१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
भारत हुँदै नेपाल प्रवेश गर्ने तयारीमा रहेका सलहको झुण्ड । तस्वीर सौजन्य : प्लान्ट भिलेज/प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्र
अजित अधिकारी काठमाडौं
२०७७ असार ३१ बुधबार १९:३७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल आएका सलह तिब्बत प्रवेश

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ असार ३१ बुधबार १९:३७:००

नेपाल आएको सलहको सानो झुन्ड तिब्बत पुगेको छ । नेपालको जुम्ला, मुस्ताङलगायतका जिल्ला हुँदै चीनको स्वशासित क्षेत्र तिब्बत पुगेको नेपाली अधिकारीहरूले जानकारी दिएका छन् ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंले बुधबार दिउँसो चीनको कृषि विभाग प्रमुखले फोन गरेको बताए । ‘फोनमा चिनियाँ अधिकारीले तिब्बतमा सलहको स–सानो झुन्ड देखिएको जानकारी दिनुभएको छ,’ उनले भने, ‘तिब्बत पुगेकाे सलहको झुन्ड नेपालबाटै गएको अनुमान गरेका छौँ । जुम्ला र मुस्ताङ हुँदै सलह तिब्बत प्रवेश गरेकी भन्ने हाम्रो बुझाइ छ ।’

१२ असारमा नेपाल भित्रिएको सलहकाे झुन्ड तिब्बत पुगेको अनुमान छ । हावाको वेगसँगै उड्ने सलह तराईबाट प्रवेश गरेको थियो । सलह प्रवेश गरेको समयमा दक्षिणबाट उत्तरतिर हावा निरन्तर बगिरहेको थियो । जसकारण तराईमा नरोकिएर सहल नेपालको पहाडी तथा हिमाली क्षेत्रमा पुगेका थिए ।

‘सलह हावाको विपरीत दिशामा उड्नै सक्दैन । आकाशमा पुगेर पखेटा फराइदिन्छन्,’ हुमागाईंले भने, ‘त्यसपछि हावाले जता धकेल्दै लैजान्छ, त्यतै पुग्छन् । यहीकारण नेपाल प्रवेश गरेका सलह तिब्बत पुगेको हुनुपर्छ ।’ तिब्बतमा सानो झुन्ड फाट्टफुट्ट मात्र देखापरेको उनले बताए ।

नेपालमा पनि अहिले तराई क्षेत्रमा सलह देखिएका छैनन् । केन्द्रका अनुसार प्युठान, रोल्पा, रुकुम, बाग्लुङ, म्याग्दी, जाजरकोट, डोल्पा, जुम्लालगायतका जिल्लामा देखिएका छन् । तराईबाट प्रवेश गरे पनि हावाको भेगसँगै बगेर पहाड तथा हिमाली क्षेत्रमा सहल पुगेका हुन् । 

१२ असारमा भारतबाट नेपालमा सहल प्रवेश गरेको थियो । पानी पर्ने समयमा प्रवेश गरेको किराले ठूलो नोक्सानी भने गरेको छैन । फट्याङ्ग्रोजस्तो देखिने सलह कृषि बाली नष्ट गर्दै आएका अहिलेसम्मकै सबैभन्दा खतरनाक किरा हुन् । एक वर्गकिलोमिटरभित्र एउटै समूहमा डेढ लाखदेखि ३–४ करोडसम्मको संख्यामा जम्मा हुने र बालीनाली एकैपटक नष्ट गर्ने गर्छन् । अन्य किराहरू बालीविशेषमा लाग्ने र आंशिक नष्ट गर्ने गरे पनि सलह हरियो जुनसुकै बालीमा लाग्ने र सबै नष्ट गर्ने प्रकृतिको भएको मन्त्रालयमातहतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका पूर्वप्रमुख डा. डिल्लीराम शर्माले बताए । 

देशभित्र अझै १२–१५ लाख सलह
दोस्रो चरणमा सलह पुन नेपाल प्रवेश गरेका छन् । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार आइतबार दाङबाट नेपाल प्रवेश गरेका सलह करिब १२ लाखदेखि १५ लाखसम्म छन् । तर, पानी परिरहेका कारण उड्न नसकेर सलहले क्षति गरेका छैनन् ।

‘निरन्तर पानी परेकाले सलह निष्क्रिय पार्न फाइदा मिलेको छ,’ उनले भने, ‘पानी र चिसोमा उड्न सक्दैनन् । अर्कातिर हावाको वेगसँगै पहाडी र हिमाली जिल्लातिर पुगिरहेकाले किसानले बाली नष्ट होला कि भनेर ठूलो चिन्ता गर्नुपर्ने स्थिति छैन, तर सावधानी अपनाउन तयार भएर बस्नुपर्छ ।’ थप सलहको झुन्ड नेपाल प्रवेश गर्ने अवस्थामा समेत देखिएको केन्द्रले जनाएको छ ।