१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ कार्तिक २० बिहीबार १६:०५:००
Read Time : > 3 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल–बंगलादेश मैत्रीपूर्ण फुटबल : वरीयता सुधार्ने र विश्वकप छनोट केन्द्रित

Read Time : > 3 मिनेट
२०७७ कार्तिक २० बिहीबार १६:०५:००

नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलमा सहभागी हुँदा दुई पक्षमा केन्द्रित हुनेछ । 

पहिलो आसन्न २०२२ को कतार एसियन विश्वकप छनोटमा सहभागी हुनुअघि आफूलाई तयारी पार्नु हो । अर्को फिफा वरीयताको स्थान सुधार गर्नु नै नेपाली टोलीको प्रमुख लक्ष्य रहेको छ ।

यी दुवै लक्ष्य प्राप्तका लागि नेपालले २८ कात्तिक र २ मंसिरमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाली टोली बिहीबार आफ्नो लक्ष्य भेटाउन त्यसतर्फ उडेको छ । कोरोना भाइरस महामारी (कोभिड– १९) बीचमै बंगलादेशको प्रस्ताव स्वीकार गरी नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

‘हामी दुई लक्ष्यका साथ जाँदै छौँ, पहिलो फिफा वरीयता सुधार गर्ने र विश्वकप छनोटको तयारी गर्नु हो,’ ढाका प्रस्थान गर्नुअघि नेपाली टोलीका स्ट्राइकर भरत खवासले भने, ‘लामो समयपछि मैदानमा अभ्यास र प्रतिस्पर्धा गर्न पाउँदा खुसी लागेको छ ।’

नेपाली फुटबल टोलीले गत फागुनमा सम्पन्न सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितापछि दशरथ रंगशालामा पाइला नै टेक्न पाएनन् । 

कोभिड– १९ को महामरीबाट सुरक्षित रहन सरकारले खेलकुदका सबै गतिविधि रोकेको अवस्था छ । यद्यपि एन्फाले साउन महिनामा सात दोबाटोको एन्फा कम्प्लेक्समा विश्वकप तयारीका लागि क्याम्प राखेको थियो । 

त्यसवेला खेलाडी संक्रमित हुनु तथा भदाैमा निशेषाज्ञ जारी भएपछि एन्फाले सबै किसिमको प्रशिक्षण रोकेको थियो । 

दसैँअघि नै विश्वकप तयारीका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रशिक्षण निमित्त राष्ट्रिय खेलकुद परिषद्सँग अनुमति मागेको थियो । 

परिषद्ले एक महिनाछि स्वीकृति प्रदान गरेपछि नेपाली टोलीले रंगशालामा लगभग आठ महिनापछि प्रशिक्षण गर्न अवसर पायो ।

मुख्य प्रशिक्षक योहान कालिन स्विडेनबाट नेपाल आउन सक्ने भएपछि एन्फाले बालगोपाल महर्जनलाई दुई मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । स्विडेनले आफ्ना नागरिकलाई छोटो र लामो यात्रा गर्न प्रतिबन्ध लगाएको छ । 

कालिन नेपाल आउन सकेनन् भने महर्जन नै विश्वकप छनोटसम्म मुख्य प्रशिक्षककै रूपमा रहनेछन् । 

एक साताको अभ्यासपछि खेलाडीमा फिटनेसम व्यापक सुधार आएको प्रशिक्षक महर्जन बताउँछन् । 

‘सुरुको चरणमा फिटनेसमा समस्या देखिएको थियो, त्यसवेला धेरै कमजोरी भएको महसुस गरेको थिएँ,’ प्रशिक्षक महर्जनले भने । लामो समय खेलाडीहरू एकैपटक अभ्यासमा जुट्दा एक–आपसको तालमेल मिलाउन नसकेको उनको भनाइ छ । 

उनी भन्छन्, ‘एक हप्तापछि खेलाडीमा धेरै परिवर्तन पाए, पहिलो सत्रमा उनीहरूबीचको कम्बिनेसन नै मिलेको थिएन, अहिले त्यो समस्या हटेको छ, फिटनेसदेखि खेलसम्म सुधार ल्याएका छन् ।’ 

नेपाली फुटबल टोलीकै लक्क प्रशिक्षक मान्ने महर्जनले खेलाडीमा प्राविधिक तथा शारीरिक समस्या सुधार आएको बताए । बंगलादेशमा एक साताको प्रशिक्षण पछि सुधार आउने उनको विश्वास छ । 

‘यहाँ एक साता प्रशिक्षण गऱ्याैँ, अब हामीले बंगलादेशमा एक साताको अभ्यास गर्छौँ, त्यसमा खेलाडीहरू पुरानै फर्ममा आउने विश्वास लिएका छौँ,’ उनले भने । 

फिफा वरीयतामा नेपाल १ सय ७० तथा बंगलादेश१ सय ८७औँ स्थानमा छन् । नेपालभन्दा बंगलादेश १७ स्थान तल छ । 

