कांग्रेसका मित्रहरू ! चुनाव हुन्छ र पहिलो पार्टी भइन्छ भन्ने भ्रममा नपर्नुस् : डा.भट्टराई

आइतबार, १२ पुष, २०७७
डिजिटल संस्करण

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेसलाई पहिलो पार्टी हुने भ्रममा नपर्न आग्रह गरेका छन् । 

प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार काठमाडौंमा आयोजित विरोध प्रदर्शनलाई सम्बाेधन गर्दै उनले कांग्रेसलाई चुनावकाे जाेडघटाउ छाेडेर सडक संघर्षमा आउन आग्रह गरे । 
 
डा. भट्टराईले भने, ‘चुनाव हुन्छ र पहिलो पार्टी भइन्छ भन्ने भ्रममा कांग्रेसका मित्रहरू नपर्नुस्, हिजो राजा ज्ञानेन्द्रले पनि चुनाव घोषणा गरेकै हुन् । हामीले भाग लिएनौँ । चुनाव त भ्रम मात्रै हो ।’ 

उनले ओलीको भ्रमबाट ढिलै भए पनि पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल मुक्त भएको बताए । डा. भट्टराईले चुनावको घोषणा गरेपछि प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्न नमिल्ने बताए । आफू प्रधानमन्त्री रहँदा तत्कालीन संसद्समेत रहेको संविधानसभा विघटन भई चुनावको मिति घोषणा भएपछि आफूले मन्त्री नियुक्त नगरेको स्मरण गराए ।

उनले भने, ‘मेरो पालामा १२ वटा मन्त्रालय खाली थिए, तर मैले मन्त्री नियुक्त गरिनँ, बहालवाला मन्त्रीहरूलाई नै जिम्मेवारी दिएँ मैले आफैँ ५–६ वटा मन्त्रालय हेरेँ । आवश्यक हुँदा पनि मैले नैतिकताका आधारमा मन्त्री थपघट गरिनँ ।’

उनले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर प्रतिगमन गर्न खोजेको बताए । ‘प्रतिगमन एकैचोटि आउँदैन, अंश–अंशमा आउँछ, ओलीले संसदमा प्रहार गर्ने र राज्यका सबै अंग र निकायहरूमा कब्जा गरेर प्रतिगमन गर्दै छन्,’ उनले भने ।

सुझावित समाचार