१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ श्रावण १५ बिहीबार १०:०६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रसुवागढी नाकामा ढुवानीको सिन्डिकेट  भएको केन्द्रीय व्यवसायीको ठहर, हटाउन माग

Read Time : > 1 मिनेट
२०७७ श्रावण १५ बिहीबार १०:०६:००

चीनबाट रसुवागढी हुँदै आउने सामान रसुवाका ढुवानी व्यवसायीले मात्र ढुवानी गर्न पाउने गरी भएको निर्णयको नेपाल ट्रक कन्टेनर व्यवसायी संघले सिन्डिकेट ठहर गर्दै विरोध गरेको छ । संघले कोरोनाको बहानामा रसुवामा सिन्डिकेट लाद्ने काम भएको भन्दै निर्णय रद्द गर्न माग गरेको हो । 

संघका अध्यक्ष अर्जुनबहादुर सापकोटाले संघमा आबद्ध ट्रक कन्टेनर सामान लिन जान बेत्रावतीमै रोकिएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै यसको भत्र्सना गरेका छन् । ४० देखि ५० वटा कन्टेनर सामान लिन प्रतीक्षारत रहेको अवस्थामा रसुवाका केही स्थानीय तहको मिलेमतोमा ढुवानी व्यवसायीले सिन्डिकेट लादेको केन्द्रीय संघले जनाएको छ ।

सरकारले लकडाउन खोलेर सामान्य परिस्थिति बनिसकेको अवस्थामा पनि संघमा आबद्ध ट्रक कन्टेनर सामान ढुवानीका लागि रसुवागढी नाकातर्फ जाँदै गर्दा अवरोध सिर्जना गरिएको भन्दै संघले विरोध गरेको छ । व्यवसायीले अघोषित सिन्डिकेट कायम रहे आफ्नो व्यवसायको सुरक्षाका लागि आन्दोलनसहितको जुनसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् । 

रसुवा उद्योग वाणिज्य संघ र चेम्बरको संयोजकत्वमा भएको निर्णय
असार १५ गते रसुवा उद्योग वाणिज्य संघ र रसुवा चेम्बर अफ कमर्सको संयोजकत्वमा जिल्लाका कन्टेनर व्यवसायीको भेलाले कोभिड–१९ को संक्रमण जोखिम रहेसम्म रसुवा जिल्लाभित्रका कन्टेनर र चालकले मात्र सामान ढुवानी गर्न पाउने निर्णय गरेको थियोे । भेलाले नाकामा सञ्चालित कन्टेनर अव्यवस्थित र अस्वस्थ प्रतिस्पर्धी रूपमा सामान ढुवानी गर्ने हुँदा बर्सातको समयमा जोखिम रहेको भन्दै कन्टेनरलाई व्यवस्थित गर्न रोलक्रमअनुसार सञ्चालन गर्ने निर्णय गरेको बताएको थियो ।

व्यवसायी सुरेश तामाङले भने, ‘रुट परमिट भएपछि अनि लामो समयदेखि व्यवसाय गर्दै आएकालाई पनि जिल्लाबाहिरको नभनी उत्तिकै प्राथमिकता दिनुपर्छ ।’ रसुवाको कन्टेनर र चालक सामान पुर्‍याउन देशका विभिन्न सहरमा पुगेर फर्किंदा कोरोनाको डर नहुने, तर अन्य जिल्लाका चालक कन्टेनर सामान लिन रसुवा जाँदा कोरोनाको त्रास देखाउनु जायज नभएको उनको भनाइ थियो । 

कसरी आउँछ सामान
चिनियाँ पक्षले अहिले एकतर्फी रूपमा मात्र नाका सञ्चालन गरेको छ । एकतर्फी नाका सञ्चालनमा आएसँगै चिनियाँ पक्षले दैनिक आफ्ना ४ वटा गाडीमा रसुवागढी नाकाको मितेरीपुलसम्म सामान ल्याई झार्ने र त्यहाँबाट चिनियाँ गाडी फर्किएपछि मात्र नेपाली सवारी त्यहाँ जान पाउने व्यवस्था मिलाइएको छ । चिनियाँ गाडीबाट आएका सामग्री चिनियाँ कामदारले झारेर फर्किने गरेका छन् । मितेरीपुलमा सामग्री लोड–अनलोड गर्नका लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपिई सेट) लगाएका कामदार रहेका छन् । चिनियाँ पक्षले एउटा गाडीमा ल्याएको सामग्री नेपाली दुईवटा कन्टेनरमा राख्ने व्यवस्था मिलाइएको छ ।

नेपाली पक्षले सामान लोड तथा अनलोड गर्न १५ कामदार र ढुवानी गर्न १५ जना चालक गरी ३० जना नाकामा खटाएका छन् । चालक र कामदारको दैनिक स्वास्थ्य परीक्षण गरिनेछ । मितेरीपुलसम्म आइपुगेको सामान १५ जना कन्टेनर चालकले पालैपालो पुनः ढुवानी गरेर भन्सार यार्डसम्म पुर्‍याउँछन् । सामानको जाँचपासपछि अन्य चालकले सामान सम्बन्धित ठाउँसम्म लैजाने गरेका छन् । टिमुरेभन्दा माथि कन्टेनर चालक, कामदार, सुरक्षाकर्मी र कर्मचारीबाहेक अन्यलाई जान रोक लगाइएको छ ।