
नेपाल पुलिस क्लबले १४औँ जितपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा सोमबार मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै उपाधि हात पारेको छ । नौ वर्षपछि फाइनल पुगेको पुलिसले दोस्रोपटकको प्रयासमा च्याम्पियन ट्रफी उचालेको हो । निर्धारित तथा थप भएको समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । त्यसपछि खेलको छिनोफानो टाइब्रेकरबाट भएको थियो ।
मच्छिन्द्रका दुई खेलाडीले रातो कार्ड पाउँदा नौजना खेलाडीमा टोली सीमित भएको थियो । यद्यपि, पुलिसले यसको फाइदा लिन सकेन । टाइब्रेकरमा मच्छिन्द्र र पुलिसले सुरुवाती ३–३ गोल गरेका थिए । मच्छिन्द्रका खेलाडीले चौथो र पाँचौँ प्रहार पुलिसका गोलरक्षक अमितले उत्कृष्ट बचाउ गरेका थिए । मच्छिन्द्रको पाँचौँ टाइब्रेकर असफल भएपछि पुलिसले एक प्रहार गर्दा नै पहिलोपटक ट्रफी हात पारेको हो ।
हारसँगै मच्छिन्द्रको मोसफलमा आयोजना भएको चौथो उपाधि जित्ने सपना अधुरो भयो । यसअघि मच्छिन्द्रले विराटसहित मकवानपुर र केपी ओली कप उपाधि जितेको थियो । मच्छिन्द्रले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० र सेमिफाइनलमा सलहेश युवा क्लब सिराहालाई २–० ले पराजित गर्दै अन्तिम दुईको स्थान पक्का गरेको थियो । पुलिसले क्वार्टरफाइनलमा आयोजक सिमरालाई २–१ र सेमिफाइनलमा एपिएफ क्लबलाई ३–२ ले पराजित गर्दै उपाधि होडमा आफूलाई उभ्याएको हो ।
प्रतियोगितामा नवज्योति युथ क्लबका प्रज्वल थापामगर उदीयमान खेलाडी भए । फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका पुलिसका गोलरक्षक नै उत्कृष्ट भए । यसैगरी वीरगन्जका फागुराम चौधरी र पुलिसका उज्वल राई सर्वाधिक गोलकर्ता भए । दुवैले प्रतियोगितामा समान दुई गोल गरे । प्रतियोगितामा मच्छिन्द्रका विमल घर्तीमगर मोस्ट भ्यालुएबल खेलाडी भए । अनुशासित टोलीको उपाधि नवज्योतिले पाएको छ ।
उपाधि विजेताहरू
०८१ नेपाल पुलिस
०७९ चर्च ब्वाइज युनाइटेड
०७८ न्युरोड टिम (एनआरटी)
०७७ संकटा
०७५ थ्री स्टार
०७४ त्रिभुवन आर्मी
०७३ संकटा
०७२ विजय युथ क्लब हेटौँडा
०७१ त्रिभुवन आर्मी
०७० नव जनजागृति सिमरा
०६९ मनाङ मस्र्याङ्दी
०६८ मनाङ मस्र्याङ्दी
०६७ हिमालयन शेर्पा
०६६ मजदुर सहिद स्मृति