१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २१ शुक्रबार ०८:०६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी लगातार आन्दोलनमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २१ शुक्रबार ०८:०६:००

दैनिक एक घन्टा अस्पतालपरिसरमा प्रदर्शन, महामारीका वेला पर्याप्त सुरक्षा सामग्री, तलबभत्ता उपलब्ध गराउन माग

पर्याप्त सुरक्षा सामग्री र तलब भत्ता समयमा उपलब्ध नगराएको भन्दै वीर अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी आन्दोलनमा उत्रेका छन् । वैशाखदेखि नै समयमा तलब, भत्ता र पर्याप्त सुरक्षा सामग्री नपाएको गुनासो गरिरहेका स्वास्थ्यकर्मीले पछिल्लो चार दिनदेखि एक घन्टे विरोध प्रदर्शन जारी राखेका छन् । 

अस्पताल परिसरमा बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म प्लेकार्डसहित हातमा कालो पट्टी बाँधेर स्वाथ्यकर्मी र कर्मचारी प्रदर्शन गर्दै आएका छन् । गत चैतदेखि नै कोभिड जोखिम भत्ता, कर्मचारी औषधि खरिद खर्च, सेवा विस्तार (ओभरटाइम) भत्ता र स्वास्थ्य सुरक्षाका सामग्री नदिएको भन्दै वीर अस्पतालका कर्मचारी आन्दोलित छन् । 

पर्याप्त सुरक्षा सामग्री नभएकै कारण अस्पतालमा कार्यरत दुई सय ५० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको र एकजनाको ज्यान गएको उनीहरूले बताएका छन् । अस्पतालमा कार्यरत एक हजार पाँच सय स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएका छैनन् । 

यसअघि १६ असोजमा स्वास्थ्यकर्मीले अस्पताल व्यवस्थापनलाई १५ दिनभित्र आफ्ना माग पूरा गराउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । माग पूरा नभएपछि २ कात्तिकमा स्वास्थ्यकर्मीले अस्पतालभित्रै आन्दोलन गरेका थिए । उनीहरूले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. डिएन साह र वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीको कार्यकक्षमा तालाबन्दी समेत गरेका थिए ।

गत चैतदेखि कोभिड भत्ता, औषधि खरिद खर्च र सेवा विस्तार भत्ता तथा स्वास्थ्य सुरक्षाका सामग्री नदिएको भन्दै आन्दोलन जारी राखेको नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए । एउटा मात्रै माग तलब भत्ताको रहेकाले पूरा नहुँदासम्म आन्दोलन जारी रहने उनले बताए । 

कोरोनाको उपचारमा खटिएबापतको भत्तालगायत सुविधा नदिएको उनिहरूको गुनासो छ । तर, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बिरामी नहेर्ने कर्मचारीलाई भत्ता दिन नसक्ने बताउँछन् । ‘जसले प्रत्यक्ष रूपमा सेवा गरेको छ उनीहरूले भत्ता नपाउने भन्ने हुँदैन, तर काम नगर्नेहरूलाई दिन सकिँदैन,’ डा. गौतमले भने । 

१६ चिकित्सकको राजीनामा फिर्ता

अस्पतालको इमर्जेन्सी विभागमा काम गर्ने १६ जना चिकित्सकले बुधबार दिएको सामूहिक राजीनामा फिर्ता लिएका छन् । स्वास्थ्य सुरक्षाका सामग्रीहरू उपलब्ध नगराएको, जोखिम भत्ता नदिएको भन्दै चिकित्सकहरूले राजीनामा दिएका थिए । ज्यालादारी भनेर दसैँ–तिहार भत्ता नदिएको, एकदिनको तलब काटेर दिएको, उपयुक्त स्रोत सामग्री उपलब्ध नगराएको र २४सै घन्टा ड्युटीमा लगाएको उनीहरूको गुनासो थियो ।

महामारीको समयमा खटेर काम गरेका चिकित्सकले भत्ता नपाउनु र राजीनामा दिनु उचित नभएको भन्दै मन्त्रालयले अस्पताल प्रशासनलाई समस्या समाधान गर्न निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशनलगत्तै उनीहरूसँग सहमति भएको अस्पतालले जनाएको छ । 

सरकारले जनताको स्वास्थ्य सेवामा चासो देखाएन : डा. केसी

डा. गोविन्द केसीले स्वास्थ्य सेवामा सरकारको ध्यान नगएको बताएका छन् । बिहीबार विज्ञप्ति जारी गरी डा. केसीले शिक्षा र स्वास्थ्यमा व्यापार गर्ने, तर जनतालाई सेवा दिन कुनै चासो नदेखाएको आरोप लगाएका हुन् । 

१९औँ सत्याग्रहका वेला सरकारले गरेको सहमति एक महिना पुग्न लाग्दासमेत कार्यान्वयन नभएको डा. केसीले बताएका छन् । आफूसँग भएका सम्झौता कार्यान्वयन भएमा मेडिकल शिक्षामा नेपालले फड्को मार्ने उनको भनाइ छ । ‘हामीसँग पछिल्लो सम्झौता भएको अब एक महिना पुग्नै आँटेको छ । सम्झौतामा केही तत्काल गरिहाल्नुपर्ने र अरू लामो समय लाग्ने, तर काम सुरु गरिहाल्नुपर्ने बुँदाहरू छन् । तिनको कार्यान्वयनको प्रक्रिया कहाँ पुग्यो ?’ केसीले सोधेका छन् । विगतमा भएका सम्झौता पनि कार्यान्वयन नभएको केसीले बताएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘विगतमा बारम्बार हामीसँग भएका सम्झौता कार्यान्वयन नभएका तथा प्रधानमन्त्री ओली नेतृत्वको सरकारले यस अगाडि बारम्बार सम्झौताविपरीत काम गरेकाले हामीसँग निरन्तर खबरदारी गर्नुको विकल्प छैन ।’