१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o८:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

मनीषा कोइरालाको संस्मरणात्मक कृति ‘जिजीविषा’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:४१:oo

अभिनेत्री मनीषा कोइरालाको बेस्ट सेलर कृति ‘हिल्ड’को नेपाली अनुवाद ‘जिजीविषा’ सार्वजनिक भएको छ । पुस्तकलाई फाइन प्रिन्टले प्रकाशन गरेको हो । यसको अनुवाद पत्रकार स्वरूप आचार्यले गरेका हुन् । आइतबार भिडियो लन्चका अवसरमा अभिनेत्री कोइरालाले भनिन्, ‘मैले यो किताब लेख्छु भनेर सुरु गरेकी होइन ।

अमेरिकामा क्यान्सरको उपचारका क्रममा एकजना बौद्ध रिन्पोचेले आफूलाई क्यान्सरबाट परेको दुःख भोग्दाका वेला तिमीलाई लागेका कुरा टिपोट गरिराख्नु भन्नुभएको थियो । यो पीडाको, यो कठिनाइको कुरा पनि लेखिराख्नू भनेकाले मैले त्यतिवेलाका दुःख अनि कष्टलाई टिपोट गर्दै गएँ । र, त्यसलाई पछि पुस्तकका रूपमा ल्याएकी हुँ ।’

क्यान्सर लागेपछि भोगेका कुरा र त्यसबाट प्राप्त ज्ञानलाई किताबमा लेखेँ भने र समाजलाई आफ्नो ज्ञान दिन सकेँ भने आफ्नो जीवन सार्थक हुनेछ भनेर पुस्तक लेखेको उनको भनाइ छ । ‘पुस्तक लेख्नुको मेरो उद्देश्य नै अप्ठ्यारो परेका वेलामा मनुष्य जीवनलाई केही बाटो देखाउन सकिन्छ कि भन्ने हो,’ उनले भनिन् ।

क्यान्सर लाग्नुअघि आफूले जीवनको त्यति महत्व नबुझेको र पछि मृत्युको नजिक पुग्दा यसको महत्ताबारे धेरै जानकारी पाएको उनले बताइन् । ‘पहिला म धेरै केयरलेस थिएँ । रोग लाग्यो भने पैसा खर्च गरेर मात्र छुटकारा पाइँदो रहेनछ, अरूलाई पनि उत्तिकै गाह्रो हुने रहेछ,’ उनले भनिन्, ‘वास्तवमा मनुष्य जीवन कति महत्वपूर्ण रहेछ, तर त्यही जीवनलाई हामीले गलत तरिकाले पनि उपयोग गरिरहेका रहेछौँ ।’ त्यसमा सचेत हुन पुस्तकले धेरथोर सिकाउने उनले बताइन् ।  

अभिनेत्री कोइरालाले राजनीतिमा आउनैपर्छ भन्ने आफूले नसोचेको पनि बताइन् । ‘राजनीतिलाई मैले करिअरका रूपमा हेर्न सक्दिनँ । यसलाई सेवाका रूपमा हेर्न सक्छु । सेवा गर्ने हो भने राजनीतिमा आउनैपर्छ भन्ने म सोच्दिनँ । समाज सेवा गर्नका लागि अरू धेरै उपाय हामीसामु छन् । समाजमा राम्रो काम गर्न राजनीति गर्नुपर्छ भन्ने कतै लेखिएको छ र ?’ उनको भनाइ थियो । आफू राजनीतिक वातावरणमा हुर्किए पनि यसमै जीवन समर्पण गर्ने सोच नरहेको उनको भनाइ थियो ।

ad
ad