निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १३ शुक्रबार
  • Friday, 27 May, 2022
२०७७ कार्तिक १६ आइतबार ०८:५३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बोक्सीको आरोपमा आफ्नै छोराद्वारा कुटिएकी ९० वर्षीया आमाको मृत्यु

Read Time : > 1 मिनेट
२०७७ कार्तिक १६ आइतबार ०८:५३:००

बोक्सीको आरोपमा आफ्नै छोराद्वारा निर्घात कुटिएकी ९० वर्षीया सुदामादेवी साह सोनारको मृत्यु भएको छ । दसैँको अर्को दिन सिराहाको कर्जन्हा नगरपालिका– ३ की ९० वर्षीया सोनारलाई आफ्नै छोराले बोक्सीको आरोपमा कुटपिट गरेर मलमूत्र खुवाउने प्रयास गरेका थिए । 

छोराको कुटपिटबाट गम्भीर घाइते भएकी उनलाई सुरुमा उपचारका लागि जनकपुर लगिएको थियो ।  कुटपिटबाट उनको घाँटी थिचिएको र घाँटीको हड्डी मोडिएकोले ९० वर्षको उमेरमा हड्डीको सुधार हुँदैन भन्दै अस्पतालले डिस्चार्ज गरिदिएको थियो । वृद्धाको स्वास्थ्य अवस्था गम्भीर बनेपछि थप उपचारका लागि उनलाई सिराहा अस्पताल पुर्‍याएलगत्तै शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । 

सिराहा प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार आमालाई कुटपिट गर्ने कान्छो छोरा रामअवतार साहलाई पक्राउ गरी थप अनुसन्धान थालिएको छ ।साहलाई मिर्चैया प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए ।

मृतक वृद्धाको शव सिराहा अस्पतालको शवगृहमा राखिएको र आइतबार पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादवले बताए । 

मेसु डा. यादवका अनुसार वृद्धाको स्वास्थ्य अवस्था नाजुक भएको प्रहरीमार्फत थाहा पाएपछि सिराहा अस्पताल ल्याउन भनिएको थियो । ‘अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउन नपाउँदै उहाँकाे गेटमै मृत्यु भइसकेछ,’ डा. यादवले भने, ‘वृद्ध उमेर, कुटपिटबाट घाँटीको हड्डी भाँचिएको कारणले मृत्यु भएको अनुमान गरिएको छ, यद्यपि पोस्टमार्टम गरेर त्यसको रिपोर्ट आएपछि मात्र यकिन भन्न सकिन्छ ।’ 

अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएकी वृद्धाको दुवै हातको औँठामा मसी लागेको पाइएको कर्जन्हा-३ का वडाध्यक्ष कपलेश्वर यादवले बताए । ‘कुटपिट गरी दुर्व्यवहार गर्ने कान्छो छोरा रामअवतारले १२ कात्तिकको राति ९ बजेतिर दोस्रोपल्ट उपचारका लागि जनकपुर लैजाने वेलामै वृद्धाको औँठाछाप लगाएको हुन सक्ने आशंका छ,’ वडाध्यक्ष यादवले भने, ‘वृद्धाको हकभोगमा रहेको करिब पाँच कट्ठा ऐलानी जमिन हत्याउने उद्देश्य हुन सक्छ ।’

प्रहरी नायव उपरीक्षक पौडेलले भने मृतकको हातको औँठामा मसी लागेको विषयमा थाहा नभएको बताए । पतिको निधनपछि उनी एक्लै बस्दै आएकी थिइन् । दुई छोरा आ–आफ्नो परिवारसहित अलग रहेको र तीन छोरीहरूको विवाह भएपछि वृद्धा एक्लै बस्दै आएकी गाउँलेहरू बताउँछन् । 

११ कात्तिकमा रामअवतारले आफ्नी बुहारी मनीषा साह सोनारको खुट्टामा भएको घाउ निको बनाउन पहल नगरेको भन्दै आमाको घाँटी थिचेर कुटपिटसहित दुर्व्यवहार गर्नुका साथै मलमूत्र खुवाउने असफल प्रयास गरेका थिए । 

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवालले आमालाई कुटपिटसहित दुर्व्यवहार गर्ने छोरा रामअवतारलाई छानबिनका लागि नियन्त्रणमा लिएर अनुसन्धान जारी राखिएको बताए ।

यो पनि पढ्नुहोस् : बिमार छ हाम्रो समाज