मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष २६ आइतबार १६:०१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

फाइजर खोप म्युटेड भाइरसविरुद्ध पनि प्रभावकारी 

Read Time : > 1 मिनेट
२०७७ पौष २६ आइतबार १६:०१:००

फाइजरको खोप म्युटेड भाइरस (कोरोनाको नयाँ संस्करणसहित) विरुद्ध पनि प्रभावकारी रहेको प्रारम्भिक अध्ययनले देखाएको छ । यद्यपि नयाँ भाइरसको सबै प्रकृतिबारे भएका अध्ययन रिपोर्ट भने सार्वजनिक गरिएको छैन । 

भाइरस म्युटेड भएर तीव्र रूपमा फैलिन थालेपछि महामारीको समय लम्बिने र उच्च मृत्युदरको जोखिम रहने बताइरहेको वेला फाइजरले जारी गरेको सूचनाले आशा थपिदिएको विज्ञहरूले बताएका छन् । फाइजर बायोन्टेक कम्पनीले शुक्रबार म्युटेड भाइरसबारे जानकारी सार्वजनिक गरेको थियो । हालसम्म जम्मा दुईवटा भाइरसबारे मात्रै जानकारी भएकाले अन्य म्युटेड भाइरस र तिनको जोखिमबारे अझै अस्पष्ट नै देखिन्छ । 

म्युटेड भाइरसविरुद्ध पनि प्रभावकारी हुने बताएपछि फाइजर खोपको सुरुवात राम्रो भएको सिडिसीले जनाएको छ । सिडिसीका प्रमुख डा. जोन ब्रुक्सले आगामी दिनमा अन्य भाइरसविरुद्ध पनि भ्याक्सिन निर्माण हुने आशा जागेको बताएका छन् । बेलायतमा पहिलोपटक रिपोर्ट गरिएको म्युटेड भाइरस बी ११७ डिसेम्बरदेखि तीव्र रूपमा फैलिन थालेपछि चिन्ताको विषय बनेको थियो । यो भाइरस हालसम्म विश्वका ४५ वटा देशमा पुगिसकेको छ । यो कोभिड भाइरसभन्दा निकै छिटो फैलिइरहेको छ । शुक्रबार पब्लिक हेल्थले प्रकाशित गरेको एक अध्ययनअनुसार भाइरस बी ११७ अन्य भाइरसभन्दा ३० देखि ५० प्रतिशत बढी तीव्र रूपमा फैलिन सक्छ । 

अध्ययनकर्ताहरूका अनुसार, हालसम्म पत्ता लागेका २३ वटा म्युटेसनमध्ये बी ११७ अग्रणी स्थानमा रहेको छ । जसमध्ये आठवटा म्युटेड भाइरस जोखिमयुक्त छन्, जसले कोरोना भाइरसको सतहमा स्पाइक भनिने प्रोटिनको जिनलाई असर गर्छ । किनभने भाइरसले स्पाइक प्रोटिनको सहयताबाट मानव कोषमा प्रवेश गर्छ । भाइरस बी ११७ बाहेक एन ५०१ वाईलाई अर्को जोखिमयुक्त भाइरस मानिएको छ । ट्रायलका अनुसार यो भाइरसले अन्य भाइरसको तुलनामा कोषलाई बढी असर गरिरहेको हुन्छ । यो कोरोना भाइरसका अन्य म्युटेड भाइरसमा पनि प्रभाव पारिरहेको छ । यस्तै दक्षिण अफ्रिकामा देखिएको बी १ ३५१ नामक भाइरस पनि निकै जोखिमयुक्त मानिएको छ । 

युनिभर्सिटी अफ टेक्सासले बिहीबार बाहिर ल्याएको एक अध्ययनअनुसार, फाइजरको भ्याक्सिन केही म्युटेड भाइरसविरुद्ध प्रभावकारी देखिएको हो । अध्ययनका क्रममा ल्याबमा खोपका कारण एन्टिबडी उत्पादन गरिसकेका कोषहरूमा म्युटेटन्ट भाइरसले कुनै प्रभाव पार्न नसकेको पाइएको थियो । एन्टिबडीले स्पाइक प्रोटिनलाई टुक्र्याएर कोषमा भाइरस प्रवेश गर्न नदिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । 
–एजेन्सीको सहयोगमा