१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १२:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

रसुवागढी नाकाबाट तीन सयभन्दा बढी सवारीसाधन आयात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:२५:oo

रसुवागढी नाकाबाट तीन सयभन्दा बढी चिनियाँ सवारीसाधन स्वदेश भित्रिएका छन् । नेपाली  व्यवसायीमार्फत चालू आर्थिक वर्षको गत साउनदेखि हालसम्म विभिन्नखाले तीन सय पाँचवटा  सवारीसाधन रसुवागढीस्थित ल्हेन्दे खोलाको मितेरी पुलबाट स्वदेश भित्रिएका हुन् । 
 
यसरी स्वदेश भित्रिएका सवारीसाधनमा इलेक्ट्रिक कार एक सय ३२, इलेक्ट्रिक भ्यान ८२, हाइलक्स गाडी ११, लोडर उपकरण दुई र फ्युल कार ७८ वटा रहेको सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरूले बताएका छन् ।

आयात भएका धेरैजसो सवारीसाधन भन्सार प्रक्रिया पूरा गर्न बाँकी रहेका र ती सवारीसाधन हाल रसुवागढीनजिक घट्टेखोला तथा टिमुरे क्षेत्रमा राखिएका छन् । सवारीसाधनको साथसाथै चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधि तुलनात्मक गर्दा तयारी पोसाकका सामग्री छ सय ३९, हाइड्रोका सामग्री तीन सय ६६, स्याउ ९३, ओखर ३८, लसुन २२, मोटरका पार्टपुर्जा दुई, इलेक्ट्रिक पार्ट  १७, टेलिफोनका सामग्री सात, नासपाती ११ टिपका  साथै काठका तयारी फर्निचरसमेत पाँच ट्रक सामग्री आयात भएका छन् ।

 ती सामग्री चिनियाँ ठूला टेलरमा नेपाल भित्रिएको र नेपाली कन्टेनर डिब्बामा पल्टी गर्दा लगभग दुई हजार पाँच सय टिपभन्दा बढी रहेको बताइएको छ । कोभिड संक्रमण सुरु भएसँगै नेपाल–चीनबीचको ल्हेन्देखोला मितेरीपुलबाट आवतजावत बन्द भए पनि मालसामग्री भने चिनियाँ ठूला टिपरद्वारा चिनियाँ सवारीचालकबाटै नेपाल भित्र्याई सहयोग हुँदै आएको छ । 

प्रत्येक दिन बिहान र दिउँसो  दुईपटक चिनियाँ सामग्री आयात हुने गरेको र सामान ल्याउनुपूर्व दुवै देशको ढोका खुला गरी रोग रोकथामका लागि  औषधि छ्याप्ने चलन बसालिएको छ । केरुङबाट  चिनियाँ  माल सामग्री रसुवागढीमा ल्याउँदा  जति पटक माल सामग्री आउँछ उत्ति नै पटक  रोग निर्मलीकरणसम्बन्धी औषधि छर्किने गरेको सीमा क्षेत्रका सुरक्षाकर्मीले जानकारी दिएका छन् । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार गत साउनदेखि मंसिर महिनासम्म चीनबाट आयात भएका सामग्रीको मूल्यांकनबाट रु. दुई अर्ब ९० करोड भन्सार शुल्कबापतको राजस्व राज्यकोषमा दाखिला भइसकेको छ ।

यसैगरी, यही मंसिर १० गतेबाट सुरु भएको निर्यातको कारोबारबाट भने एक करोड ३१ लाखबराबरको माल सामग्री चीनतर्फ गएको प्रमुख भन्सार अधिकृत भण्डारीले बताए । दश दिनको अन्तरालमा ११ ट्रक माल सामग्री चीनतर्फ निकासी भएको हो । निकासी सामग्रीमा  बस्नका लागि बाँसका  मुडा, तामाका भाँडा, क्युरियो मूर्ति, ज्याकेट, स्वेटर र नेपाली कागजलगायत सामग्री रहेको बताइएको छ । कोभिड संक्रमणको समस्यालाई गम्भीरतापूर्वक  मनन गरी नेपाली भूभागको क्वारेन्टिनमा बसेका कामदारबाट आयात–निर्यातका सामग्री एक–आपसी पल्टी गर्ने व्यवस्था मिलाइएको  छ ।

ad
ad