
काठमाडौं उपत्यकामा रहेको चक्रपथ विस्तारअन्तर्गत दोस्रो चरण (कलंकीदेखि चाबहिलसम्म) सडक विस्तारका लागि आवश्यक पर्ने संरचना हटाउने काम अन्तिम चरणमा पुगेको छ ।
चक्रपथ सडक विस्तार आयोजनाको काम लगभग ९५ प्रतिशत सकिएको हो । आयोजनाका अनुसार कलंकीदेखि चाबहिलसम्म २० घर भत्काउन पर्नेछ । सो घरको मुआब्जा वितरण गरी केही समयमै भत्काउन सुरु गरिनेछ ।
पहिलो चरणको कोटेश्वर–कलंकी सडक विस्तारपछि दोस्रो चरणको कलंकी–चाबहिल विस्तार गर्ने भएको हो । चीन सरकारले सम्झौताअनुसार नै निर्माण कार्य अघि बढाएको हो ।
आयोजनाका अनुसार विस्तारका लागि ११.६ किलोमिटर सडकको विस्तारका लागि निर्माणस्थल खाली गरिएको हो ।
सडक निर्माणस्थलमा रहेका खानेपानीको पाइप, ढल, विद्युतको पोललगायतका संरचना सार्ने काम सकिएको छ । त्यस्तै, सो सडकमा रहेका दुई हजार एक सय रूख काटिएको चक्रपथ आयोजना प्रमुख अमृतमणि रिमालले जानकारी दिए ।
त्यस्तै, विस्तारको क्रममा स्वयम्भूमा पर्ने एउटा स्तुपासमेत भत्किने भएपछि लामो समयसम्म विरोध रहँदै आएको थियो । स्तुपा सारिने जिम्मा काठमाडौं महानगरपालिकाले जिम्मा लिएपछि विवाद सुल्झिएको हो । हाल विवाद सकिएलगत्तै विस्तारको कार्य अघि बढेको हो ।
अहिले चक्रपथवरिपरिका सम्पूर्ण रूखहरू काटिएकले निर्माणको कार्य पनि अघि बढ्नेछ । कोरोना भाइरसका कारण केही समय सुस्त रहे पनि अहिले पछिल्लो समय भने पुनः सुचारु भएको आयोजना प्रमुख रिमालले नयाँ पत्रिकासँग बताए ।
‘अहिले रूख काटिएको छ भने पहिले बनेको नयाँ बसपार्कको आकाशेपुल पनि भत्काइएको छ । विस्तार भएपछि आवश्यकता हेरी काटिएका रूख पनि रोपिने र पुल पनि पुनर्निर्माण गरिनेछ,’ रिमालले भने ।
चक्रपथ पहिलो खण्डमा सडकमा रहेका संरचना हटाउनु पहिले नै निर्माण सुरु भएको थियो ।
सडक निर्माण सुरु भइसक्दा पनि संरचना हटाउन सकिएको थिएन । एकातिर सरकारी निकायले नै तुरुन्त युटिलिटी नहटाउने त अर्कातर्फ सडकमा रहेका घरटहरा नहट्दा निर्माणमा ढिलाइ भएको थियो ।
वि.सं. ०७१ मा सुरु भएको सडक निर्माण वि.सं. ०७२ मा नेपालमा आएको भूकम्प र त्यसपछिको नाकाबन्दीले गर्दा प्रभावित बनेको थियो ।
विभिन्न अवरोधका कारण सडक निर्धारित अवधिभन्दा केही ढिलो सम्पन्न भएको थियो ।
चक्रपथ पहिलो खण्डमा देखिएको समस्या दोस्रो खण्डमा नदोहोरियोस् भनेर चीन सरकारले निर्माण सुरु गर्नु पहिले नै निर्माणस्थल खाली गर्न सरकारलाई भनेको थियो ।
चीन सरकारले निर्माणस्थल खाली भएपछि नै विस्तृत अध्ययन गरेर सडक निर्माण सुरु गर्नेछ ।
सो सडकमा दुई ‘अन्डर पास’, प्रत्येक किलोमिटरमा आकाशेपुल र मुख्य लेनमा बीचमा डिभाइडर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ ।
सडक विस्तारका लागि सरकारले गत चैतमा सडक हस्तान्तरण गर्ने गरी तयारी गरेको थियो । पहिलो चरणको विस्तारमा रहेको कमी–कमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ ।
पछिल्लो समय कोटेश्वर–कलंकी सडकमा बढी दुर्घटना बढी भएको भन्दै चिनियाँ सरकारले पुनः एकपटक अध्ययन गर्ने बताएको छ ।
सकेसम्म सडकको अध्ययन ढाँचालाई अध्ययन गरेर बल्ल निर्माण सुरु गर्ने तयारी छ ।
कात्तिकमै अध्ययन टोलीले अध्ययन गर्ने भनिए पनि कोरोना भाइरस कारण चिनियाँ टोली नेपाल आएका छैनन् ।
अवस्था सामान्य हुनेबित्तिकै अध्ययन सुरु हुने सडक विभागले जनाएको छ ।