Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन प्यासी काठमाडौं
२०७७ कार्तिक १२ बुधबार १८:००:००
Read Time : > 3 मिनेट
सप्तरंग डिजिटल संस्करण

कोरोना संकटबीच धमाधम फिल्म सुटिङ

लकडाउन र निषेधाज्ञाका कारण रोकिएका चलचित्र सुटिङ गर्न कस्सिए निर्माता–निर्देशक, आधा दर्जन चलचित्र फ्लोरमा

Read Time : > 3 मिनेट
नवीन प्यासी, काठमाडौं
२०७७ कार्तिक १२ बुधबार १८:००:००

देशभर कोरोना संक्रमितको संख्या तीव्र रूपमा बढिरहेको छ । ५ कात्तिकमा एकैदिन पाँच हजार सात सय ४३ जनामा कोरोना पजिटिभ भएको रिपोर्ट आयो । दैनिक चार हजार र पाँच हजारवरिपरिको रिपोर्ट आइरहेको समयमा दसैँ सुरु भइसकेको थियो । दसैँका लागि मानिस घर फर्किरहेका थिए ।

दसैँ सकिँदै गर्दा गाउँघरतिर चहलपहल उस्तै छ । तर, कोरोना संक्रमणको जोखिम झनै बढेको छ । गत ११ चैतमा लकडाउन घोषणा भयो । पाँच महिनापछि बिस्तारै विभिन्न क्षेत्र खुल्दै गए । तर, आठ महिनायता चलचित्र उद्योग ठप्प छ । दैनिक संक्रमण बढिरहेकाले मनोरञ्जन क्षेत्र तत्काल खुल्ने कुनै संकेत छैन ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल मनोरञ्जन क्षेत्र खुलाउने विषयमा बोर्डले पहल गरिरहेको बताउँछन् । केही समयअघि निर्माता संघ, कलाकार संघ, विकास बोर्डले हल खुलाउनेबारे सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । तर, निर्णय आइसकेको छैन । तर, कोरोना पर्वाह नगरी निर्माता–निर्देशक आफ्ना चलचित्र सुटिङ गर्न कस्सिएका छन्।

पहिलो लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण सुटिङ रोकिएका केही चलचित्रको भने छायांकन सुरु भइसकेको छ । लकडाउनअगावै सुरक्षाका लागि भन्दै रोकिएको चलचित्र ‘ए मेरो हजुर ४’ को सुटिङ पुनः सुरु भएको छ । घटस्थापनादेखि सुरु भएको चलचित्रको सुटिङ फूलपातीसम्म चल्यो । दसैँका लागि रोकिएर पूर्णिमादेखि पुनः सुरु हुनेछ ।

चलचित्रका निर्माता सुनीलकुमार थापाका अनुसार अहिले इन्डोर सुटिङ भइरहेको छ । काठमाडौंमै भइरहेको सुटिङका लागि गीतहरूमाथि काम गर्नु नपर्ने भएकाले पनि सहज भइरहेको थापा बताउँछन् । युनिटका सबैको बिमा गरेर काम भइरहेको चलचित्रको ५० प्रतिशत सुटिङ भने लकडाउनअगावै सकिएको थियो ।

०००

यस्तै, चलचित्र ‘आई एम ट्वान्टी वान’को पनि सुटिङ सुरु भएको छ । रेनाशा वान्तवा राईले निर्देशन गरिरहेको चलचित्र फूलपातीसम्म सुटिङ गरेर रोकियो, दसैँपछि पुनः सुरु हुनेछ । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर सुटिङ भइरहेको राई बताउँछिन् ।

कलाकार र प्राविधिकको बिमा गरेर सुटिङ थालिएको चलचित्रको सेटमा २५ जनाभन्दा कमलाई राखेर काम भइरहेको छ । कसैलाई केही भइहालेमा कन्ट्रयाक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले पनि प्राविधिक र कलाकारलाई बाहिरका मान्छेसँग भेट नगराई काम भइरहेको निर्माण टिमको दाबी छ । चलचित्रमा धीरज मगर र जसिता गुरुङको मुख्य अभिनय छ ।

यस्तै, अर्को चलचित्र ‘चोर पुलिस’को दोलखामा सुटिङ सुरु भएको छ । धार्मिक–पर्यटकीय क्षेत्र कालिञ्चाेक आसपास ‘कुन देशकी परी..’ बोलको गीतबाट सुटिङ थालिएको छ । आरएल लामाको निर्देशनमा बन्ने चलचित्रमा कविता राय, आरएल लामा, बुद्धि तामाङ, धीरेन शाक्यलगायत कलाकारको अभिनय रहनेछ ।

