१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
रासस रुपन्देही
२०७७ असोज १२ सोमबार ११:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तालाबन्दीले नगरपालिकाको काम ठप्प

Read Time : < 1 मिनेट
रासस रुपन्देही
२०७७ असोज १२ सोमबार ११:३१:००

लुम्बिनी सांस्कृतिक नगरपालिकामा गरिएको तालाबन्दीका कारण कार्यालयको कामकाज रोकिएको छ । शिक्षा ऐन संशोधनको माग गर्दै यही असोज ६ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र मार्क्सवादी पार्टीले संयुक्त रूपमा तालाबन्दी गरेका हुन् ।

शिक्षा ऐनमा भएको वडाध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने प्रावधान खारेज गर्न माग गर्दै दलहरूले ताला लगाएका कारण कार्यालयको कामकाज रोकिएको नगरपालिकाका उपसचिव कुलप्रसाद खनालले जानकारी दिए । दलहरूले शिक्षा ऐन संशोधनसँगै छाडा चौपाया व्यवस्थापनको माग पनि अघि सारेका छन् । 

नगरपालिकाले आफूहरूले उठाएका माग पूरा नगरेसम्म ताला नखोल्ने दलहरूको अडान छ । मागबारे गत फागुनमै नगरपालिकाको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएपछि ताला लगाइएको जनता समाजवादी दलका नगर अध्यक्ष तथा संयुक्त संघर्ष समितिका संयोजक अब्दुल मोविन खानले जानकारी दिए ।  

नगरपालिकाले कार्यपालिकाबाटै शिक्षा ऐन संशोधन गरी अगाडि बढाउने निर्णय गरे पनि दलहरू सहमतिमा नआएको उपसचिव खनालले बताए । नगरपालिकाका प्रमुख मनमोहन चौधरीले दलहरूको मागप्रति नगरपालिका सकारात्मक रहेकाले सहमतिको प्रयास भइरहेको जानकारी दिए ।