Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ मङ्सिर १७ बुधबार ०२:२०:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

त्रिविमा साढे आठ महिनापछि प्रत्यक्ष कक्षा सञ्चालनको तयारी

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १७ बुधबार ०२:२०:००

त्रिभुवन विश्वविद्यालयमा कोभिड–१९ जोखिमबीच पनि सतर्कता अपनाएर प्रत्यक्ष कक्षा सञ्चालन हुने भएको छ । त्रिवि कार्यकारी परिषद् बैठकले स्वास्थ्य मापदण्ड पूरा गरेर सम्भव भएसम्मका शैक्षिक संस्थामा प्रत्यक्ष कक्षा सञ्चालन गर्ने निर्णय लिएको हो । प्रत्यक्ष सम्भव नभएका ठाउँमा अनलाइन कक्षालाई निरन्तरता दिइने निर्णय पनि परिषद्को छ ।

कोभिड–१९ महामारीका कारण गत चैतदेखि शैक्षिक संस्था बन्द भएका थिए । लकडाउन सुरु भएको केही समयपछि अनलाइन कक्षा सञ्चालनमा ल्याइएको थियो । तर, अनलाइन कक्षामा माथिल्लो तह र प्राविधिक विषयमा विद्यार्थीको उपस्थिति राम्रो भए पनि स्नातक तहका गैरप्राविधिक विषयमा सहभागिता न्यून थियो । तल्लो तहका अधिकांश विद्यार्थीको अवस्थासमेत पहिचान हुन सकेको थिएन ।

स्थानीय निकायसँग समन्वय गरी कोरोना जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी र सतर्कता अपनाएर प्रत्यक्ष कक्षा सञ्चालन गर्ने निर्णय गरिएको त्रिविका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले बताए । ‘अनलाइनबाट सम्भव नभएका ठाउँमा प्रत्यक्ष कक्षा सुरु गर्ने पहिलो प्राथमिकता हो,’ शिक्षाध्यक्ष भुसालले भने, ‘धेरै जोखिम भएका र प्रत्यक्ष कक्षा सम्भव नभएका ठाउँमा अनलाइन पठनपाठन निरन्तर सञ्चालन हुन्छ ।’ त्रिविले सम्भव भएसम्म प्रत्यक्ष र नभए मात्र वैकल्पिक विधि प्रयोग गरी नियमित कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । प्रत्यक्ष कक्षा सञ्चालन नहुँदा विपन्न परिवार र इन्टरनेटको पहुँच नभएका समुदायका विद्यार्थी पठनपाठनबाट वञ्चित थिए । परीक्षालगायत शैक्षिक गतिविधि सञ्चालनमा आएसँगै पठनपाठन पनि प्रत्यक्ष नै सुरु गर्न लागिएको हो ।

रोकिएका परीक्षा धमाधम हुँदै

आठ महिनाअघिदेखि रोकिएका परीक्षा त्रिविले धमाधम लिन थालेको छ । कोभिड महामारीकै बीच स्वास्थ्य सावधानी अपनाएर परीक्षा नियन्त्रण कार्यालय र डिन कार्यालयहरूले परीक्षा लिन थालेका हुन् । परीक्षा केन्द्रमा पुग्न सक्ने कोरोना संक्रमित विद्यार्थीलाई अलग्गै राख्ने र नसक्नेलाई प्रमाणका आधारमा पछि लिने व्यवस्था पनि मिलाइएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २८ मंसिरदेखि वार्षिक प्रणालीका विज्ञान, व्यवस्थापन र शिक्षाशास्त्र संकायअन्तर्गत स्नातक तह चौथो वर्षको परीक्षा सञ्चालन गर्दै छ । पनिकाको परीक्षा केन्द्रबाट आवेदन भरेका सबै संकायका विद्यार्थीको पनि परीक्षा सञ्चालन हुँदै छ ।

गत १६ वैशाखदेखि सञ्चालन हुने तय भएर स्थगित भएका परीक्षा आठ महिनापछि हुन लागेका हुन् । त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायले थोरै विद्यार्थी भएका केही विषयको परीक्षा यसअघि पनि लिएको थियो ।

२८ मंसिरदेखि सुरु हुने परीक्षामा विद्यार्थीहरू घरपायक केन्द्रबाटै सहभागी हुन सक्नेछन् । आवतजावतमा कठिनाइ र कोरोना संक्रमणको जोखिम कम गर्ने उद्देश्यले त्रिविले घरपायक केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएको हो । घरपायकका लागि आवेदन नदिएका परीक्षार्थीले भने तोकिएकै केन्द्रमा पुग्नुपर्नेछ । मंसिर अन्तिम सातादेखि हुन लागेको स्नातकोत्तर तहका सेमेस्टर प्रणालीका परीक्षामा भने डिन कार्यालयअनुसार फरक व्यवस्था गरिएको छ ।