१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १४ बुधबार १३:१०:००
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

लगनबहाल पार्क : मल्लकालीन इतिहास जोगाउन माग

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १४ बुधबार १३:१०:००

काठमाडौंको लगनबहालका स्थानीयवासीले लगं बहाः अर्थात् लगनबहालको मल्लकालीन पुरातात्विक इतिहास र अस्तित्व जोगाउन माग गरेका छन् । 

लगनबहालमा काठमाडौं महानगरपालिकाले पार्क निर्माण गर्ने योजना अघि सारेको छ । तर, पार्क निर्माण हुँदा ऐतिहासिक सांस्कृतिक, पुरातात्विक महत्वका मौलिक सम्पदा मास्न नहुने उनीहरू बताउँछन् । 

चार सय वर्ष पुरानो इतिहास बोकेको लगनबहालको इतिहासलाई मेट्ने गरी राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले चलखेल गरेको स्थानीयको आरोप छ । 

शिलाखाना नमास्न माग गर्दै पुरानो इतिहास बोकेको लगनबहाललाई ओझेलमा पार्ने काम भएपछि स्थानीयवासी थप आक्रोशित भएका हुन् । अधिवक्ता प्रकाशमणि शर्मा, सञ्जय अधिकारी र राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानका कोषाध्यक्ष सुशीलविक्रम थापाले शिलाखाना नमास्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । 

‘प्राचीनकालमा दक्षिण कोलिग्राम सभ्यताले परिचित काठमाडौंको तल्लो भेगको क्षेत्र (कोने) मा अवस्थित लगं बहाः ऐतिहासिक तथा पुरातात्विक महत्वको बिहार हो,’ स्थानीय शैलेश शाक्यले भने, ‘ती बिहारमध्ये निर्माण गर्ने भनिएको लगं पार्क क्षेत्रमा प्रताप मल्लको पालामा नै बौद्ध बिहार अस्तित्वमा रहेको इतिहास छ, उक्त क्षेत्रमा प्रताप मल्लका छोराहरू नृपेन्द्र मल्ल र चक्रबदेन्द्र मल्लका पालाका शिलालेखहरू तथा चैत्यहरू अहिलेसम्म पनि यत्रतत्र छरिएर रहेका छन् ।’ 

उनका अनुसार प्रताप मल्लको पालादेखि नै अस्तित्वमा रहेको उक्त ठाउँको बिहार कीर्तिपुण्य महाबिहार लगं बहाको  कचा बहा (शाखा बिहार)को रूपमा अवस्थित थियो ।   

तर, अहिले भीमसेन थापाको भाइको इतिहाससँग जोडेर प्रताप मल्लकालीन ऐतिहासिक महत्वलाई ओझेल पार्ने काम भइरहेको स्थानीयहरूको गुनासो छ । 

‘भीमसेन थापाका भाइ रणवीरसिंह थापा (स्वामी अभयानन्द)को घरको मात्रै इतिहास उल्लेख गरी त्यहाँ रहेको तबेलाको समेत कुरा उल्लेख नगरी मल्लकालीन इतिहासलाई तोडमोड गर्ने काम भइरहेको छ,’ उनले भने, ‘नृपेन्द्रमल्लका पालाको चैत्य तथा अन्य बिहार र वास्तुकलाअनुसारका कलाकृति अहिले पनि त्यहाँ पाइन्छ । त्यसले पनि यो मल्लकालीन सम्पदा हो भन्ने प्रमाण हुन्छ ।’ 

अन्तिम मल्ल राजा जयप्रकाश मल्लले दोस्री महारानी लगं बहालको शाक्य कुलकी पुत्री रहेको र उनको छोरालाई दरबारमा राजकुमार बनाउने चाहना पूरा नभएपछि मावली टोलमै भएको बिहार लगं बहालमा बौद्ध परम्पराअनुसार चूडाकर्म (बरे छुयेगु) गरी बिहार संघको सदस्य बनाएको इतिहास छ । 

शाक्यले छोराहरूलाई लगं बहालकोे बाहिरपट्टि रहेको अर्को बिहार (जहाँ अहिले पार्क बनाउन लागिएको हो उक्त ठाउँमा) मा प्रतापमल्ल कालीन बिहार जीर्णोद्वार गरी आफ्नो छोराहरूलाई बौद्ध बिहारमा स्थापित गरेको इतिहास प्रमाण रहेको पनि जानकारी दिए । 

अहिले पनि त्यस स्थानमा ऐतिहासिक बिहारका बौद्ध चैत्यका साथै बिहारसँग सम्बन्धित अन्य मूर्ति र शिलापत्रसहितका भग्नावशेषहरु भेटिनुले पनि त्यहाँ बौद्ध बिहार रहेको तथ्यलाई कसैले नकार्न नसकिने उनको तर्क छ । 

‘जयप्रकाश मल्लले वि.सं. १८०१ मा उक्त विहारमा बज्रधातु मण्डललगायत अन्य बौद्ध मूर्तिहरू स्थापना गरेको विभिन्न शिलालेखको अध्ययनबाट प्रमाणित हुन्छ । 

त्यसैले यो क्षेत्र पौराणिक ऐतिहासिक तथा पुरात्वात्विक दृष्टिले अति नै महत्वपूर्ण स्थान हो,’ शाक्यले भने, ‘भीमसेन थापाका भाइलाई निर्माण गरिएको निजी निवास र तबेलाभन्दा मल्लकालीन बौद्ध बिहार ऐतिहासिक  तथा पुरातात्विक दृष्टिकोणले पनि महत्वपूर्ण रहेको छ । 

