Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ कार्तिक १२ बुधबार
  • Wednesday, 28 October, 2020
ad
भारत जान कैलालीको त्रिनगर नाकामा आइतबार र सोमबार लाइनमा लागेका नेपाली
२०७७ असोज १३ मंगलबार ०१:०७:००
फ्रन्ट पेज प्रिन्ट संस्करण

दसैँ होइन, दशा टार्न मुग्लान जानेको ताँती (भिडियो रिपोर्टसहित)

२०७७ असोज १३ मंगलबार ०१:०७:००

भारतमा कोरोना संक्रमितको संख्या ६० लाख नाघेको छ, तर रोगको डरले यता आउनेभन्दा भोकको डरले उता जानेको हुल पाँच गुणा ठूलो छ । नाकामा लाइन लागेका नेपाली भन्छन्, ‘स्वदेशमा हारेर फेरि विदेश जाँदै छौँ ।’

......

दसैँ–तिहार नजिकिँदै छन्, तर रोजगारी खोज्न सीमा पार गर्नेको संख्या झन्झन् बढ्दै छ । भारतमा कोरोना संक्रमितको संख्या ६० लाख नाघेको छ । तर, रोगको डरले यता आउनेभन्दा भोकको डरले उता जानेको हुल पाँच गुणा ठूलो छ । महिनौँ बेरोजगार बस्दा छाक टार्नसमेत समस्या हुन थालेपछि चाडपर्वकै मुखमा भारत जाने युवाको लर्को झन् बढेको छ । 

धनगढीको त्रिनगर नाकाबाट मात्र पछिल्ला दुई दिनमा तीन हजार नेपाली भारत गएका छन् । ‘पहिले दुई–चार सय हुन्थे, बीचमा हजारको संख्या थियो, हिजोआज दैनिक डेढ हजारसम्म भारत जाने गरेका छन्,’ सीमामा खटिएका सशस्त्र प्रहरी बलका अधिकारीहरू भन्छन्, ‘उताबाट भने दिनमा करिब तीन सयजनासम्म आइरहेका छन् ।’

धनगढी उपमहानगरपालिका– १ का रमेश विकले धनगढीमै अटोरिक्सा चलाउन थालेको पाँच वर्ष भएको थियो, सबै ठीकै थियो । तर, चैतबाट लकडाउन सुरु भएपछि उनी झन्डै सात महिना कामविहीन भए । लकडाउन खुले पनि यात्रु छैनन्, आम्दानी नभएपछि उनी अटो साहुलाई बुझाएर आइतबार भारततिर लागेका छन् । 

‘लकडाउनको वेला ऋण गरेर घरखर्च चलाउनुप¥यो, खुलेपछि पनि कमाइ हुन सकेन,’ त्रिनगर भन्सार नाकामा सयौँ नेपालीसँगै लाइनमा भेटिएका उनले भने, ‘साँझ–बिहान के खाने भन्ने समस्या हुन थाल्यो । उपाय केही देखिएन, परिवार पाल्नका लागि भारत जानुको विकल्प देखिएन ।’

नेपालमै यो हालत भयो, भारतमा के हुने हो, उनलाई थाहा छैन । तर, मुम्बईमा रोजगारी खोज्ने उनको योजना छ । ‘जीवनका १५ वर्ष भारतमा कठिन श्रम गरेको हुँ, अब जस्तोसुकै काम भए पनि आफ्नै देशमा गर्छु भनेर पाँच वर्षअघि स्वदेश फर्केको हुँ, तर मैले गल्ती सोचेको रहेछु, स्वदेशमा हारेर फेरि विदेश जाँदै छु,’ उनले भने । उनी सीमा कटेका छन्, अब घरमा श्रीमती र चारजना नाबालक छोराछोरीको साँझ–बिहानको छाक सुखले टर्ला कि भन्ने आशा पलाएको छ ।

भारत जानेकै लाइनमा थिए– रोल्पाको गंगादेव गाउँपालिका–७ का दीपेन्द्र ओली । बाध्यता उही हो, कमाइ नहुँदा घरमा छाक टार्ने समस्या भयो । ‘अघिपछि भए दसैँ–तिहार आयो भनेर रमाइलो मान्दै गाउँ आउने वेला हो, तर यसपालि यही वेला घर, परिवार र देश छाडेर जानुपर्ने भयो,’ उनले भने, ‘हामीजस्ता गरिबलाई दसैँ होइन, दशा आउँदै छ, दशा टार्न बिदेसिन लागेको छु ।’

