गृह मन्त्रालयले दसैँको वेला मन्दिर तथा शक्तिपीठहरू नियमित पूजा गर्नबाहेक भक्तजनको लागि खुला नगर्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मन्दिर तथा शक्तिपीठहरूमा भिडभाड हुँदा कोभिड १९ संक्रमणको जोखिम झनै बढ्ने भएकाले भक्तालुहरूका लागि रोक लगाइएको बताए । तर, नित्य पूजाआजा भने नियमित रूपमा सुचारु गर्न सकिने उनले बताए ।
मन्दिरमा भिडभाड नगर्न स्वास्थ्य मन्त्रालयले समेत आग्रह गरिरहेकाले त्यसको कार्यान्वयनका लागि गृह मन्त्रालयले सहयोग गर्ने उनले बताए ।
दसैँको वेला विभिन्न शक्तिपीठहरूमा विशेष पूजाआजा गरिन्छ भने धेरै संख्यामा भक्तालुहरू पुग्ने गर्छन् । त्यसैले मन्दिरहरूमा हुन सक्ने भिडभाडलाई ध्यान दिँदै सरकारले नियमित पूजाआजाबाहेकका सबै धार्मिक र सांस्कृतिक गतिविधि गर्नमा रोक लगाएको हो ।