सिराहामा चिसोले कठ्यांग्रिएर चारजनाको मृत्यु भएको छ। यस्तै, चिसाेबाट जाेगिन घुर ताप्ने क्रममा चारजना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा बरियारपट्टी गाउँपालिका– ५ जिझौलका २५ वर्षीय रविन्द यादव, मिर्चैया नगरपालिका– ११ का गदहवाका २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका– ३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो र नाम खुल्न नसकेको कर्जन्हा नगरपालिका– १ का एकजना पुरुषको मृत्यु भएको छ ।
यस्तै भगवानपुर गाउँपालिका– १ देवनाथका उदयकुमार यादव, कविताकुमारी यादव, सिर्जनाकुमारी यादव, अनुष्का यादव र सुखीपुर नगरपालिका– ५ का पिंकी मण्डल चिसोबाट जोगिन घुर ताप्ने क्रममा घाइते भएको जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको छ ।
मंसिर २२ देखि २८ सम्म चिसो बढेपछि त्यसबाट जोगिन घुर ताप्ने क्रममा आगलागी भई मृत्यु र घाइते हुने क्रम बढेको छ ।
जिल्लास्तरीय कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) तथा जिल्ला विपत् व्यवस्थापन समिति (डिडिएमसी)को संयुक्त बैठकले सिराहा जिल्लामा चिसोले मृत्यु र घाइते हुने क्रम बढेपछि सचेतनामूलक कार्यक्रम सञ्चालनमा जोड दिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले चिसो तथा शीतलहरले सिराहा जिल्लामा कठ्यांग्रिने क्रम सुरु भएकोले जोगाउन पालिकाहरूले सचेतनामा जोड दिनुपर्ने बताए । समितिले स्थानीय प्रशासनलाई सचेतनात्मक कार्यक्रम सञ्चालन गर्न समितिले निर्णय गरेको प्रजिअ कँडेलले बताए ।
जिल्लामा शीतलहर बढेकोले स्थानीय सरकारहरू सक्रिय भएर सचेतना, बचाउ, चिसोबाट जोगिन कम्बल वितरणलगायतको बन्दोबस्तीमा जुट्नुपर्ने प्रजिअ कँडेलले बताए।
तीनजना आगलागीपीडितलाई सहयोग
यता तीनजना आगलागीपीडितलाई जिल्ला प्रशासन कार्यालयको विपत् कोषबाट पाँच–पाँच हजार सहयोग गरिएको छ । कल्याणपुर नगरपालिका– ८ का सञ्जय साह, भगवानपुर गाउँपालिका– १ का शिवप्रसाद साह र पशुपति साहलाई पाँच–पाँच हजार आर्थिक सहयोग गरिएको प्रजिअ कँडेलले बताए ।