१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

स्वास्थ्यकर्मीलाई पिपिई हस्तान्तरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:४९:oo

कोरोना भाइरसको संक्रमण बढिरहेका वेला फ्रन्टलाइनमा बसेर स्वास्थ्य सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) हस्तान्तरण गरिएको छ। 

जिल्लाका १७ स्थानीय तहका एक सय चार स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य अधिकृत, स्वास्थ्य सहायक, अहेव, अनमिलगायतका स्वास्थ्यकर्मीका लागि पिपिई हस्तान्तरण गरिएको हो ।  

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सहयोग तथा एक्सन एड नेपाल तथा दलित जनकल्याण युवा क्लब लहानको सहकार्यमा हस्तान्तरण गरिएको पिपिईले स्वास्थ्यकर्मीमा संक्रमणको जोखिम घट्ने अपेक्षा गरिएको स्वास्थ्य कार्यालय सिराहाका निमित्त प्रमुख कृष्णदेव यादवले बताए। 

जिल्ला सदरमुकाम सिराहास्थित रेडक्रस भवनमा आयोजित एक समारोहबीच पुनः प्रयोग गर्न सकिने पिपिई, चस्मा, ग्लोभ्स, एन ९५ माक्स, स्यानिटाजरलगायतका सामग्रीसहितको सात सय ५० सेट सामग्री १७ स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखलाई हस्तान्तरण गरिएको हो । 

सामग्री हस्तान्तरण गर्दै सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले चार्डपर्व नजिकिँदै गएका वेला आधारभूत स्वास्थ्य सेवाको क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीहरू थप सुरक्षित हुने बताए ।

‘कोरोना संक्रमितको संख्याको आधारमा सिराहा मुलुककै दोस्राे स्थानमा छ,’ प्रजिअ कँडेलले भने, ‘संक्रमण बढिरहेका वेला फ्रन्टलाइनर स्वास्थ्यकर्मी थप सजग नभए जनताले आधारभूत स्वास्थ्य सेवासमेत नपाउने अवस्था आउन सक्छ ।’ 

३२ स्वास्थ्यकर्मी संक्रमित

स्वास्थ्य कार्यालय सिराहाका निमित्त प्रमुख यादवका अनुसार बिहीबार साँझसम्म जिल्लामा दुईजना स्वास्थ्य शाखा प्रमुख, पोलिक्लिनिकका एकजना चिकित्सक र २९ जना स्वास्थ्यकर्मी गरी ३२ जना फ्रन्टलाइनर स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । 

‘विभिन्न स्थानीय तहअन्तर्गत रहेका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीबाहेक अझै सहरी स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य सेवा केन्द्र, सामुदायिक स्वास्थ्य सेवा केन्द्रमा कार्यरत करिब दुई सयजनालाई पिपिई अपुग भएको छ,’ उनले भने, ‘अपुग पिपिईका लागि दातृ निकायलाई सहयोग गर्न आग्रह गर्दछु ।’

स्वास्थ्य कार्यालय सिराहाका अनुसार बिहीबार साँझसम्म जिल्लामा स्वास्थ्यकर्मीसहित एक हजार तीन सय ६१ जना संक्रमित भएकामध्ये ६ सय ६६ जना उपचारपछि कोरोनामुक्त भएका छन् ।

जिल्लामा गोलबजार, विष्णुपुर, मिर्चैया, लहान, सुखीपुर र कर्जन्हामा गरी १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

ad
ad