१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 03 May, 2025
Invalid date format १७:५४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मजदुरी नपाउने डर : पक्की घरमा बस्न मानेनन् मुसहर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५४:oo

स्थानीय सरकारले बनाइदिएको पक्की घर अपायक भएको भन्दै सिराहाको गोलबजार नगरपालिका क्षेत्रका विपन्न मुसहर परिवारले बस्न मानेका छैनन् ।

गोलबजार–३ जमदह कालाबन्जरमा भान्सा, शौचालयसहित चारकोठे टिनको छानो भएको १५ वटा पक्की घर तयारी अवस्थामा भए पनि मुसहरहरू बस्न मानेका छैनन् । पहिलो तलामा काठबाहेक झ्याल, ढोकासमेत हालिसकेको घर अपायक भएको उनीहरूको भनाइ छ । सडक क्षेत्रको ऐलानी जग्गामा छाप्रो हालेर बस्दै आएका गोलबजार नगरपालिका–८ नारायणपुर गाउँका भूमिहीन मुसहरहरू नयाँ घरमा सरेका छैनन् ।

मजदुरी गर्न बजार क्षेत्रमै झर्नुपर्ने भएकाले नगरपालिकाले बनाइदिएको घरमा बस्न नचाहेको उनीहरूको भनाइ छ । त्यहाँ रोजगारी नपाइने डरले नयाँ घरमा जान मन नलागेको स्थानीय ५५ वर्षीया सजनी सदायले बताइन् । ‘कान्छी छोरी र नातिनीले गाउँनजिकैको इँटाभट्टामा मजदुरी गरेपछि मात्र चुलो बल्छ, बजारबाट टाढा बनाएको बस्तीमा सरेपछि मजदुरी नपाएर भोकभोकै बस्नुपर्ने भएकाले सित्तैमा घर दिए पनि जान्नँ,’ सजनीले भनिन् ।

सडककिनारमै बनाइएको छाप्रोमा बसेर स्थानीय इँटाभट्टामा पाँच छोराछोरीसहित मजदुरी गर्दै आएका ५८ वर्षीय रामेश्वर सदायले पनि नयाँ घरमा सर्दा मजदुरी खोसिने डर भएको बताए । ‘ऐलानी जग्गा भए पनि बाजेकै पालादेखि बस्दै आएको ठाउँ छाड्न मन लागेको छैन,’ रामेश्वरले भने, ‘त्यसमा पनि गाउँले, इष्टमित्र छाडेर मजदुरी गर्न पनि गाह्रो पर्ने ठाउँमा कसरी सरौँ ?’

कार्यविधि बनाएर घर हस्तान्तरण गर्दै छौँ : मेयर 
पूर्व–पश्चिम सडकको गोलबजारबाट करिब साढे चार किलोमिटर उत्तरपूर्व टुड्किया गाउँनजिकै गोलबजार नगरपालिका–३ जमदह कालाबन्जरमा १५ घर बनाइएका छन् । घर हस्तान्तरणसम्बन्धी कार्यविधि अन्तिम चरणमा रहेकाले त्यसका आधारमा नगर क्षेत्रका अति विपन्न मुसहरहरू छनोट गरी घर हस्तान्तरण गरिने मेयर देवनाथ साहले बताए । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत तराई मधेस समृद्धि कार्यक्रम र नगरपालिकाको करिब दुई करोड रुपैयाँ बजेटमा घर बनाइएको थियो । तर, घर अपायक भएको भन्दै मुसहरहरू बस्न नमानेको आफूले पनि सुनेको मेयर साहले बताए । ‘हस्तान्तरण गरिएको घरमा बस्नेहरूका लागि आयआर्जनको वैकल्पिक व्यवस्थाका लागि पनि नगरपालिकाले योजना बनाउँदै छ,’ मेयर साहले भने ।