१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
शिलान्यासपछि पनि कालोपत्रे सुरु नभएको पाँचथरस्थित राँके–रवि–भेडेटार सडकखण्ड ।
२०७७ मङ्सिर ७ आइतबार ०६:४७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्रीले शिलान्यास गरेको सडक नै अलपत्र, ठेकेदारलाई कारबाही गर्ने मन्त्रीको दोस्रो चेतावनी

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर ७ आइतबार ०६:४७:००

प्रधानमन्त्री केपी ओलीले पुस ०७५ मा मेची राजमार्गको राँके खण्डदेखि पाँचथरको दक्षिणी बजार रवि हुँदै धनकुटा भेडेटार जोड्ने सडक कालोपत्रे योजना शिलान्यास गरे । रवि बजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले तोकिएकोे समयमै काम सकिने विषयमा स्थानीय बासिन्दालाई विश्वस्त पनि तुल्याए । तर, तीन वर्षमा सकिनुपर्ने काम दुई वर्ष बित्न लाग्दा पनि प्रगति सात प्रतिशत मात्र छ ।

निर्माण भएको दुई दशकपछि करिब एक सय किलोमिटर सडक कालोपत्रे गर्न लागिएको थियो । तीन वर्षभित्र कालोपत्रे सक्ने गरी भारतीय ठेकेदार कम्पनी एफ्को इन्फ्राको प्रालिसँग ठेक्का सम्झौता भएको छ । तीन करोड २६ लाख १८ हजार पाँच सय ४१ अमेरिकी डलरमा काम सकिने अनुमान थियो । नेपाल सरकारको १३ प्रतिशत र भारतको ८७ प्रतिशत लगानी रहने सम्झौतामा उल्लेख छ । ५० प्रतिशत भारतमा उत्पादित निर्माण सामग्री प्रयोग गर्ने गरी न्यूनतम ब्याजदरमा भारतीय एक्जिम बैंकले ऋण दिने सहमति पनि छ ।

यो सडकसँग धनकुटाका पहाडी भेगका बजार र बस्तीहरू भेडेटार, नाम्जे, ओखे्र, डाँडाबजार, राजारानी, चौकीभञ्ज्याङ, देउराली, समिया, मुढेवास, सौरेबजार र ६ नम्बर बुधबारेलाई समेट्छ । यस्तै, पाँचथरका कम्फुटार, लेकगाउँ, कन्याटार, दारेगौँडा, चिसापानी पञ्चमी, रवि, सप्तमी, उत्तरे, घुर्बिसे पञ्चमी, पुरानो पञ्चमी, देउरालीलगायत ग्रामीण बजार यस सडकमा जोडिन्छन् । इलामका फुयँतप्पा, चमैता, एकतप्पालगायत क्षेत्र पनि यही सडकमा आसपास पर्छन् । राँके–भेडेटार सडकलाई आधार बनाएर मोरङका विभिन्न गाउँ जाने सडक पनि तयार भएका छन् ।

कालोपत्रेको काम अगाडि नबढेपछि यसबीचमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले स्थलगत अनुगमन पनि नगरेका होइनन् । पाँचथरबाट नेकपाका सांसद रहेका मन्त्री नेम्बाङको अनुगमनपछि निर्माण अगाडि बढ्ने स्थानीय बासिन्दाको अनुमान अहिलेसम्म सत्य सावित भएको छैन ।

‘अहिले त निर्माण कम्पनीका प्रतिनिधि बस्ने गरेको क्याम्पमा कोही पनि छैनन् । केही समयअघि मेसिनसहित त्यहाँ मान्छे भेटिन्थे,’ रवि बजारका व्यवसायी निरानन्द घिमिरे भन्छन्, ‘अहिले त मेसिन पनि छैनन्, मान्छे पनि छैनन् । काम कसरी हुन्छ त ?’ सडक समस्याकै कारण वर्षायाममा करिब ६ महिना पाँचथरको दक्षिणी भेग र सदरमुकाम फिदिमसँगको सम्पर्क विच्छेदजस्तै हुन्छ ।

‘मंसिरभित्र २० प्रतिशत प्रगति नभए कारबाही’

मन्त्री नेम्बाङले सडक निर्माण अगाडि नबढेपछि ठेकेदार कम्पनीलाई कारबाही गर्ने दोस्रोपटक चेतावनी दिएका छन् । यसअघि जिल्ला समन्वय समितिको चौथो जिल्ला सभा उद्घाटन समारोहमा उनले ठेकेदारमाथि कारबाही गरिने बताएका थिए । शुक्रबार पुनः उनले कारबाही गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा विद्युत् आयोजना उद्घाटन क्रममा उनले प्रतिबद्धता दोहोर्‍याएका हुन् । मन्त्री नेम्बाङले भने, ‘हामीले अन्तिमपटक भनेका छौँ । यो महिनाभित्र २० प्रतिशत प्रगति नभए हामी ठेक्का रद्द गर्छौँ । अर्को ठेक्का दिलाउन चारदेखि पाँच महिना लाग्ला, तर काम हुन्छ ।’ मन्त्रालयले ‘एक्सन’ लिएकै कारण ठेकेदार कम्पनीले एक महिनाको समय मागेको मन्त्री नेम्बाङले बताए ।