१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष ३ शुक्रबार १९:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लगानी बोर्डमा नेपाल–इन्डिया पार्टनरसिप छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष ३ शुक्रबार १९:४२:००

नेपाल–भारत उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलले लगानीबोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टसँग भेटवार्ता गरी नेपाल–इन्डिया पार्टनरसिप समिटबारे छलफल गरेको छ । प्रतिनिधिमण्डलले प्रमुख कार्यकारी अधिकृत भट्टलाई बधाई दिँदै पछिल्ला वर्षहरूमा भारतबाट नेपाल भित्रिने लगानी क्रमशः घट्दो क्रममा रहेको सम्बन्धमा ध्यानाकर्षणसमेत गराएको छ । 

सिर्जना राणाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा उपाध्यक्षद्वय क्रमशः सुनिल केसी, सैवाल घोष, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, संघका निर्देशक केशवमान सिंह तथा प्रशासकीय अधिकृत मार्सल राठौर सहभागी थिए । संघका उपाध्यक्ष केसीले आगामी दिनमा भारतीय लगानीकर्ताहरूलाई लक्षित गरी हरेक वर्ष पालैपालो नेपाल र भारतमा द्विदेशीय ‘नेपाल–इन्डिया पार्टनरसिप समिट’ आयोजना गर्ने योजना पेस गर्दै लगानीबोर्डलाई प्रमुख साझेदार बनाउने प्रस्ताव पेस गरे । केसीले भारतको दिल्लीमा नेपाल इनोभेसन सेन्टर स्थापना गर्ने, भारतीय राजदूतावाससमेतलाई समावेश गरी नेपालमा भारतीय लगानी भित्र्याउन लगानी बोर्डको साझेदारी र सहमतिका लागि पनि आग्रह गरेका थिए । 

अर्का उपाध्यक्ष घोषले नेपालमा विदेशी लगानी आकर्षित गर्न यहाँ भएका विदेशी लगानीमा सञ्चालित उद्योगहरूका समस्याको उचित सम्बोधन अत्यन्त आवश्यक तथा महत्वपूर्ण पक्ष रहेको बताए ।  उनले झन्डै १० वर्षदेखि सम्बोधन नभएको बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी समस्याका साथै ब्रान्ड रजिष्टरका समस्या, टेस्ट मार्केटिङको अनुमति प्राप्तिमा ढिलाइलगायत कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ खुला गरिनुपर्नेलगायतका विषय प्रस्तुत गरे । 

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले नेपालमा भारतीय लगानी भित्र्याउने सम्बन्धमा लगानी बोर्ड चिन्तनशील भएर सक्रिय भएको भन्दै संघले प्रस्ताव गरेका कार्यक्रमहरूमा सहभागिता हुन पनि बोर्ड सकारात्मक रहेको बताए । भारतीय लगानी आकर्षित गर्न भारतका विभिन्न स्थानमा जाने तथा लगानीका क्षेत्र, मोडालिटी, वातावरणलगायतका विषयमा छलफल गर्ने तयारी गरिरहेको पनि भट्टको भनाइ थियो ।