लकडाउनकै वेला म्युजिक भिडियोको सुटिङ व्यापक भइरहेको थियो । दोस्रो लकडाउनदेखि म्युजिक भिडियोहरू अत्यधिक सुटिङ भए । अहिले पनि भइरहेकै छन् । अधिकांश ठूलो पर्दाका कारण म्युजिक भिडियोमा अभिनय गरिरहेका छन् । यसबीचमै चलचित्रको पनि सुटिङ प्रारम्भ भएको हो ।

भारतको कुरा बेग्लै छ । बलिउडमा भने चलचित्रको धमाधम सुटिङ भइरहेका छन् । सरकारले १५ अक्टोबरदेखि ५० प्रतिशत दर्शक राखेर चलचित्र प्रदर्शन गर्न अनुमति दिइसकेको छ । एक हिसाबले बलिउड चलायमान भइसकेको छ । तर, सुटिङका लागि नेपाल सरकारले अहिलेसम्म अनुमति दिएको छैन । तैपनि चलचित्रहरू सुटिङ भइरहेका छन् ।

‘हामीले विकास बोर्डलाई पनि भनेका छौँ । बोर्डबाट लिखित अनुमति नपाए पनि मौखिक अनुमति पाएका छौँ,’ निर्माता सुनील थापा भन्छन् । बोर्डबाट पाएको मौखिक अनुमतिका आधारमै आफूहरूले चलचित्र सुटिङ सुरु गरेको उनको भनाइ छ ।

०००

कोरोना संक्रमितको संख्या दिनदिनै बढेका वेला निर्माता निर्देशकलाई सुटिङ गरिहाल्नुपर्ने चटारो किन परिरहेको छ ? भन्ने प्रश्न नउठेको भने होइन । निर्माताहरूलाई चलचित्रमा भएको लगानीको ब्याजको तनाव छ ।

कलाकारलाई पनि नयाँ चलचित्रमा काम गर्नुपर्ने भएकाले पुरानो चलचित्रको काम कसरी सकाउने भन्ने चिन्ता छ । प्राविधिकहरू काम नभएर यत्तिकै थन्किरहेको अवस्था छ । यी यावत् कारण पनि सुटिङ गर्नुपर्ने अवस्था आइपरेको निर्माता थापाको कथन छ ।

उनका अनुसार ‘ए मेरो हजुर ४’ चलचित्रमा कुकुरको पनि भूमिका छ । सानो हुँदा ल्याएको कुकुर बढेर ठूलो हुन लागिसकेको छ । कलाकार मोटाउलान् कि भन्ने अर्को चिन्ता छ । ‘कुकुर बढेर ठूलो देखियो भने अर्को खोज्नुपर्ने झन्झट हुन्छ । आधा सुटिङ भइसकेको उस्तै रङ र आकारको कुकुर कसरी र कहाँ पाउने ?’ थापा सुनाउँछन्, ‘कलाकार मोटाउने सम्भावना पनि उस्तै छ । त्यसले अर्को तनाव दिइरहेको थियो । यिनै कारणले गर्दा हामी सुटिङ गर्न बाध्य भएका हौँ ।’

निर्माता थापाका अनुसार कोरोना कहरकै बीचमा जब ‘ए मेरो हजुर ४’ सुटिङ हुने भयो, तब प्राविधिकदेखि कलाकार सबै खुसी देखिए । सबैमा काम गर्ने उत्साह र उमंग थियो । सबैमा त्यो किसिमको ऊर्जा देखेर आफू छक्क परेको बताउँछन् थापा । यही जोस र जाँगरले गर्दा नै काम राम्रो बन्ने उनको विश्वास छ ।

‘लामो समयपछि पुनः सबै टिम भेटिएर काम सुरु गर्दा बिल्कुल नयाँ काम गरिरहेका छौँ कि लागिरह्यो । सबैसँग यस्तो उत्साह थियो कि हामीले अगाडिको बाँकी रहेको काम गरिरहेका छौँ भन्ने महसुस नै भएन,’ थापा भन्छन् । चलचित्रको मुख्य भूमिकामा अनमोल केसी र सुहाना थापा छन् । चलचित्रको निर्देशन झरना थापाले गरिरहेकी छिन् । २० जनाको टिममा सुटिङ भइरहेको चलचित्र ६ महिनाभित्र हलमा प्रदर्शन गर्ने योजना छ ।