१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 03 May, 2025
Invalid date format o६:५६:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

खुलामञ्चमा खाना खाइरहेका सर्वसाधारणलाई बलपूर्वक ट्रकमा हुलेर थापाथली पुर्‍याइयो, थापाथलीमा पनि धुलोमै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:५६:oo

कोरोना प्रसार रोक्न ११ चैतमा जारी लकडाउनलगत्तै लाखौँ मानिस गाउँ फर्किए । जो सहरमै रोकिए, धमाधम रोजगारी खोसियो र बेरोजगार बने । दैनिक छाक टार्नै मुस्किल परेका व्यक्ति/परिवार देखिन थालेपछि केही स्वयंसेवी उनीहरूलाई खाना खुवाउन अग्रसर भए । सबैको पायक पर्ने भएकाले स्वयंसेवीले खुलामञ्च अघिल्तिर बसपार्कलाई खाना वितरण स्थल बनाए । 

हाम्रो टिम नेपालले १४ चैतदेखि नै खाना वितरण थालेको थियो । हन्ड्रेड्स ग्रुप र इन्दिरा रानामगर पनि लकडाउनलगत्तै भोकालाई खाना खुवाउन सक्रिय भए । लकडाउनका वेला पनि मानिस भक्तपुर, ललितपुरसम्मबाट खाना खान पैदल खुलामञ्च पुग्थे । लकडाउन खुकुलो भएको, फेरि निषेधाज्ञा लगाइएको अनि निषेधाज्ञा हटाइएको सबै परिस्थितिबीच भोका नागरिकलाई निःशुल्क खाना वितरणले निरन्तरता पायो ।

तर, कात्तिक तेस्रो साता काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले खुला ठाउँमा मानिसलाई लाइन लगाएर खाना खुवाउँदा मुलुककै बेइज्जती हुने बताउँदै त्यसप्रति असन्तुष्टि जनाएपछि त्यो निरन्तरताले नयाँ मोड लियो । त्यसलगत्तै महानगरले निःशुल्क खाना वितरण रोक्ने प्रयास थाल्यो ।

२१ कात्तिकमा महानगरपालिका र निःशुल्क खाना अभियान सञ्चालन गरिरहेका संघसंस्थाबीच खुला ठाउँमा खाना वितरण बन्द गर्ने र महानगरकै समन्वयमा व्यवस्थित रूपमा खुवाउने सहमति भयो । १ मंसिरसम्म खुलामञ्चबाटै र २ मंसिरदेखि अन्यत्रबाट खाना वितरण गर्ने सहमति थियो ।

लकडाउनपछि खुलामञ्चमा भोजन सेवा सञ्चालन गरिरहँदा कोभिड–१९ को जोखिम झन् बढ्न सक्ने, स्वास्थ्यवद्र्धक वातावरण कायम नहुने र सामाजिक प्रतिष्ठामा समेत आँच आउन सक्ने कुरालाई मध्यनजर गर्दै महानगर र स्वयंसेवी संघसंस्थाबीच खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्ने सहमति गरेका थिए ।

महानगर र संघसंस्थाबीच भएको सम्झौतापत्रमा हाम्रो टिम नेपाल, मानवी क्रिएटिभ एसोसिएसन, लायन्स क्लब अफ काठमाडौं न्यु ग्रिन सिटी, हाम्रो सानो प्रयास, हाम्रो सानो टिम नेपाल, गसिव क्विन नेपाल, हन्ड्रेड्स ग्रुपलगायतका प्रतिनिधिले हस्ताक्षर गरेका थिए । २ मंसिरसम्ममा वैकल्पिक ठाउँ खोजिसक्ने सहमति थियो ।

तर, त्यस्तो ठाउँ फेला नपरेपछि बुधबार बिहान पनि स्वयंसेवीले खुलामञ्चमै खाना खुवाए । त्यहीबीचमा प्रहरी र नगर प्रहरी आए, अनि खाना खाइरहेका सर्वसाधारणलाई ट्रकमा उठाएर थापाथली पुर्‍याए । सर्वसाधारणलाई थापाथलीस्थित प्रसूति गृहको पछाडिको ठाउँमा लगेर राखिएको थियो । स्वयंसेवीले उनीहरूलाई त्यहीँ खाना खुवाएका थिए । अबदेखि त्यहीँ खाना खुवाउने व्यवस्था मिलाइएको महानगरले जनाएको छ ।