नेपाल र बंगलादेशले अन्तिमपटक एक–आपसमा प्रतिस्पर्धा गरेको ०७५ को साफ च्याम्पियनसिप थियो । त्यसवेला नेपालले बंगलादेशलाई २–० ले हराएको थियो । त्यसयता यी दुई टोलीबीच खेल भएको छैन । 

अहिलेसम्म नेपाल र बंगलदेशबीच १९ अन्तर्राष्ट्रिय खेल भएको छ । हेड टु हेडमा बंगलादेशले नेपाललाई १२ खेलमा हराएको छ । 
नेपालले ६ जित निकाल्दा एक खेलमा बंगलादेशलाई बराबरीमा रोकेको छ । नेपाली टोलीले बंगलादेशमा कम्तीमा पाँच दिन क्वारेन्टिनमा बस्नेछ । 

त्यसपछि एक साता प्रशिक्षण गर्नेछ । नेपाली टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षण समय नपुगेको बताएका छन् । 
कोभिड–१९ को प्रभावले प्रशिक्षण गर्न ढिलो भएको उनको भनाइ छ । ‘हामीले अभ्यास गर्न समय कम पायौँ, यद्यपि यो एक साताको प्रशिक्षणलाई सकारात्मक रूपमै लिएको छु,’ कप्तान चेम्जोङले भने, ‘लामाे समयपछि खेलाडीहरू अभ्यासमा फर्कन पाउँदा खुसी छन् ।’ 

कप्तान चेम्जोङका अनुसार अभ्यास खेलका लागि एक महिनाको प्रशिक्षण आवश्यकता पर्छ । दुई साताको प्रशिक्षणले उच्च प्रदर्शन गर्न कठिन हुने उनको बुझाइ छ । 

‘वास्तवमा हामीले एक महिनाअघि नै तयारी गर्नुपर्ने थियो, यो बीचमा विभिन्न समस्या र कोभिड– १९ को प्रभाव पऱ्याे, यो एक साताको प्रशिक्षक अलि कम भएको जस्तो लाग्छ, ठीकै छ अभ्यास गर्न मौका खेलाडीले मौका पाएँ नि,’ उनले भने । 
यता प्रशिक्षक महर्जनले बंगलादेशमा हुने एक साताको प्रशिक्षणपछि खेलाडी फिट हुने विश्वास गर्छन् । 

‘हामीले ढाकामा पूरा अभ्यास सक्छौँ, साथै त्यसवेलासम्म र म्याचअघि खेलाडी पूर्ण रूपले नै फिट हुने विश्वास लिएको छु,’ उनले भने । चार वर्षअघि महर्जनकै प्रशिक्षणमा नेपालले बंगबन्धु गोल्डकप जितेको थियो । 

नेपाली सिनियर टोलीले लगभग तीन दशकपछि अन्तर्राष्ट्रिय फुटलब उपाधि उचालेको मजर्हनकै प्रशिक्षणमा बंगबन्धु गोल्डकप थियो ।

सिनियर खेलाडी संक्रमित हुँदा नयाँलाई मौका
परिषद्को स्वीकृतिपछि खेलाडीले १३ कातिकमा रंगशालामा प्रशिक्षण गर्न मौका पाए । 

एन्फाले प्रारम्भिक चरणमा ३४ खेलाडी अभ्यासका लागि बोलाएको थियो । योबीचमा सात सिनियर खेलाडी संक्रमित भए । 

जसकारण यसपटक टोलीमा ती खेलाडी सहभागी हुन पाएनन् । चोटका कारण एट्याकिङ मिडफिल्डर रोहित चन्द सहभागी हुन पाएनन् । 

मुख्य प्रशिक्षक महर्जनले आठ युवा नयाँ खेलाडीलाई समावेश गरेका छन् । अभ्यासमा देखाएको प्रदर्शनअनुसार केही खेलाडीले मौका पाउन सक्छन् ।

‘केही सिनियर अनुभव खेलाडी संक्रमित हुँदा अलि समस्यामा परेको छ, हामीले युवा खेलाडीलाई प्राथमिकतामा राखेका छौँ, केहीले राम्रो गरेका छन्, यस कारण उनीहरूले डेब्युको अवसर पाउने सम्भावना छ,’ युवा खेलाडीमाथि विश्वास गरेका महर्जनले भने, ‘यो फरक अवस्थामा नौलो अनुभव भइरहेको छ, छनोट गर्ने काम निकै गाह्रो छ, टिम गेम हो त्यति समस्या नहोला कि, यो समयमा कोरोनाले नै खेलाडी छनोट गरेको छ ।’ 

दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की र छिरिङ गुरुङ राष्ट्रिय टोलीमा छनोट भएका युवा खेलाडी हुन् । 

नेपाली टोलीका गोलरक्षक प्रशिक्षणमा विकास मल्ल छन् ।