिस्पर्धा गराउनुका अतिरिक्त उल्लेखित सहरहरूबाट विशेष पाहुनाहरूलाई पनि निमन्त्रणा गरिनेछ ।

खेलाडी र विशेष पाहुनालाई पोखराका विभिन्न स्थानको भ्रमण गराउने र साहसिक खेलमा सहभागी गराउने कार्यक्रम पनि समावेश गरिएको छ । साथै, पोखरामा आन्तरिक पर्यटन र पर्यटनको पुनरुत्थानप्रति विशेष जागरुकता फैलाउने उद्देश्यले २३ माघमा साइकल र्‍याली आयोजना गरिनेछ । 

गल्फ प्रतियोगिता हिमालयन गल्फ कोर्समा २४ माघमा हुनेछ, जहाँ ७२ जना कर्पोरेट गल्फरले १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका अल–राउन्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरूप प्राप्त गर्नेछन् । साथै, अन्य विजयीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, होल इन वन गर्ने खेलाडीलाई हुन्डाई ग्रान्ड आइटेन नियोस उपहार राखिएको बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले जानकारी दिए । 

एनसेल प्रमुख प्रायोजक रहेको गल्फ प्रतियोगितामा गल्फ खेलाडीसहित करिब दुई सय पाहुना सम्मिलित हुनेछन् । पोखराका प्रतिष्ठित उद्यमी, व्यवसायी तथा गन्यमान्य गरी करिब तीन सयजना पाहुना गल्फको पुरस्कार वितरण समारोहमा विशेष आमन्त्रित हुने जानकारी दिइयो । गल्फरबाहेकका पाहुनाका लागि अल्ट्रालाइट, प्याराग्लाइडिङ, जिप फ्लाइङ, बन्जी जम्पिङ्, र्‍याफ्टिङ, क्यानोनिङ र डुंगा सयरको व्यवस्था गरिएको छ ।

एनसेल प्रमुख प्रायोजक रहेको बाह्रखरी गल्फ प्रतियोगितामा नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको पनि सहकार्य रहेको छ । बाह्रखरी मिडिया हाउसले अघिल्लो वर्ष सगरमाथा क्षेत्रमा गल्फ खेल आयोजना गरेको थियो । यो प्रतियोगिता विश्वकै सबैभन्दा उचाइमा (४२५० मिटर) गरिएको पहिलो प्रतियोगिता थियो ।