मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष १२ आइतबार १३:५९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थिति बुझ्न काठमाडौं आइपुग्यो चिनियाँ टोली

Read Time : > 1 मिनेट
२०७७ पौष १२ आइतबार १३:५९:००

तत्कालीन एमाले र माओवादी केन्द्रबीच  एकीकरण हुनुपूर्व नेपाल आएर खुसी व्यक्त गरेको चिनियाँ कम्युनिस्ट पार्टीका नेता नेकपाको फुटपछि परिस्थिति आकलन गर्न आइतबार काठमाडौं आइपुगेका छन् । 

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय समन्वय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल चारदिने भ्रमणका लागि एयर चाइनाको चार्टर्ड विमानमा आज दिउँसो आइपुगेकाे हाे ।   

प्रतिनिधिमण्डलले चारदिने बसाइमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली तथा अर्कोपक्षीय नेकपा र नेपाली कांग्रेसका शीर्ष नेतासँग भेट्ने कार्यक्रम छ । 

यद्यपि उनको भेटवार्ताको कार्यतालिका सार्वजनिक भएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा संसद् विघटन गरेपछि नेपाल आउने उनी पहिलो विदेशी अधिकारी हुन् । एक महिनाको बीचमा नेपाल आउने उनी दोस्रो चिनियाँ अधिकारी हुन् । चिनियाँ रक्षामन्त्री जनरल वेई फेंगेले  १४ मंसिरमा नेपाल भ्रमण गरेर फर्केका थिए ।

नेकपा फुटपछिको परिस्थितिबारे राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्न उनी आएका हुन् । चिनियाँ राजदूत  होउ यान्छीले शुक्रबार अध्यक्ष नेपाल र नेता कृष्णबहादुर महरा तथा बिहीबार अध्यक्ष प्रचण्ड र नेता वर्षमान पुनसँग भेटेकी थिइन् । रिजालका अनुसार चिनियाँ राजदूतले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूको भ्रमणबारे जानकारी दिएकी छन् । 

चिनियाँ कूटनीतिक स्रोतका अनुसार प्रतिनिधिसभा विघटनका कारण नेपालमा उत्पन्न परिस्थितिको नजिकबाट अध्ययनका लागि चिनियाँ नेता आएका हुन् । नेकपा नेताहरूसँगको भेटमा चिनियाँ राजदूत यान्छीले संसद् विघटन भएकोमा आश्चर्य व्यक्त गरेकी थिइन् । स्रोतका अनुसार उनको भनाइ थियो, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक कार्डका रूपमा संसद् विघटन गर्न लागेका होलान् भन्ने आकलन गरेका थियौँ, संसद् विघटन नै होला भन्ने साेचेका थिएनौँ ।’

आइतबार आउन लागेका नेता गुओ ८ फागुन ०७४ मा नेपालमा थिए । एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनले बलियो बहुमत पाएपछि ३ फागुन ०७४ मा केपी ओली प्रधानमन्त्री भएलगत्तै उनी आएका थिए । गुओको भ्रमण भएको तीन महिनापछि ५ जेठ ०७५ मा एमाले र माओवादीबीच एकीकरण भएको थियो ।

गुओले प्रधानमन्त्री ओली, तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । स्थानीय, प्रान्तीय तथा संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा ओली, प्रचण्ड र देउवालाई बधाई दिएका गुओले सफल चुनावी गठबन्धनप्रति ओली र प्रचण्डलाई बधाई दिएका थिए । उनले राष्ट्रपति सी जिनपिङको सन्देश देउवालाई सुनाएका थिए । देउवालाई उनले चीन भ्रमणको निम्तो दिएका थिए, तर देउवाको हालसम्म भ्रमण भएको छैन । 

एमाले र माअ‍ोवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने सहमति भइसकेका वेला आएका उनले एकीकृत पार्टीसँग सहकार्य गर्ने बताएका थिए । उनी आउनुअघि नै एमाले र माअ‍ोवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने सातबुँदे समझदारीमा हस्ताक्षर भइसकेको थियो । 

ओली र प्रचण्ड दुवैले त्यसवेला नेपाली परिप्रेक्ष्यको समाजवादउन्मुख व्यवस्था सुदृढ गर्न तथा नेपाललाई राजनीतिक स्थिरता, विकास र समुन्नतिमा लैजान पार्टी एकता गर्ने समझदारीमा पुगेको बताएका थिए । 

तत्कालीन माओवादी केन्द्रद्वारा त्यसवेला जारी विज्ञप्तिमा भनिएको छ, ‘दुई पार्टीबीच एकता गर्ने समझदारीलाई उपमन्त्री गुओले स्वागत गर्नुभयो । एकीकृत पार्टीलाई चीनको पूर्ण सहयोग रहन्छ । नेपालको स्थायित्व, समुन्नति र विकासमा चीन नेपालसँग निरन्तर मिलेर काम गर्नेछ ।’ तीन वर्षपछि भिन्न परिस्थितिमा उनले पुनः नेपालको स्थायित्व, विकास र समुन्नतिमा जोड दिने बुझिएको छ ।