दीपेन्द्रका घरमा वृद्ध आमाबुबा, बहिनी र भाउजू छन् । भारतमा भएका उनका दाइ पनि कोरोनाको त्रासले घर फर्केका थिए, तर आर्थिक संकट चर्किएपछि उतै फर्किएका छन् । उनले भने, ‘दाइ बीचमै पढाइ छोडेर भारत जानुभो । दाइको कमाइले मात्रै परिवार चलेन । पढाइ छोडेर म पनि भारततिर गएँ ।’ 

कक्षा १० मा पढ्दापढ्दै चार वर्षअघि भारत पसेका थिए दीपेन्द्र । त्यसयता कहिलेकाहीँ घरमा आउने–जानेबाहेक भारतमै मजदुरी गर्छन् । ‘घरमा साँझ–बिहानको चुलो बाल्न दुःख थियो, त्यसैले पढ्न पाइनँ । अहिले संकटमा परेको वेला ओत लागौँ भनेर देश आएको, ओत पाइएन,’ उनी विरक्तिए । स्याउ टिप्ने र बोक्ने वेला भएको सिम्ला जान लागेको उनले सुनाए । उनको गाउँका मात्र सातजना सिम्ला हिँडेका छन् । गरिबीका कारण भारत जान लागेका उनीहरू सबै १७ देखि २२ वर्ष उमेरका थिए ।

कोरोनाको डरले ६ महिनाघि भारतबाट फर्केका बाजुराको कुलदेवमाडौंका रूप नेपाली आइतबार पुनः भारत जाँदै थिए । दिल्लीस्थित एक होटेलमा काम पाउने आशा गरेका छन् । ‘कमाएर ल्याएको पैसा घर फर्केको दुई–तीन महिनामै सकियो । ऋण निकालेर गुजारा चलाएको थिएँ,’ उनले भने, ‘दसैँ–तिहार आएको सबैलाई थाहा छ, चाडपर्व आएर के गर्नु ? गाउँमा ऋण पाउने अवस्थासमेत नभएपछि भारत जान थालेको छु ।’ 

आफ्नै गाउँमा आपत्मा परेर बिदेसिन लागेका यी मजदुरको भारत यात्रा पनि सजिलो छैन । सीमापारि यात्रा सुरु नहुँदै उनीहरूमाथि ठगी सुरु हुन्छ । भारतीय गौरीफन्टा नाकामा उनीहरूका लागि बस पर्खिएका छन्, तर भाडा दोब्बर माग्न थालिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका– ७ का मानबहादुर विकले गत चैतमा मुम्बईबाट भारतीय बजार गौरीफन्टासम्म आउँदा गाडी भाडा १७ सय भारु तिरेका थिए । अहिले त्यही रुटबाट फर्कन ३५ सय भारुको टिकट काटेका छन् । ‘घरमा पैसा थिएन, ऋण गरेर ल्याएको सीमित पैसा पनि यसरी ठगी हुन्छ, अब बाटोमा खाजा खाने खर्च पनि छैन,’ उनले भने ।     

भारत जाने नेपालीको टिकट काट्ने एजेन्टहरू त्रिनगर नाकादेखि धनगढी बसपार्कसम्म घुमिरहेका छन् । औपचारिक रूपमा नाका बन्द रहेकाले दुई देशका नागरिकलाई एक–अर्काको देश जान प्रतिबन्ध छ, त्यसैले पारिको प्रहरी प्रशासनसँग मिलेका एजेन्टले सोझासीधा नेपालीबाट फाइदा उठाइरहेका छन् । ‘गाउँमा दुःख भयो भनेर बाटो लागेका नेपाली जति पैसा तिरेर पनि टिकट काट्न बाध्य हुन्छन्, त्यसैको फाइदा उठाएर हामीलाई बेखर्ची गराइएको छ, तर बोलिदिने को छ र ?’ नाकामै भेटिएका कैलाली अत्तरियाका भीम नेपालीले भने । उनले सुरतसम्मका लागि साढे तीन हजार भारुको टिकट काटेका छन् । लकडाउनकै वेला सुरतबाट फर्कंदा अहिलेको भन्दा आधा भाडा तिरेका थिए । 

