१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज २८ बुधबार
  • Wednesday, 02 July, 2025
२o७७ असोज २८ बुधबार १५:४६:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

जाडोमा कसरी जोगाउने शरीरको छाला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज २८ बुधबार १५:४६:oo

जाडो मौसम सुरु भएसँगै कतिपयको छालामा विभिन्न समस्या आउन थाल्छन् । विशेषगरी जाडोयाममा सुक्खा हुने भएकाले छाला खस्रो हुने तथा फुट्ने गर्छ । जाडोमा छाला बिग्रनुको मुख्य कारण चिसो हावाको प्रभाव, पानी कम पिउनु, फलफूल वा सागसब्जीजस्ता छालाका लागि आवश्यक तत्वको कम प्रयोग गर्नु, क्रिमको प्रयोग गर्न अल्छी मान्नु वा बानी नगर्नु आदि हुन सक्छन् । 

साथै मौसममा बढ्ने धुँवा–धुलो र प्रदूषणले पनि छालामा प्रत्यक्ष प्रभाव पारिरहेको हुन सक्छ । महिलाको सन्दर्भमा मेकअप गर्दा छालाको ख्याल नगर्ने, मेकअप सफा नगरी सुत्ने, समयसमयमा फेसियल नगर्नेजस्ता बानीले पनि छालामा असर परिरहेको हुन्छ । 

बाहिरी वातावरण र शरीरको तापक्रम मेल नखाँदा जाडो मौसममा छाला बढी प्रभावित हुन्छ । चिसो मौसममा छालालाई स्वस्थ राख्न विशेष ध्यान पु¥याउनु आवश्यक हुन्छ । 
जाडोयाममा पानी कम पिउने हुँदा पनि छालामा सुक्खापन देखिन्छ । चिसो हावाले शरीरमा भएको पानीलाई सोस्छ, पर्याप्त पानी नहँुदा छाला फुट्छ । तसर्थ जाडोयाममा बाहिर निस्कँदा सकेसम्म शरीर पूरै ढाक्ने खालको लुगा लगाउनुपर्छ । 

यो मौसममा प्रायः मानिस घाममा बस्न रुचाउँछन्, तर घाममा अत्यधिक बस्दा एलर्जी हुने सम्भावना हुन्छ । यसबाट बच्न घाममा निस्कँदा सनस्क्रिन लगाएर मात्र निस्कनुपर्छ । 
जाडोको असर प्रायजसो हात, खुट्टा, ओठ, अनुहार र आँखामा बढी पर्ने भएकाले विशेष ध्यान पु¥याउनुपर्ने हुन्छ । यसका लागि हातखुट्टामा मोइस्चराइजरको प्रयोग गर्नुपर्छ । जसले छालामा एकप्रकारको मजबुत पत्र बनाउँछ । जसले साधारण क्रिमको तुलनामा छालालाई नरम बनाउन मद्दत पु¥याउँछ । 

मनतातो पानीको प्रयोग छालाका लागि राम्रो
नुहाउँदा तातोपानीको प्रयोग गर्नुपर्छ । तर, धेरै तातोपानीले छालामा असर पु¥याउने भएकाले सकेसम्म चिसो वा मनतातो पानीको प्रयोग गर्नु प्रभावकारी मानिन्छ । अत्यधिक चिसोका कारण सोरियस अर्थात् कत्ले रोग हुने सम्भावना हुन्छ । यसका साथै जाडोको समयमा चायाले पनि सताउँछ । चिसोका कारण शरीरको राम्रोसँग हेरचाह नहुने हुँदा यस्ता समस्या आउँछन् । यसका साथै कतिपय मानिसले चिसोमा लामो समयसम्म ननुहाउने, मैलो लुगा लगाउने गर्छन्, जसका कारण लुतोलगायत छालासम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ । तसर्थ यस्ता रोगबाट बच्न सकेसम्म सरसफाइ गर्नु आवश्यक हुन्छ । छालासम्बन्धी रोग लागिहालेमा चिकित्सकसँग परामर्श गनुपर्छ ।