त्यहाँ निर्माण गरेका बौद्ध बिहार यहीँका स्थानीय जनताको पुर्खौली सम्पत्ति पनि हो । तर, अहिले रणवीरसिंह थापाको मात्रै इतिहास जोडेर मल्लकालीन इतिहास मेटाउने काम भएको छ । त्यसमा हाम्रो ध्यानाकर्षण भएको छ ।’ 

‘वि.सं. १९०० पुस १२ मा नेपालका मुख्तियार बनेका माथवरसिंह थापालाई १९०१ असोज ७ गते प्रधानमन्त्री र कमान्डर इन चिफसमेत नियुक्ति गरेको र उनी शक्तिमा आएपछि थापाले लंग बहालको बाहिर जयप्रकाश मल्लले स्थापना गरेको उक्त बिहारसमेत नष्ट गरी रणवीरसिंह थापा बस्ने गरेको घरलाई समेत विस्तार गरेका थिए,’ शाक्यले भने, ‘उक्त बिहारमा बसोवास गर्ने लगं बहाःका शाक्य परिवारलाई त्यहाँभन्दा अलिक पर ध्वाखासी नाय्पाःच्व भन्ने ठाउँमा स्थानान्तरण गरे ।’ 

स्थानीयवनसीले गएको जेठमै यहाँको बौद्ध बिहार नै पुनर्निर्माण गर्नुपर्ने माग गर्दै निवेदन दिएका थिए । 

हाल महानगरले स्थानीयवासीको मागबमोजिम नै लगन बिहार र शिलाखाना दुवैको महत्वलाई जीवित राख्दै खुला ठाउँको सदुपयोग गरी पार्क निर्माणको काम अघि बढाएको छ । 

घनाबस्ती रहेको भित्री सहरको यो ऐतिहासिक तथा अद्वितीय कलाकृति भएको स्थानमा पुरातात्विक महत्वलाई जगेर्ना गर्दै सर्वसाधारणलाई स्वच्छ हावा लिने वातावरण निर्माण होस् भन्ने हेतुले पार्क निर्माणको कार्य अघि बढाएको पनि महानगरका अधिकारीहरू बताउँछन् । 

महानगरले यस्तै ऐतिहासिक ठाउँहरूमा चार दर्जनभन्दा बढी पार्क निर्माण गर्दै छ ।  

स्थानीयहरूले काठमाडौं महानगरपालिकालाई बुझाएको पत्रमा पनि सो ठाउँमा जयप्रकाश मल्लले जीर्णोद्धार गरेको बिहार माथवरसिंह थापाले अतिक्रमण गरी बिहारको अस्तित्व  समाप्त गरेको व्यहोरा जोन के. लकले आफ्नो पुस्तक ‘बुद्धिष्ट मोनास्ट्रिज अफ नेपालमा समावेश भएको उल्लेख गरेका छन् ।   

अहिले भवनमा रहेको विश्वरूपको भित्तेचित्रमा उल्लेखित मितिअनुसार यो संरचना वि.सं. १८७६ मा निर्माण भएको देखिन्छ । त्यसलाई आधार मान्ने हो भने पनि त्यो भवनको भन्दा त्यहाँको बिहारको इतिहास धेरै पुरानो हो भन्ने प्रमाण हुन्छ ।  

पछिल्लो समय शिलाखानाका रूपमा प्रयोग हुँदै आएको उक्त भवन २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको थियो । 

‘शिलाखाना रहेको पुरानो भवन लामो समयसम्म जीर्ण अवस्थामा थियो । वर्षातकाे समयमा भवनको एउटा खण्ड करिब एक दशकअघि नै भत्किएको थियो,’ शाक्यले भने, ‘बाँकी खण्ड पनि ०७२ सालको भूकम्पले भत्केपछि पुरातत्व विभाग, काठमाडौं महानगरपालिका र नेपाली सेनाको सहभागितामा भग्नावशेषहरू सफा गरी खुला स्थान बनाइएको थियो ।’ 

सुशीलविक्रम थापालगायतले सर्वोच्चमा मुद्दा दायर गरेपछि अहिले पार्क निर्माणको काम रोकिएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।  

न्यायाधीश हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको ८ असोजको संयुक्त इजलासले १८ असोजका लागि पेसी तोकेको छ । सर्वोच्चले शिलाखानाको जगलाई असर नपर्ने गरी संरचना निर्माण गरेको प्रमाणसहित उपस्थित हुन दुवै पक्षलाई उपस्थित हुन भनेको छ । 

महानगरपालिका भने सर्वोच्चमा मुद्दा चलिरहेको भन्दै यो विषयमा बालेको छैन । सहरी योजना आयोगले तयार पारेको डिजाइनअनुसार यो स्थानमा पहिलाको भवनको स्वरूपलाई मूर्तरूप दिनका लागि त्यही स्थानमा भवनको जगले नओगटेको स्थानमा असर नपर्ने गरी पुरातात्विक महत्वका सामग्रीहरू राख्न रेप्लिका (प्रतिरूप) संग्रहालयसमेत निर्माण गरिनेछ ।

विपतका  वेलामा समेत मानवजीवन बचाउनका घनाबस्ती रहेको यस्तो स्थानमा दुवैको ऐतिहासिक महत्वलाई संरक्षण गर्दै सहमतिका साथ अघि बढेको पनि आयोगको भनाइ छ । 

आठ सय वर्गफिट जमिन ओगट्ने तीन तलाको भवन बनाउने डिजाइन तयार भए पनि प्रतिष्ठानका पदाधिकारीहरूकै मागअनुसार १२ सय वर्गफिट बनाएको पनि आयोगको दाबी छ ।  

२०७७ साल माघ मसान्तासम्ममा सम्पन्न गर्ने गरी निर्माणको कार्य अघि बढेको छ । यस पार्क निर्माणको लागत चार करोड रहेको छ ।