वारि नै टिकट काटेर गएमा सीमाको भारतीय प्रहरीले रोक्दैन भन्ने निश्चित गरिएको छ । आफूले टिकट काटेकालाई नाकामा लाइन लगाउन तथा पार गराउन टिकट काट्ने एजेन्ट पनि सक्रिय हुन्छन् । पारि गौरिफन्टा बसपार्क पुगेर सस्तोमा टिकट काटौँला भन्नेलाई भने प्रहरी र एजेन्ट मिलेर सताउने गर्छन् ।

त्रिनगर नाकामै भेटिए राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठक । कारागारको अनुगमन गर्न आएका उनले सिमानामा लाइन लागेका नेपालीसँग पनि संवाद गरेका थिए । ‘बढी भाडा असुल भइरहेको रहेछ । यसबारे आजै स्थानीय प्रशासनसँग हामी छलफल गरेर बढी भाडा लिन नदिन भन्छौँ,’ उनले भने, ‘नाकामा भौतिक दूरी कायम नगरेर सयौँको लाइन छ । यो जोखिमपूर्ण छ । यसलाई पनि प्रशासनले व्यवस्थित गर्नुपर्छ ।’

यता मध्यपश्चिमको नाका रुपैडिहाबाट पनि भारत पस्ने नेपालीको संख्या घटेको छैन । लकडाउनका वेला स्वदेश फर्किएका दाङ घोराही उपमहानगरपालिका–२ रामपुरका ४९ वर्षीय भक्तबहादुर ओली रुपैडिहा नाकाबाट फेरि भारत गएका छन् । बाबुको पाला लागेको ऋण तिर्न उनी १८ वर्षअघि भारत पसेका थिए । ‘अब पुग्यो भनेर आउँछु, घरको परिस्थितिले फेरि उतै धकेल्छ,’ नाकामै उभिएर उनले भने ।

सुरुमा उनले दिल्लीको एक व्यापारीको घरमा एक वर्ष बिताए । त्यतिवेला उनले भारतीय पाँच सय रुपैयाँ तलब पाउँथे । ‘त्यतिवेला मैले दुई वर्षमा १०–११ हजार भारतीय रुपैयाँ कमाएर घरमा ल्याएँ । त्यही रुपैयाँले ऋण तिरेँ,’ उनले भने । 

बाबुको पालाको ऋण तिरे पनि आफ्ना पाला ऋण पाँच दोब्बर भएको उनले बताए । ‘भारतमै काम गरेँ, नेपालमा पनि मजदुरी गरेँ, तर अवस्था सुध्रिएन । अहिले ५५ हजार ऋण लागेको छ, त्यसैले दसैँको मुखमा भारततिर लाग्दै छु,’ उनले भने । 

महाबु गाउँपालिका– १ खरीगैरा दैलेखका प्रेम सेन ठकुरी पनि १५ वर्षदेखि भारतको गुजरातमा काम गर्छन् । भारतमा लामो समय बसेका कारण उनीसँग भारतीय आधार कार्ड र प्यान कार्ड पनि छ । ‘कोरोनाका कारण भारतमा लकडाउन भएपछि बेरोजगार भएँ । भारतमा बस्दा खान–लाउन समस्या भएपछि पाँच दिन लगाएर गुजरातबाट नेपालगन्ज आएँ । दैलेख पुग्न तीन दिन लाग्यो । गाउँमा पनि १४ दिन क्वारेन्टिनमा बसेँ,’ उनी सम्झन्छन् । यसरी एक महिनाको महाभारतपछि घर पसेका उनी अहिले त्यही घर छाडेर मुग्लान हिँडेका छन् । भारतमा कमाएर ल्याएको रुपैयाँ लकडाउनमा सकिएपछि भारत जान उनले मासिक अढाई रुपैयाँ ब्याजमा साहुसँग ऋण लिएको बताए ।

भिडियो हेर्नुहोस्: