१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २० शनिबार
  • Saturday, 03 May, 2025
गणेश लम्साल विराटनगर
२o८२ बैशाख २० शनिबार o६:oo:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोशी लगानी सम्मेलन : डेढ खर्बका ४६ परियोजनामा एमओयू

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ बैशाख २० शनिबार o६:oo:oo
  • पौने दुई खर्ब लागतका ७१ आयोजनामा लगानी आह्वान भएकामा एक खर्ब ५२ अर्बका परियोजना अघि बढाउन निजी क्षेत्रले देखायो चासो, एमओयू भएका परियोजना छिट्टै अगाडि बढाउन सरकारले तदरुकताका साथ सहजीकरण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

कोशी प्रदेशको पहिलो लगानी सम्मेलनमा एक खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ लागतका ४६ परियोजनामा लगानीका लागि समझदारीपत्र (एमओयू) भएको छ । 

विराटनगरमा दुई दिन सञ्चालित सम्मेलनको अन्तिम दिन शुक्रबार सार्वजनिक–निजी साझेदारीका २७ परियोजनामा एक खर्ब ३५ अर्ब २० करोड र निजी क्षेत्रका १९ परियोजनामा १६ अर्ब ९६ करोड लगानीका लागि एमओयू भएको हो ।

डा. सरोज कोइराला, कार्यकारी निर्देशक, कोशी प्रदेश लगानी प्राधिकरण
सम्झौता भएका परियोजना अगाडि बढाउन प्रदेश सरकारले भूमिका खेल्नेछ । निजी लगानी प्रवद्र्धनका लागि यसअघि नै कार्यविधि बनाएका छौँ, त्यहीअनुसार जान्छौँ । 

उद्योगका १२ परियोजनामा ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजनामा ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, ऊर्जाका तीन परियोजनामा आठ अर्ब ६२ करोड, कृषिका आठ परियोजनामा तीन अर्ब, फोहोरमैला व्यवस्थापनका दुई परियोजनामा ६० करोड र सूचना प्रविधिका दुई परियोजनामा ४७ करोडका परियोजनामा एमओयू भएको प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा. सरोज कोइरालाले बताए ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा कार्यकारी निर्देशक कोइराला र लगानीकर्ताबिच एमओयू भयो । प्रदेश सरकारले एक खर्ब ७३ अर्ब ४९ करोडका ७१ वटा परियोजना सोकेस गरेको थियो । 

प्राधिकरणका अनुसार लगानीको एमओयू गर्ने सबै स्वदेशी लगानीकर्ता हुन् । ‘वैदेशिक लगानी संघ सरकारको क्षेत्राधिकारभित्र पर्छ, प्रदेशले स्वदेशी लगानी भित्र्याउँछ,’ कार्यकारी निर्देशक कोइरालाले भने, ‘एमओयू भएका परियोजना अगाडि बढाउन प्रदेश सरकारले भूमिका खेल्नेछ । निजी लगानी प्रवद्र्धनका लागि यसअघि नै कार्यविधि बनाएका छौँ, त्यहीअनुसार जान्छौँ ।’

लगानी सम्मेलनमा एमओयू भएको सर्वाधिक ठुलो लगानीको उदयपुरस्थित क्लिंकर उद्योग हो । यो उद्योगमा ३२ अर्ब लगानी हुने अनुमान छ । त्यसपछिको ठुलो परियोजना सुनसरी र उदयपुरमा हरित हाइड्रोजन हो । २६ अर्बको यो परियोजनामा पनि एमओयू भएको छ । लगानीका लागि एमओयू भएका परियोजनामा पाँचतारे होटेल, रिसोर्ट, अस्पताल, सपिङ कम्प्लेक्स, बसपार्क, पार्क, पर्यटकीय ताल, विद्युतीय गाडी एसेम्बल प्लान्ट, क्लिंकर उद्योग, वाटरपार्क, हाउजिङ, फोहोर व्यवस्थापन, डिजिटल डाटा सेन्टर, केबलकार, पोडवे, कोल्ड स्टोर, बेसार उद्योग, चिया उद्योग, छुर्पी उद्योग, किबी र एभोकाडो खेती, जडीबुटी उद्योगदेखि कोदोको रक्सी उत्पादनसम्म छन् । सम्मेलनमा लगानी सम्झौता भएका कतिपय परियोजना निर्माण सुरु भइसकेका छन् । लगानी सम्झौता भएका परियोजना मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सोलु, झापा, ताप्लेजुड, इलाम, खोटाड जिल्लाका हुन् ।