मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर १ सोमबार
  • Thursday, 10 July, 2025
२o७७ मङ्सिर १ सोमबार १२:४५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

डोल्पामा हिमपात, आज बिहानै लगाइयो भाइटीका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर १ सोमबार १२:४५:oo

हिमाली जिल्ला डोल्पामा हिमपात भएको छ । भाइटीकाकै दिन जिल्लाका उच्च हिमाली बस्तीहरूमा हिमपात भएको हो ।

आइतबार रातिदेखि भएको मौसम बदलीपछि सोमबार बिहानैदेखि उपल्लो डोल्पा र तल्लो डोल्पाका विभिन्न स्थानमा वर्षासँगै हिमपात सुरु भएको छ ।

उपल्लो डोल्पामा पर्ने शे–फोक्सुन्डाे, डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिकामा पर्ने फोक्सुण्डो, साल्दाङ, धो, तिन्जे, छार्का, मुकोटलगायतका बस्तीहरूमा रातिदेखि हिमपात सुरु भएको शे–फोक्सुन्डाे गाउँपालिका– ८ का अध्यक्ष निमा लामाले जानकारी दिए ।

आइतबार रातिदेखि नै सुरु भएको हिमपातका कारण फोक्सुन्डाे ताल आसपासमा दुई इन्चसम्म हिउँ जम्नुका साथै अहिले पनि निरन्तर हिउँ परिरहेको उनले बताए । 

बाग्लो हिउँ जमेका कारण उपल्लो डोल्पाका डाँडापाखा र विकट गाउँबस्तीहरू सेताम्य हुनुका साथै जनजीवन कष्टर भएको वडा अध्यक्ष लामाले बताए । 

त्यसैगरी तल्लो डोल्पामा पर्ने सहरतारा, दुनै, जुफाल, रह, त्रिपुराकोट, पहाडा, काइगाउँ, रिमी, नर्कु, ल्हाँ, लिकुलगायतका गाउँबस्तीहरूमा सोमबार बिहानैदेखि वर्षात् सुरु भएको छ ।

तल्लो डोल्पाका बलाङ्ग्रा, मुकोट, कागमारालगायतका अग्ला भूभागहरूमा बाग्लो हिउँ जमेको छ ।

वर्षातसँगैको हिमपातका कारण बढेको चिसोका कारण तिहारको भाइटीका प्रभावित भएको त्रिपुरासुन्दरी नगरपालिका– १ का स्थानीय दिलबहादुर विष्टले बताए । 

एक्कासि बढेको चिसोका कारण कतिपय जिल्लावासीले ज्योतिषीले दिएको साइतभन्दा अगाडि अर्थात् सोमबार बिहानै भाइटीका लगाएको उनले बताए । 

नेपाल पञ्चांग निर्णायक समितिले ११ बजेर ३७ मिनेटमा टीकाका उत्तम साइत रहेको जनाएपछि सोमबार दिउँसोसम्म बाग्लो हिँउ जम्ने भएकाले एक ठाउँबाट अर्को ठाउँमा गएर टीकाटालो गर्न समस्या हुने भन्दै बिहानै टीका लगाएको उनले बताए । 

जिल्लाका कतिपय गाउँबस्तीमा स्थानीय देवीदेवता हेराएर टीकाको साइत जुराउने परम्परासमेत रहेको छ । 
डोल्पामा हरेक वर्ष मंसिरदेखि नै हिमपात सुरु हुने भएकाले यस वर्ष तिहार ढिला परेकाले हिमपात भएको स्थानीयको भनाइ छ ।

कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगुलगायतका जिल्लामा तिहारकै दिन पनि बाग्लो हिउँ पर्न सुरु भएको छ ।

मंसिर सुरु भएसँगै गाउँबस्ती नै सेताम्य हुने गरी परेको बाग्लो हिउँको कारण चिसो ह्वात्तै बढेको छ ।